फिल्म साउथ एसियामा ६३ वृत्तचित्र

0
Shares

दक्षिण एसियाको वृत्तचित्र प्रदर्शनी मेला फिल्म साउथ एसियाको एघारौं संस्करण आगामी कात्तिक १६ देखि १९ गतेसम्म ललितपुरस्थित यलमाया केन्द्रमा हुने भएको छ।

वृत्तचित्र एक साक्षी भन्ने नाराका साथ हुन लागेको मेलामा सन २०१५ पछि बनेका दक्षिण एसियाका समसामयिक विषयका ३ सयभन्दा बढी वृत्तचित्रबाट छानिएका उत्कृष्ट ६३ वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएका छन्। सन् १९९७ मा शुरू भएको यो मेलाले विश्वका विभिन्न मुलुकका सिनेकर्मीहरूलाई वृत्तचित्रको माध्यमबाट एकैमञ्चमा उभ्याउने गरेको छ। यो वर्ष प्रदर्शन हुने ६३ मध्ये ४५ वृत्तचित्रले ५ पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्।

उत्कृष्ट हुने वृत्तचित्रले २ हजार अमेरिकी डलर राशी रहेको रामबहादुर ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुनेले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ। त्यस्तै निर्देशनमा उत्कृष्ट हुने वृत्तचित्रले १ हजार अमेरिकी डलरको तारेक मसुद पुरस्कार, बालबालिकाको विषयमा केन्द्रित वृत्तचित्रले १ हजार अमेरिकी डलरको युनिसेफ पुरस्कार र विद्यार्थीले निर्माण गरेकोमध्येबाट उत्कृष्ट चलचित्रले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।

पत्रकार कुन्द दीक्षित, पाकिस्तानी सिनेकर्मी फरजाद नावी र भारतीय पत्रकार राजश्री दास गुप्ता सदस्य रहेको निर्णायक टोलीले उत्कृष्ट वृत्तचित्र चयन गर्नेछ। फिल्म साउथ एसिया २०१७ का निर्देशक मितु वर्माका अनुसार यो वर्ष प्रदर्शनका लागि दक्षिण एसियामा देखिएका असाधारण र रोचक समसामयिक अवस्था झल्काउने वृत्तचित्र छानिएका छन्।