छठलाई रमेशको ऐश्वर्य

0
Shares

नायक रमेश उप्रेतीको कमब्याक फिल्म ऐश्वर्य आज बिहीबारदेखि अल नेपाल सिंगल रिलिज हुने भएको छ। साधारणतया नयाँफिल्म शुक्रबार रिलिज हुने गरे पनि छठ पर्वको अवसर पारेर रमेशले आफ्नो कमब्याक फिल्म ऐश्वर्यलाई आज बिहीबारकै दिन रिलिजमा ल्याउन लागेका हुन्।

दिवाकर भट्टराई निर्देशित फिल्म नायक रमेश उप्रेतीको प्रमुख भूमिका, निर्माण र कथामा बनेको छ। फिल्ममा पटकथा तथा संवाद भने निर्देशक भट्टराईको रहेको छ। वैष्णवदेवी फिल्म्स्को ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता तथा निर्माता अर्जुन श्रेष्ठ रहेका छन्। दीपिका प्रसाईंले नायिकाको रूपमा डेब्यु गरेको फिल्मका अन्य कलाकारमा प्रशान्त ताम्राकार, केकी अधिकारी, अर्जुन श्रेष्ठ, अर्जुनजंग शाही, केशव भट्टराई, निर्मल शर्मा, विकास खतिवडा, कृष्ण शिवाकोटी, सुनीता ठाकुरलगायत रहेका छन्। फिल्ममा गीत र संगीत अर्जुन पोखरेलको रहेको छ भने द्वन्द्व हिमाल केसी, छायांकन राजेश श्रेष्ठ र सुदीप बराल तथा सम्पादन दीर्घ खड्काको रहेको छ।

२०५२ सालबाट फिल्म रगतमा नेगेटिभ रोलमा देखिएका रमेशले भुवन केसीको फिल्म करोडपतिमा पनि नेगेटिभ रोल गरेका थिए। यी दुई फिल्ममा उनले गरेको सशक्त अभिनयलाई हेरी निर्देशक स्व. दीपक रायमाझीले उनलाई यो मायाले लौन सतायोबाट नायकको रूपमा प्रस्तुत गरेका थिए। यो मायाले लौन सतायोमा मन पराइएपछि रमेशले आफ्नो जमानामा पछाडि फर्केर हेर्नुपरेन। पराइघर, देवदूत, एक नम्बरको पाखे, यो मायाको सागर, घुम्टो, १६ वर्षे जोवन, घर संसारजस्ता दर्जनौं हिट फिल्म दिएका उनले ७० को हाराहारीमा फिल्म खेलेका छन्। ऐश्वर्य भने लामो समय अमेरिका बसेर फर्केपछि रमेशले आफैं निर्माण गरेको पहिलो फिल्म हो।