स्त्रीहरुमा कसरी हुन्छ मूत्र चुहिने समस्या ?

0
Shares

मूत्र चुहिने समस्या औधी मात्रामा देखा पर्ने गरेको छ । यो पुरुष तथा स्त्री दुवैमा देखा पर्छ । तर पनि पुरुषको अनुपातमा स्त्रीहरू यो समस्याबाट बढी प्रभावित हुन्छन् । स्त्रीमा यो अवस्था जति उमेर बढ्दै गयो त्यति बढी हुने गर्छ । कैयौं स्त्रीहरू यसलाई उमेर बढ्दै गएपछि अनुभव गर्नैपर्ने अवस्था भनेर स्वीकार गर्छन् ।
खास गरेर यो अवस्थाले सोझै ज्यानमा असर नपार्ने भएकाले पीडितहरू थोरैले मात्रै उपचारका लागि चिकित्सकसँग परामर्श गर्छन् । तर यो अवस्थाले स्त्रीको शारीरिक, मानसिक र सामाजिक सबै क्षेत्रमा नराम्रो प्रभाव पार्ने गर्छ । पश्चिमा देशहरूको तथ्यांकमा स्त्रीहरू कम्तीमा ३० प्रतिशतसम्म मूत्र चुहिने समस्याले ग्रस्त हुन्छन् ।
त्यसमध्ये ५० प्रतिशत भन्दा कम मात्रै उपचारबम निम्ति जाने गर्छन् । नेपालमा पिसाब चुहिने समस्याबाट कति प्रतिशत स्त्री पीडित छन् ? तीमध्ये उपचारका निम्ति चिकित्सककहाँ कति पुग्ने गर्छन् ? त्यसको कुनै लेखाजोखा छैन । स्त्रीमा विभिन्न प्रकारका पिसाब चुहिने अवस्था देखा पर्छन् । यो लेखमा एक्कासि पेटभित्र चाप बढेर उत्पन्न भएको पिसाब चुहिने समस्यालाई मात्र वर्णन गर्ने चेष्टा गरिएको छ ।
पेटभित्र एक्कासि चाप बढेर पिसाब चुहिने भनेको खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, शारीरिक व्यायाम गर्दा, भारी बोक्दा, सम्भोग गर्दा जब पेटभित्रको चाप एक्कासि बढ्छ; त्यस्तो अवस्थामा मूत्रथैलीमा पिसाब छ भने त्यो थोपा वा धाराकै रूपमा बाहिर निस्कन्छ । त्यस्तो भएमा योनीवरपर भिजेको अनुभव हुने, समयमै सफा गर्न नपाए मूत्र गनाउने, चिलाउने तथा संक्रमण हुनेजस्ता समस्या उत्पन्न हुन्छन् ।
खोकी वा अरू कारणबाट बारबार पिसाब चुहिन थालेको खण्डमा भित्री लुगा नभिजोस् वा अरूको अगाडि नराम्रो नहोस् भन्न प्याड वा पिसाब सोस्ने कपडा राख्दा योनी वरिपरि घाउ हुनसक्ने, बाफिने र लामो समय फेर्न नपाउँदा पूरा ध्यान त्यतैतिर जानसक्ने हुँदा त्यस्तो समस्याबाट मुक्त हुन राम्रो हुन्छ ।
सामान्य अवस्थामा पेटभित्र जति चाप बढे पनि ‌(खोक्दा, हाछ्युँ गर्दा, सम्भोग गर्दा) मूत्र नचुहिन कुनै उपाय अपनाई राख्नु पर्दैन । शरीरको बनोट यस्तो छ कि स्त्रीमा मूत्रनली पुरुषको दाँजोमा छोटो भए पनि पिसाब चुहिँदैन । त्यसका निम्ति निम्न शारीरिक बनोट उत्तरदायी छन्:
– मूत्र थौलीको घाँटी र मूत्र नलीको भित्री झिल्ली ।
– पिसाब थैली र मूत्र नलीका मांसपेशीहरू र तिनीहरूबीचको उचित समन्वय ।
