फाटेको जुत्ताका कुरा

0
Shares

निर्देशक निकेश खड्काले आफूद्वारा निर्देशित फिल्म फाटेको जुत्ता उत्कृष्ट फिल्म बनेको तथा यसले मनोरञ्जनको क्षेत्रमा छुट्टै र नयाँउचाइ लिने बताए।

आगामी १७ गते रिलिज हुने फिल्मबारे बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक खड्काले फिल्मको स्क्रिप्टका कारण यसको छायांकन तराई क्षेत्रमा गरिएको बताए। ‘फिल्मको शीर्षक र यसको कथावस्तुमा समानता पाइन्छ र यसले दर्शकलाई मनोरञ्जन दिनेछ’ –उनको भनाइ थियो।

फिल्मका नायक सौगात मल्लले फिल्मको कथावस्तु राम्रो लागेर यसमा काम गरेको दाबी गरे। १ घण्टा ५५ मिनेट लामो फिल्मको प्रमुख उद्देश्य मनोरञ्जन नै रहेको उनको भनाइ थियो। फिल्मका निर्माता अर्जुन कुमारले फिल्मको प्रसंगमा बोल्दै यो फिल्म बन्न ५ वर्ष लागेको बताए। ‘केही वर्षअघि फिल्म चपली हाइट र लुटको प्रमोसनका क्रममा हामी राजधानीबाहिर गएका थियौं।

फर्कने क्रममा नेपालबन्द भयो। त्यति नै बेला मुखबाट फ्याट्ट कस्तो फाटेको जुत्ताजस्तो जिन्दगी भन्ने शब्द निस्कियो र त्यसको झण्डै ५ वर्षपछि फिल्म तयार भएको हो’ –उनले भने। फाटेको जुत्ताको प्रमुख उद्देश्य मनोरञ्जन रहे पनि फिल्मले दिने सन्देशलाई दर्शकले आ–आफ्नै हिसाबले लिने निर्माता अर्जुन कुमारले चर्चा गरे। निर्माता, संगीतकार तथा गायक अर्जुनकुमारको फिल्म निर्माण संस्था अर्जुन कुमार फिल्म्स् प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको अन्तरक्रिया कार्यक्रममा नायिका प्रियंका कार्की भने देखिइनन्।

लेखन निरोज महर्जन, गीत प्रवेश मल्लिक र डीपी खनाल, संगीत प्रवेश मल्लिक र शंकर थापा, गायन प्रवेश मल्लिक, शंकर थापा र मीना निरौला, नृत्य निर्देशन कविराज गहतराज र राजीव समर, द्वन्द्व निर्देशन अष्ट महर्जन, सम्पादन दीर्घ गुरुङको रहेको फिल्ममा सौगात मल्ल र प्रियंका कार्कीका साथमा कामेश्वर चौरसिया, रवीन्द्र झा, अनोज पाण्डेलगायतले अभिनय गरेका छन्।