१० मिनेटको नाटक मेला हुने

0
Shares

 

नेपाली रंगमञ्च तथा रंगकर्मप्रति नयाँ पुस्ताको लगाव र जुझारुपनलाई मध्यनजरमा राखी सर्वनाम थिएटरले १० मिनेट नाट्य मेलाको आयोजना गर्ने भएको छ। देशव्यापीरूपमा आयोजना हुन लागेको मेलाको मूल उद्देश्य रंगकर्ममा आफ्नो कल्पनाशीलता र प्रतिभा देखाउन इच्छुक रंगप्रेमीलाई स्थल र माध्यम उपलब्ध गराउनु रहेको सर्वनामले जनाएको छ।

मेलामा सहभागी हुन नाट्य प्रस्तुतिको अवधि अधिकतम १० मिनेट वा सोभन्दा कम हुनुपर्ने, न्यूनतम सेटिङ र सामग्रीको प्रयोग गर्नुपर्ने, आवश्यक प्राविधिक पक्षको परिचालन गर्न सहभागी आफैंले व्यवस्थापन गर्नुपर्ने, सम्पूर्ण लागत तथा खर्च सहभागीले नै व्यहोर्नुपर्ने, उपत्यकाबाहिरका सहभागीको हकमा खान बस्नको व्यस्वथा स्वयंले गर्नुपर्ने प्रावधान राखिएको छ।

सर्वनामका अनुसार नाट्य प्रस्तुति एकल वा समूहगत हुन सक्नेछ तर एउटा निर्देशकले एउटा मात्र नाटक दर्ता गर्न पाउनेछ, नाटकको कथा तथा विषयवस्तुमा कुनै जाति, धर्म, समुदायलाई असर पर्ने वा कसैको व्यक्तिगत जीवनमा असर पार्ने खालको र अश्लील शब्दको प्रयोग गर्न पाइने छैन, मेलामा सहभागिता जनाउन आगामी मंसिर २० गतेभित्र सर्वनाम थिएटरमा सम्पर्क गर्नुपर्नेछ।