– मूत्र नली र योनीको रक्तसञ्चार तथा स्नायु ।
– मूत्र नलीलाई उपयुक्त आधार प्रदान गर्ने योनीको भाग ।
– मांसपेशी र तन्तुहरूको पट्टाबाट बनेको मूत्र नलीलाई आधार दिने झोलुंगे आकारको संरचना ।
यो झोलुंगे बनावटमा योनी र मलद्वार खुम्च्याउने मांसपेशी तथा मूत्र नली अड्याउने तन्तुहरू संलग्न हुन्छन् । उल्लिखित सबै शारीरिक बनावटमा कुनै कमजोरी नहुँदा वा ती अंगको कुनै पनि भागमा क्षति नभए मूत्र नलीको बन्द अवस्थामा पिसाब थैली र पेटभित्र जति चाप बढे पनि त्योभन्दा बढी चाप मूत्र नलीभित्र उत्पादन हुने गर्छ र नलीको भित्री भाग एकआपसमा टाँसिएर बस्छ ।
यो अवस्थामा मूत्र नलीको प्वालभित्र चाप बढ्दा पिसाब चुहिन नसक्ने गरेर बन्द रहन्छ । पेटभित्र चाप बढ्दा मांसपेशी र तन्तुबाट बनेको झोलुंगे संरचनाले मूत्र नलीलाई च्यापेर पिसाब चुहिनबाट रोक्छ ।
गर्भ धारण, प्रसव क्रिया, शरीरको उच्च तौल, ५५ वर्षमाथिका स्त्रीले हर्मोनको सेवन गर्नु, मधुमेह, डिमेनसिया (स्मृतिभ्रांश र पाठेघर शल्य विधिबाट निकालिएकाहरू ।
पिसाब निस्किए समस्याको निदानका निम्ति स्त्रीले दिएको विवरणका आधारमा चिकित्सकले निक्र्योल गर्नुपर्छ । तर योनीबाट असामान्य मात्रामा पानी बग्दा वा मूत्रनलीको संक्रमणका कारणले तरल पदार्थ चुहिएर पिसाब रोक्न नसकेको भान पर्नसक्छ । त्यसका लागि कुन अवस्थामा भिज्ने क्रम सुरु भयो ? खोक्दा, हाछ्युँ गर्दा, गह्रुँगो बोझ बोक्दा, सम्भोग गर्दा वा त्यस्तै के गर्दा पिसाब चुहिने हुन्छ ? त्यसबारे परामर्श गरेर सबै कुरो राम्रोसँग थाहा पाउनुपर्छ ।
पिसाब च्यापेको समयमा खोक्न लगाएर यो अवस्थाबारे यकिन गर्न सकिन्छ । त्यसबाहेक कुन प्रकारको पिसाब चुहिने समस्या हो, त्यसको निदान गर्नुपर्छ । पीडितको रक्त परीक्षण, पिसाबको जाँच र कीटाणु उमार्ने परीक्षणबाहेक पेटको अल्ट्रासाउन्ड गरेर मिर्गौला, मूत्रथैली र पाठेघरको अवस्थाबारे सबै सूचना प्राप्त गर्नुपर्छ । आवश्यकताअनुसार सिस्टोस्कोपी भन्ने दूरविनले पिसाबको थैली हेर्ने जाँच गर्नुपर्ने हुन्छ ।
त्योबाहेक मूत्र थैली, पाठेघर र मोटो आन्द्राको तल्लो भाग झर्ने तथा योनीको पछाडिको भाग खस्ने र भित्र सरेको अवस्था भए नभएको यकिन गर्नुपर्छ । सँगै देखा परेका विकारहरूको पनि साथै उपचार नभए पूर्ण स्वस्थताको अनुभूति नपाउन सक्छ ।
पिसाब खोक्दामात्र रोक्न नसकिने र चुहिने हुनसक्छ । अकस्मात् पेटभित्र चाप बढ्दा त्यो खोकी, हाछ्युँ, कसरत वा अरू जुनसुकै कारणले किन नहोस् पिसाब चुहिएमा त्यसलाई ‘चापसम्बन्धित पिसाब रोक्न नसक्ने स्थिति’ भनिन्छ । तर, पिसाब लागेको अनुभव भएपछि पिसाब फेर्न जाँदा रोक्नै नसक्ने भएर उपयुक्त ठाउँ पुग्नुअगाडि नै पिसाब चुहिएमा त्यसलाई ‘विलम्ब पिसाब रोक्न नसकिने स्थिति’ भनिन्छ । यो अवस्था मूत्र थैलीको मांसपेशीको खुम्चाहटमा भर पर्छ ।
