“वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै”

0
Shares

रोविन पौडेल, काठमाडौं ।

गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रोजगारीका क्रममा विदेशिने संख्या गत वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ७२ प्रतिशतले घटेको हो।

एकातिर महँगी बढेको छ भने अर्कातिर कामदारको अपेक्षाअनुसार बचत बढेको छैन- विभाग

भिसा र टिकट आफैं व्यवस्था गर्नुपर्दा रोजगारदाता कम्पनीले माग गर्ने नेपालीको संख्या घटेको छ- अध्यक्ष गुरुङ

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा संस्थागत रूपमा श्रमको अन्तिम स्वीकृति लिई ८४ हजार ३ सय ७६ जना वैदेशिक रोजगारीका क्रममा विदेशिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ८८ हजार ५ सय ५३ रहेको थियो। चालू आवमा रोजगारीको क्रममा विदेशिनेमा ७८ हजार ६ सय ८ जना पुरुष रहेका छन् भने ५ हजार १ सय ६८ जना महिला छन्।

विभागका अनुसार पहिलो महिनामा २८ हजार ७ सय २१ जना विदेशिएकोमा भदौमा सो संख्या ३१ हजार ८६ रहेको थियो। त्यस्तैमा असोजमा सो संख्या २४ हजार ५ सय ६९ रहेको छ। चालू आवको तेस्रो महिनामा विदेशिनेको संख्या पनि अघिल्लो महिनाको तुलनामा घटेको हो। असोजमा विदेशिने महिला कामदारको संख्या १ हजार ७ सय ५४ रहेको छ। गत वर्षको असोजमा विदेशिनेको संख्या २२ हजार ३२ रहेको थियो।

वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार विदेशमा कामदारले पाउने तलब उल्लेख्य मात्रामा नसकेका कारण रोजगारीका लागि विदेशिने युवामा आकर्षण घटेको हो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै अधिकारीले भन्नुभयो–‘एकातिर महँगी बढेको छ भने अर्कातिर कामदारको बचत अपेक्षित रूपमा बढेको छैन। उच्च कमाईको आशमा जानेको संख्या नै घटेपछि, कसरी आकर्षण बढ्छ त ?’

पछिल्लो समयमा रोजगारीका लागि लाग्ने सम्पूर्ण लागत कामदारले नै प्रत्यक्ष रूपमा तिर्न थालेपछि रोजगारीको संख्या घटेको अधिकारीको बुझाइ छ। ‘विगतका वर्षदेखि विदेशिनुको संख्या घट्नुले यो वर्ष पनि घट्न सक्छ।’ प्रवक्ता अधिकारीले भन्नुभयो।
वैदेशिक रोजगार विभागका अध्यक्ष रोहन गुरुङको बुझाइ पनि यस्तै छ। सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरेदेखि नेपाली कामदार रोजगारदाता कम्पनीको रोजाईमा नपरेको उहाँले बताउनुभयो।

गुरुङले भन्नुभयो– ‘बंगलादेशलगायत देशबाट पैसा तिरेरै कामदार ती मुलुक जान्छन्। रोजगारदाता कम्पनीले अन्य देशका कामदार सित्तैमा पाउँछ।’ तसर्थ, भिसा र टिकट आफंै व्यवस्था गरेर उनीहरू नेपाली कामदार लान नमान्ने उहाँको भनाइ छ। असोजमा भने दशैं तथा धेरै दिन बिदा परेकाले रोजगारीमा जानेको संख्या घटेको उहाँले बताउनुभयो।

विभागको तथ्यांकअनुसार असोजसम्म व्यक्तिगततर्फ श्रम स्वीकृति लिनेको संख्या भने ६१ हजार १ सय ८५ रहेको छ। तीमध्ये साउनमा जानेको संख्या १९ हजार ५ सय ५१ रहेकोमा भदौमा १७ हजार ३ सय ६१ जना रहेका थिए। त्यस्तै असोजमा २४ हजार २ सय ७३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन्।

कतारलाई मलेसियाले उछिन्यो

पछिल्लो समय मलेसिया जाने नेपाली कामदारको संख्यामा उच्च वृद्धि हुन थालेको भने साउदी र कतार जानेको संख्यामा उल्लेख्य कमी आएको छ। गत वर्ष साउदीमा देखिएको आर्थिक समस्या र कतारमाथि खाडी मुलुकले लगाएको आर्थिक नाकाबन्दीका कारण नेपालबाट रोजगारीका मलेसिया जाने कामदारको संख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।
असोजमा पनि चालू आवको पहिलो दुई महिनामा जस्तै सबैभन्दा बढी नेपाली कामदार मलेसिया गएका छन्। खाडी मुलुकमा देखिएको मन्दी र मलेसियन मुद्रामा आएको केही सुधारले मलेसियामा रोजगारीमा जाने कामदारको संख्यामा सुधार देखिएको विश्लेषण गरिएको छ।

