देशभरका क्याम्पसको नक्सांकन गरिँदै


ईश्वरराज ढकाल, काठमाडौं ।
विश्वविद्यालय अनुदान आयोगले देशभरका सबै क्याम्पसको नक्सांकन गर्ने भएको छ।

आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको अवस्था, भौगोलिक स्थिति, विद्यार्थी संख्याका बारेमा यकिन जानकारी लिन नक्सांकन गर्न लागेको हो। आयोगले तीन महिनाभित्र देशभरका सबै क्याम्पसको नक्सांकन गरिसक्ने जनाएको छ।

नक्सांकन गर्न गठित कार्यदलका संयोजक एवं विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव देवराज अर्यालले भद्रगोल अवस्थामा सञ्चालित क्याम्पसको यकिन पहिचान गर्न नक्सांकन गर्न लागेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘कुन प्रदेशमा कति क्याम्पस सञ्चालित छन्, क्याम्पसका विद्यार्थी संख्या कति छन्, ती क्याम्पसको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी दिन नक्सांकन गर्न लागेका हौं।’

मुलुक संघीयतामा गइसकेको अवस्थामा केही विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउन सरकारले नक्सांकन गर्न लागेको हो। नक्सांकन भइसकेपछि कुन विश्वविद्यालयका सम्बन्धन र आंगिक क्याम्पसमा कति विद्यार्थी अध्ययन गरिरहेका छन् भन्ने विषयमा सजिलै जानकारी लिन सकिन्छ।

सदस्यसचिव अर्यालले कुन विश्वविद्यालयमा कति विद्यार्थी अध्ययन गरिरहेका छन्, ती विश्वविद्यालय र त्यसले सम्बन्धन दिएका क्याम्पसको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी दिन पनि नक्सांकन गर्न लागिएको जानकारी दिनुभयो। नेपालमा पछिल्लो पटक विधेयक पारित गरी सञ्चालनमा आएको खुला विश्वाविद्यालयबाहेक ९ वटा विश्वविद्यालयमध्ये केहीलाई प्रादेशिक विश्वविद्यालय बनाउने तयारी गरिरहेको छ। नेपालमा त्रिभुवन, नेपाल संस्कृत, काठमाडौं, कृषि तथा वन, मध्य पश्चिमाञ्चल, पोखरा, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल र लुम्बिनी बौद्ध विश्वविद्यालय सञ्चालित छन्।

तीमध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन क्याम्पस छन्। त्रिविअन्तर्गत १ हजार ८५ सम्बन्धन प्राप्त र ६० वटा आंगिक क्याम्पस रहेका छन्। त्रिविअन्तर्गतका क्याम्पसमा करिब ३ लाख विद्यार्थी अध्ययनरत छन्। सदस्यसचिव अर्यालले दुई महिनाअघि गठित ४ सदस्यीय कार्यदलले काम थालिसकेको जानकारी दिनुभयो।
नेपालमा ९ वटा विश्वविद्यालयअन्तर्गत करिब १ हजार ५ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पस छन्। सो कार्यदलले नक्सांकन गरेको प्रतिवेदन सरकारलाई हस्तान्तरण गर्ने र सरकारले कुन प्रदेशमा कुन विश्वविद्यालय सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्नेछ।
आयोगले पहिलो पटक सबै विश्वविद्यालयका क्याम्पसको नक्सांकन गर्न लागेको हो। कुनै पनि विश्वविद्यालयलाई आफ्नो क्याम्पसको भौगोलिक अवस्था कस्तो छ भन्ने विषयमा जानकारी छैन। हालसम्म कुनै पनि विश्वविद्यालयलाई आफ्नो सम्बन्धन र आंगिक क्याम्पसको नक्सांकन गरेका छैन।

पहिलो पटक भएकोले केही समय लाग्ने संयोजक एवम् सदस्य सचिव अर्यालले जानकारी दिनुभयो। नक्सांकन भएपछि कुन प्रदेशमा कति क्याम्पस छन्, तिनीहरूको दूरी कति टाढा रहेको छ भन्ने विषयमा सजिलै जानकारी हासिल गर्न सक्नेछ। सरकारले सात प्रदेशमा सातैवटा विश्वविद्यालय सञ्चालन गर्ने अवधारणा ल्याइसकेको अवस्थामा आयोगले विश्वविद्यालयको क्याम्पसको नक्सांकन गर्न लागेको हो।