मूत्र थैलीको असन्तुलित मांसपेशीको कारणबाट यो अवस्था उब्जन्छ । यी दुई स्थितिबाहेक पिसाब लागेपछि रोक्न गाह्रो हुनेमध्ये पनि केहीमा खोक्दा पनि मूत्र स्वेच्छाबिना नै चुहिन सक्छ । यो अवस्थालाई ‘पिसाब नियन्त्रणको मिश्रित अक्षमता’ भनिन्छ ।
उल्लिखित तीन प्रकारको पिसाब चुहिने अवस्थामध्ये कुन प्रकारको हो ? त्यो राम्रोसँग छुट्याउनु अनिवार्य हुन्छ । सामान्य तथा अन्तर्राष्ट्रिय आँकडाअनुसार झन्डै ५० प्रतिशतमा चाप सम्बन्धित पिसाब रोक्न नसक्ने स्थिति देखा पर्छ । करिब ३४ प्रतिशतमा पिसाब चुहिनाको प्रकार मिश्रित पिसाब नियन्त्रणको अक्षमता हुन्छ । बाँकी १६ प्रतिशतमा अविलम्ब पिसाब रोक्न नसकिने स्थिति देखा पर्छ । यो अवस्था उपचारका दृष्टिले सबैभन्दा गाह्रो हुन्छ ।
कहिलेकाहीँ मात्र पिसाब चुहिने, मूत्र संक्रमण नहुने, दैनिकी तथा यौन सम्बन्धमा त्यसले खासै फरक नपरेको र मूत्र प्रदूषणले गन्ध नआउने, चिलाउने तथा घाउखटिरा नहुने र आफू वा यौन सहभागीलाई नकारात्मक असर नपर्ने भए त्यसको उपचार साधारण सरसफाइ, शारीरिक व्यायाम तथा योग अभ्यास तथा तौललाई शरीरको उचाइअनुरूप राखेर गर्नुपर्छ ।
मधुमेह हुनेहरूले चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने, पेट खलास पार्न पानी, सागसब्जी, चोकर भएको खानाको अभ्यास र फलफूललाई उपयुक्त मात्रामा भोजनमा समावेश गर्नुपर्छ । त्यतिले फाइदा नभएमा चिकित्सकको रायबमोजिम औषधिउपचार गर्नुपर्छ । उल्लिखित उपायबाट फाइदा नभएमा शल्य उपचार अँगाल्नुपर्छ ।
बीसौं शताब्दीको सुरुमै स्त्रीमा पिसाब चुहिनबाट रोक्न मूत्र नलीको सुरुको भाग र मूत्र थैलीको घाँटीलाई झुन्ड्याएर त्यो भागलाई सर्न नदिने उपाय प्रयोगमा ल्याइयो । सन् १९०७ पछि सुरुमा मांसपेशी तथा उतकको पट्टी थैलीको घाँटी र मूत्र नलीको सुरुको भागमुनि बेरेर त्यसलाई प्युविसपुट्ठाको हाडको पछाडि लगेर झुन्ड्याउने गरियो ।
सन् १९४५ तिर बिनामांसपेशी र उतकको पट्टी थैलीको घाँटीलाई प्युबिसको पछाडि हाड र मांसपेशीलाई जोड्ने बलियो तन्तुसँग धागोले बान्ने गरियो । ‘मूत्र नली र थैलीको घाँटीलाई सर्न नदिए पिसाब चुहिन रोकिन्छ’ भन्ने सिद्धान्तमै रहेर विभिन्न तरिकाले ती भाग (शारीरिक संरचना)लाई अड्याउने गरियो । सुरुका वर्षमा शल्यक्रियापछि राम्रो सफलता भयो तर लामो समयसम्म त्यो उपलब्धि कायम रहेन । वैज्ञानिकहरूले सिद्धान्तको संशोधन गरे ।