चालू आवको पहिलो ३ महिनामा मलेसियापछि धेरै नेपाली कामका लागि जाने मुलुकमा कतार दोस्रो स्थानमा रहेको छ। विभागको तथ्यांकअनुसार असोजमा सबैभन्दा धेरै ८ हजार ६० जना नेपाली कामदार मलेसिया गएका छन्। असोजमा कतार जाने नेपाली कामदारको संख्या ६ हजार ८ सय १ रहेको छ। साउन र भदौ महिनामा मलेसिया जाने कामदारको संख्या क्रमशः ११ हजार १ सय ६७ र १२ हजार ५० जना गएका थिए र सो अवधीमा कतार जानेको संख्या ६ हजार ५ सय ८ र ६ हजार ९ सय ८२ रहेको थियो।

खाडी मुलुकमा तेलको मूल्य घटेर आर्थिक वृद्धि हासिल नहुँदा नयाँरोजगारी सिर्जना भएको छैन। त्यसमाथि कतारसँग अन्य छिमेकी देशले कूटनीतिक सम्बन्धबिच्छेद गर्दा त्यसको विकल्प मलेसिया बनेको जानकारहरूको बुझाइ छ। तेस्रो स्थानमा रहेको यूएईमा असोजमा ४ हजार ७ सय ९४ जना रोजगारीका लागि गएका छन्। त्यस्तै आर्थिक मन्दिपछि आरोलो लागेको साउदी जाने क्रम असोजमा पनि खासै सुधार आउन सकेन। असोजमा २ हजार ८ सय ३४ जना कामदार साउदी अरब गएका थिए। कुवेत जाने कामदारको संख्या ८ सय ५८ जना रहँदा बहराइन जानेको संख्या ४ सय ३ रहेको छ।

हाल नेपालले विश्वका १ सय १३ देशमा रोजगारीका लागि श्रम स्वीकृति दिने गरे पनि करिब ९५ प्रतिशत कामदार खाडी मुलुक र मलेसिया नै जाने गरेका विभागको तंथ्याकमा उल्लेख छ। विभागका अनुसार हालसम्म करिब ४६ लाख नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। आर्थिक वर्ष २०७३÷७४ मा नयाँर पुरानो श्रम स्वीकृति लिएर ६ लाख ५५ हजार युवायुवती वैदेशिक रोजगारीमा गएको विभागका निर्देशक मोहन अधिकारीले बताउनुभयो। यो संख्या अघिल्लो वर्षभन्दा ६ दशमलव ९ प्रतिशतले कम हो।

जोर्डनमा वृद्धि

पछिल्लो समय जोर्डन जाने नेपाली कामदारको संख्या बढ्न थालेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत वर्षको तीन महिनाको तुलनामा जोर्डन जाने कामदारको संख्या ३६ दशमलव ६८ प्रतिशतले बढेको छ। गत आवको पहिलो तीन महिनामा ६ सय ५७ जना वैदेशिक रोजगारीको क्रममा विदेशिएकोमा चालू आव सो संख्या ८ सय ९८ रहेको छ। जार्डनप्रति कामदारको बढ्दो आकर्षण मध्यनजर गर्दै नेपाल सरकारले भर्खरै जोर्डनसँग श्रम सम्झौता गरेको छ। वैकल्पिक वैदेशिक रोजगारको गतव्य खोज्ने क्रममा जार्डन पुगेको श्रम तथा रोजगार मन्त्रीसहितको टोलीले श्रम सम्झौता गरेको हो।

यससँगै वैदेशिक रोजगारीको लागि जोर्डन जाने नेपाली कामदारको हकमा फ्रि भिसा र फ्रि टिकटको व्यवस्था हुने भएको छ। श्रम सम्झौतामा नेपालका श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुर र जोर्डन श्रम तथा रोजगार मन्त्री अलि अल गेजावीले गत शुक्रबार हस्ताक्षर गर्नुभएको थियो। यससँगै दुई देशबीच कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, आपूर्ति प्रक्रियालगायतका विषयमा समझदारी भएको छ। सम्झौतामा दुई पक्षबीच शून्य लागतमा कामदार छनोट, स्तरीय रोजगार करारनामाको वैधानिकता, न्यूनतम तलब, करारनामा अवधिको बीमा, दुवै पक्षको दायित्व बहनजस्ता व्यवस्था रहेको छ।