सञ्चालकको मनोमानी, थला पर्यो हरिसिद्धि इँटा टायल कारखाना


 

सुरेश तामाङ, काठमाडौं
काम्पनी रजिस्ट्रार कार्यालयले हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेडको जग्गा विक्री नगर्न निर्देशन दिएको छ। कम्पनी रजिस्ट्रार कार्यालयले सो कारखानाका सञ्चालकलाई यस्तो निर्देशन दिएको हो।

हरिसिद्धि इँटा तथा टायल कारखानाको सहायक कम्पनीका रूपमा सञ्चालित एनबी वात्रा हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरको नाममा रहेको जग्गासमेत विक्री नगर्न पत्राचार गरेको छ।

सो कार्यालयद्वारा जारी गरिएको पत्रमा भनिएको छ– ‘वार्षिक साधारणसभा नभएको अवस्थामा कम्पनीबाट गरिने महत्त्वपूर्ण कार्यहरू स्वतः प्रभावित हुने देखिएको तथा शेयरधनीहरूको सहमतिविना कम्पनीको सम्पत्ति बेचबिखन, खरिद–विक्रीलगायत कार्यसमेतमा असर पर्ने हँुदा कम्पनी ऐन २०६३ का प्रक्रियाहरू पूरा गरी अद्यावधिक गरी कम्पनी सञ्चालन गर्न निर्णयनुसार निर्देशन गरिएको छ।’

कार्यालयले जिल्ला मालपोत कार्यालय, ललितपुरमा हरिसिद्धिको जग्गा बेचबिखन रोक्का गर्न पत्र पठाएको छ। कार्यालयले उद्योग मन्त्रालय, आन्तरिक राजस्व कार्यालय, ललितपुर, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नेपाल बंगलादेश बैंकलाई पनि जग्गा रोक्का गर्न दिएको निर्देशन दिएको छ।

सञ्चालकलाई भने कम्पनीको जग्गा विक्री हुन लागेका बारेमा ७ दिनभित्र यथार्थ विवरण पेस गर्नसमेत निर्देशन दिइएको कम्पनी रजिस्ट्रार कार्यालयका सहायक रजिस्ट्रार राजनकुमार बस्नेतले जानकारी दिनुभयो। कार्यालयबाट पटक–पटक साधारणसभा सम्पन्न गरी कागजात पेस गर्न निर्देशन दिँदा पनि कारखानाले आव २०६०⁄६१ देखि हालसम्म वार्षिक साधारणसभाको प्रतिवदेनसमेत पेस गरेको छैन।

साधारणसभा गरेमा कारखानामा भएका आर्थिक अनियमितता बाहिर आउने र कम्पनीका सञ्चालकहरू कानुनी कारबाहीमा पर्ने डरले साधारणसभा नगरेको आरोप शेयरधनीहरूको छ। सञ्चालकहरूको लापरबाहीका कारणले कम्पनीले शेयरधनीलाई १३ वर्षदेखि लाभांश दिएको छैन। कर्मचारीहरूले २०६९ देखि तलबभत्ता पाएका छैनन्। उमेरको हदले अवकाश पाइसकेका कामदार कर्मचारीहरूले उपदानलगायतको सुविधा पाएका छैनन्।

साधारणसभा नहँुदा शेयरधनीले आफ्नो लगानीबारे थाहा पाउन सकेका छैनन्। कम्पनीको आयव्यय नाफा नोक्सानबारे शेयरधनीहरू अनभिज्ञ छन्। कम्पनीमा एउटै व्यक्तिको हालीमुहाली रहेको र साधारणसभाबाट छनोट नगरी आफूखुसी सञ्चालक राखिएकाले कारखाना अस्तव्यस्त बनेको दाबी शेयरधनीहरूको छ। सञ्चालकहरूले नेपाल स्टक एक्सचेन्जमा कम्पनीको नवीकरण नगर्दा शेयर खरिद विक्री बन्द भएको ११ वर्ष बितिसकेको छ। स्टक एक्सचेन्जले नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि सञ्चालकहरूले चासो नदिएको शेयरधनीको भनाइ छ।

शेयर कारोबारको नियमन गर्ने निकाय धितोपत्र बोर्डलेसमेत कम्पनीलाई नियमन गर्न पहल नगरेको आरोप पनि शेयरधनीको छ। कम्पनी ऐनअनुसार कम्पनीहरूले प्रत्येक वर्ष साधारणसभा गरी शेयर लगानीकर्तालाई आफ्नो कम्पनीको आयव्ययका बारेमा जानकारी गराउनुपर्छ। प्रत्येक चारचार वर्षमा नयाँ सञ्चालक समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ। तर १४ वर्ष भइसक्दा पनि सञ्चालकहरूले साधारणसभा गर्न चासो दिएका छैनन्।

कम्पनीले एनबी मार्केटिङ, बागमती इन्भेस्टमेन्ट्स, रिलायबल इन्भेस्टमेन्ट्स, ल्होत्से इन्भेस्टमेन्ट्स र सर्वसाधारण शेयरधनीका तर्फबाट संस्थागत प्रतिनिधि भनी अध्यक्षमा राजेन्द्र राजभण्डारी, सदस्यहरूमा रोजकुमार श्रेष्ठ, दोर्जे गुरुङ, देवबहादुर श्रेष्ठ, वासुदेव पराजुली सदस्य रहने गरी सञ्चालक समिति गठन गरी गत २०७३ जेठमा प्रमाणितका लागि कम्पनी रजिस्ट्रार कार्यालयमा पठाएको थियो। रजिस्ट्रार कार्यालयले साधारणसभा नगरेकाले कम्पनीको सञ्चालक प्रमाणित गरिदिएको छैन।

सो समूहले कारखानाको व्यवस्थापकमा दीपराम महर्जनलाई छनोट गरेको छ। सञ्चालकहरूले कारखानालाई मनपरी ढंगले सञ्चालन गरिरहँदा पनि कारबाही गर्ने सम्बन्धित सरकारी निकाय मौन रहेको गुनासो कर्मचारीको छ। उचित संरक्षणको अभावका कारणले हाल कारखानाको करोडौं मूल्य पर्ने इँटा र टायल तयार पार्ने मेसिन, रेल (माटो ओसार्ने मेसिन) लथालिंग अवस्थामा पुगेका छन्।