नेप्से दोहोरो अंकले गिरावट कारोबारमा भने वृद्धि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। साताको चौंथो दिन बजार १३ दशमलव ९२ अंकले ओरालो लागेको हो।

साताको अन्तिम कारोबार १ हजार ५ सय ६७ दशमलव ६४ बिन्दूबाट शुरू भएको बजार १ हजार ५ सय ५३ दशमलव ७२ अंकमा पुगेर रोकिएको हो। बुधबार शेयर बजार खुलेको शुरूदेखि नै ओरालो लागेको बजार सम्हालिन नसक्दा सुधारिन सकेन। तिहारपछिको पहिलो बजार सकारात्मक भएयता नेप्से परिसूचक उकासिन सकेको छैन। नेप्से परिसूचक घट्दा बुधबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३ दशमलव १८ अंकले घटेर ३ सय २७ दशमलव शून्य २ अंकमा पुगेको छ।

परिसूचक ओरालो लाग्दा बुधबार कारोबार रकममा भने सुधार आएको छ। बुधबार बजारमा ४७ करोड १० लाख २७ हजार ७ सय ५९ रुपिया“को कारोबार भयो। यसैक्रममा बजारमा १ सय ५९ कम्पनीका १४ लाख ४७ हजार २ सय ७१ कित्ता शेयर किनबेच भए। मंगलबार बजारमा ४६ करोड ९९ लाखको कारोबार भएको थियो।

बुधबार कारोबारमा आएका ९ समूहमध्ये ७ समूहमा गिरावट आए। घट्नेमा अन्य समूह सर्वाधिक २ दशमलव ४६ प्रतिशतले घट्यो। त्यस्तै जलविद्युत् समूह १ दशमलव ५२ प्रतिशतले ओरालो लाग्यो। उत्पादनमूलक समूह र बैंकिङ समूह क्रमशः १ दशमलव १९ र शून्य दशमलव ८७ प्रतिशतले घट्दा वित्त, विकास बैंक र बीमा समूह पनि क्रमशः शून्य दशमलव ६७, शून्य दशमलव ६३ र शून्य दशमलव ४३ प्रतिशतले ओरालो लागे। बुधबार ट्रेडिङ र होटल समूह क्रमशः ५ दशमलव ४१ र १ दशमलव ३४ प्रतिशतले बढे। अंकको आधारमा होटल समूह ३१ दशमललव ३५ अंकले बढ्दा बीमा समूह ३६ दशमलव ७३ अंकले घट्यो।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दूरसञ्चार कम्पनीको शेयरको भयो। कम्पनीका ७४ हजार ९५ कित्ता शेयर ६ करोड २६ लाख ८३ हजार ५ सय ६४ सय रुपियँ“मा किनबेच भए। त्यस्तै राष्ट्रिय बीमा कम्पनी र ओम डेभलपमेन्ट बैंकको संस्थापकसहित ६ कम्पनीका १ करोडमाथिको शेयर किनबेच भएका छन्।

बुधबार धेरै कमाउनेमा मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनी रहे। कम्पनीको शेयर मूल्य सर्वाधिक ९ दशमलव ४७ प्रतिशतले बढ्दा बरुण हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमलव शून्य ३ प्रतिशत गुमाए।

बैंकलाई ब्रोकर लाइसेन्स दिन माग

काठमाडौं, (नेस)
नेपाल इन्भेष्टर फोरमले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का महाप्रबन्धक चन्द्रसिंह साउदसमक्ष १० बुँदे ज्ञापनपत्र बुझाएका छन्। बुधबार इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका पौडेल तथा उपाध्यक्ष छोटेलाल रौनियारले साउदलाई भेट्दै १० बुँदे माग राखेका हुन्।
शेयर लगानीकर्ताको संगठनले महाप्रबन्धक साउदसामु बुझाएको ज्ञापनपत्रमा नेप्सेको अनलाइन कारोबार लागू हुने समय सोधिनुको साथै वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन आग्रह गरिएको छ। पुँजी बजारमा विकास तथा आधुनिकीकरणको आवश्यकता रहेको बताउँदै फोरमले त्यसका लागि काम गर्ने कार्यदलमा आफ्नो प्रतिनिधित्व पनि सुनिश्चित गर्न आशाबादी रहेको बताएको छ। त्यस्तै देश संघीयतामा गएकाले प्रत्येक प्रदेशमा क्षेत्रीय शेयर दलाललाई लाइसेन्स दिइनुपर्ने उनीहरूको माग छ। देशैभरि शेयर कारोबार सहज बनाउन बैंकमार्फत् शेयर कारोबार हुने व्यवस्था गर्न उनीहरूको माग छ।

हाल सञ्चालनमा रहेका ५० वटा शेयर दलालको संख्या र पहुँच आम लगानीकर्ताका बीचमा न्यून रहेको उनीहरूको बझाइ छ। बढ्दो बजारको आवश्यकता पूरा गर्न र देशका कुना काप्चामा रहेका लगानीकर्तालाई अत्याधुनिक सुविधा दिन र पूर्ण अनलाइन कारोबार प्रणाली कार्यान्वयन तथा संस्थागत वाणिज्य बैंक तथा व्यक्तिगत फर्मलाई ब्रोकर लाइसेन्स दिइयोस् भन्ने माग फोरमको छ। त्यस्तै गैरआवासीय नेपाली, विदेशमा बस्ने नेपाली नागरिक र संस्थागत विदेशी लगानीकर्तालाई पनि शेयर बजारमा चाँडै प्रवेश गराइनुपर्ने माग उनीहरूले गरेका छन्।

त्यस्तै शेयर दलालमार्फत् नै मार्जिन ल्यान्डिङ उपलब्ध हुने व्यवस्था गर्नुपर्ने माग फोरमको छ। त्यस्तै अधकितम शून्य दशमलव २५ प्रतशितसम्म ब्रोकर कमिसन सीमित पार्दै लगानीकर्ताले नै शेयर किनबेच गर्न पाउने प्रणाली लागू गर्न फोरमको माग छ।
यस्तै बजार थप सहज तथा व्यवस्थित बनाउनु नेप्सेले मार्केट मेकरलाई पुँजी बजारमा भित्र्याउने तथा आस्बाबाटै रकम फिर्ता गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका छन्।