नयाँ सिद्धान्तअनुसार मूत्र थैलीको घाँटी र मूत्र नलीको सुरुको भाग गतिशील भएर भन्दा पनि मूत्र नलीको बीचको भागलाई झोलुंगे संरचनाले राम्ररी टेको नदिएको हुनाले पिसाब चुहिने गर्छ भन्ने पुष्टि भयो । नयाँ सिद्धान्तमा टेकेर नयाँ शल्यक्रियाको आविष्कार भयो । नयाँ विधिमा जालीलाई मूत्रनलीको तलबाट लगेर प्युविसको पछाडितिर अड्याउने गरियो । यो ‘टीभीटी’ नाम पाएको शल्यक्रिया पहिले युरोप, पछि अमेरिका त्यसपछि संसारका अरू मुलुकमा पनि निकै लोकप्रिय हुँदै गयो ।
लाखौंको संख्यामा स्त्रीहरूको यो विधिबाट शल्यक्रिया भयो । तर, त्यसमध्ये दसौं बिरामीको ज्यान पनि गयो । कैयौंले रक्तस्रावबाट धेरै कष्ट भोग्नु पर्यो । त्यसैले यो शल्य विधिको कमजोर पक्ष ज्यानसम्म लिने खतराबाट मुक्त हुन ‘टीओटी’ भन्ने मान दिइएको शल्य विधि २००१ मा आविष्कार भयो ।
यो विधि पछिल्लो १५ वर्ष विद्यमान छ । यो शल्य विधिको कमजोरी- नराम्रो पक्ष नगन्य हुन्छ । टीओटीमा पनि टीभीटीमा जस्तै टेप प्रयोग हुन्छ र त्यसले स्त्रीको मूत्र नलीको बीचको भाग तल झोलुंगे आकारमा रहेर मूत्रनलीले विभिन्न कारणवश गुमाउन पुगेको समर्थनलाई पूर्ण रूपमा प्रतिस्थापन गरेर उपयुक्त विकल्पका रूपमा क्रियाशिल हुन्छ ।
यो पट्टी टीभीटीमा जस्तो प्युविक हड्डीको पछाडि नजाने हुँदा आन्द्रा, ठूला रगतका नशा र मूत्र थैलीलाई क्षति पुर्याउने सम्भावना हुँदैन । यो टेपको कोण ९० डिग्रीभन्दा बढी हुने भएकाले मूत्र नलीलाई साँघुरो पार्ने डर पनि हुन्न । टीओटी शल्यक्रियामा टेप अब्टुरेटर झिल्ली हुँदै तिघ्रा-जाङतिर निकालिन्छ ।
यो शल्यक्रिया प्रायः सबैजसो स्त्री सजिलैसँग वहन गर्छन् र दुई दिनपछि अस्पतालबाट आफ्नै बासस्थान गएर दुईतीन दिनमै सामान्य गृहकार्य गर्न सक्छन् । तर बोझ उठाउने काम र यौनसम्बन्ध भने ६ देखि आठ हप्तापछि मात्र स्वीकार्य हुन्छ ।
मूत्र चुहिने समस्या पुरुषमा भन्दा स्त्रीमा धेरै मात्रामा विद्यमान हुन्छ । खास गरेर पेटभित्र चाप बढ्दा मूत्र नियन्त्रण गर्न नसक्ने स्त्रीहरूले शारीरिक, मानसिक र सामाजिक व्यवधान बेहोर्नुपर्ने हुन्छ । यस्तो अवस्था बच्चा जन्माएका, शरीरको तौल धेरै भएका, मधुमेहबाट पीडित र पाठेघर निकालिएका स्त्रीहरूमा प्रायः देखा पर्छ ।
यसको मुख्य कारण मूत्रनलीको बीचको भागको प्राकृतिक झोलुंगे आधार कमजोर वा नष्ट हुनु हो । हाल शल्य विधिबाट कृत्तिम रूपमा जालीको पट्टी मूत्र नलीमुनि राखेर गुमेको प्राकृतिक झोलुंगे आधारलाई बलियो बनाएर स्त्रीलाई पिसाब नचुहिने अवस्थामा पुर्याइन्छ