कांग्रेसलाई दोस्रो चरणको सकस


नेपाल समाचारपत्र, काठमाडौं ।

मंसिर १० गते हुने पहिलो चरणका लागि थोरै सिटमा राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नयाँ शक्तिलगायतका दलहरूसँग सहकार्य गरी उम्मेदवार चयन गरेको नेपाली कांग्रेसलाई मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कठिन भइरहेको छ। यो निर्वाचनमा प्रमुख वाम घटक नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरू सहकार्य गरी चुनावी मैदानमा होमिएपछि थप चुनौतीको सामना गरिरहेको कांग्रेसले तराई केन्द्रित दलहरूसँगको तालमेललाई निष्कर्षमा पुर्याउन सकेको छैन।

विशेष गरी प्रदेश नम्बर २ मा राम्रो पकड भएको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग दोस्रो चरणको निर्वाचनमा चुनावी तालमेल गर्ने रणनीति बनाएको कांग्रेसलाई उनीहरूले माग गरेबामोजिमको सिट दिन सकस भइरहेको छ।

मधेसी दलहरूले प्रदेश नम्बर २ मा मात्र प्रतिनिधिसभाका लागि २४ र प्रदेशसभाका लागि ४८ सिट माग गरेका छन् भन्दै छलफलमा सहभागी एक कांग्रेस नेताले भने– ‘नेपाली कांग्रेस राजपा र फोरमलाई प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ३० सिटसम्म दिन तयार रहेको छ।’ दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने समय एक साता मात्र बाँकी रहँदासम्म पनि सिट बाँडफाँडमा कुरा नमिलिरहेको अवस्थामा अन्तिममा शीर्ष नेताहरू चुनाव लड्ने क्षेत्रमा मात्र भए पनि तालमेल हुन सक्ने ती नेताको भनाइ थियो।

पहिलो चरणको निर्वाचनमा नयाँ शक्तिलाई प्रतिनिधिसभामा १ र प्रदेशसभामा २, राप्रपा प्रजातान्त्रिकलाई प्रतिनिधिसभामा १, राप्रपालाई प्रदेशसभामा २ र संघीय समाजवादी फोरमलाई प्रदेशसभामा १ क्षेत्रमा उम्मेदवार बनाएर तालमेल गरेको कांग्रेसले दोस्रो चरणमा सबै दललाई सिट संख्या बाँड्दा आफ्नैलाई मिलाउन नसक्ने भन्दै आन्तरिक असन्तुष्टि बढ्ने अनुमान पनि गरिएको छ। मंसिर १० र २१ गते दुई चरणमा गरी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ र प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० गरी जम्मा ५ सय ५० सदस्यका लागि निर्वाचन हुँदै छ। अन्य दलसँग तालमेल नगरी सबै क्षेत्रमा कांग्रेसले आफ्नो पार्टीको उम्मेदवार बनाउने भए केही हदसम्म आफ्ना नेताहरूको उम्मेदवार बन्ने चाहनालाई सम्बोधन गर्न सक्ने भए पनि तालमेल गर्दा आफ्नै बाहिरिने जोखिम बढेको कांग्रेस नेताहरू बताउँछन्।

पहिलो चरणमा भन्दा दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी छनोटमा मात्र हैन प्रतिद्वन्द्वीको सामना गर्न पनि सकस देखिएको छ। वाम गठबन्धनको सामना गर्नुपर्ने अवस्थामा काठमाडौंकै निर्वाचन क्षेत्रमा विवेकशील साझा पार्टीका प्रभावशाली नेताहरूको सामना पनि कांग्रेसले गर्नुपर्नेछ। आक्रामकरूपमा प्रचारप्रसारमा लागिसकेका यी पार्टीका नेताहरूले कांग्रेस, एमालेसँगै प्रतिस्पर्धामा आउने तयारीका साथ अघि बढिरहेका छन्। दोस्रो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्लाबाहेक तराई, मधेस र पहाडका ४५ जिल्लामा एकैसाथ निर्वाचन हँुदै छ। सबै दलका प्रभावशाली नेताहरू मात्र हैन तुलनात्मक रूपमा शिक्षित मतदाताको संख्या पनि यी जिल्लामा धेरै छन्।

‘कांग्रेसका चलायमान भ्रातृसंस्थाहरू नेपाल तरुण दल, नेपाल महिला संघ तथा नेपाल विद्यार्थी संघ आन्तरिक रूपमा गुटमा विभाजित भइरहेको अवस्थामा आम निर्वाचनमा कस्तो परिणाम आउँछ भनेर यसै भन्न सकिँदैन’, कांग्रेसका एक केन्द्रीय सदस्यले नेपाल समाचारपत्रसँग भने– ‘आन्तरिक गुटउपगुटका कारण स्थानीय निर्वाचनमा हामीले अनपेक्षित हार बेहोरेका छौं।’

अहिले ठूला वाम गठबन्धनको सामना गर्नुपर्ने भएकाले कांग्रेसले बेलैमा उम्मेदवारी चयन गरी चुनावी घोषणापत्रका साथ प्रचारप्रसारमा जान ढिला भइसकेको ती नेताको भनाइ थियो।

विगतको निर्वाचनमा जस्तै कांग्रेसभित्र आन्तरिक विवाद देखिन थालिसकेको छ। तनहुँ–१ बाट उम्मेदवारी दिने तयारीमा रहनुभएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउने भन्दै कांग्रेसकै नेता गोविन्दराज जोशीले खुला रूपमा चुनौती दिइरहनुभएको छ। कांग्रेसभित्र आन्तरिक बिबाद बढिरहेको र दोस्रो चरणको निर्वाचनका लागि सकस भइरहेको सन्दर्भलाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भन्नुहुन्छ– ‘कांग्रेस आन्तरिक रूपमा एकढिक्का भएर सम्भव भएसम्मका दलहरुसँग तालमेल गर्दै अघि बढे कांग्रेस डराउनुपर्ने अवस्था छैन।’