किन तात्छ स्वयम्भूको ढुंगो ?


 

टीका बन्धन, काठमाडौं
स्वयम्भू मन्दिर परिसरको एउटा ढुंगा हरेक दिन तात्न थालेपछि ढुंगा हेर्ने र त्यसको कारण बुझ्नेहरूको घुइँचो बढ्न थालेको छ। अनन्तपुर मन्दिरबाट पश्चिमतर्फ बिच्छइइएको ढुंगा तात्ने क्रम नरोकिएपछि आगन्तुकको भीड बढ्न थालेको हो।

‘हैन, निकै तातो पो रहेछ, कसरी यस्तो हुन्छ होला?’ –कोटेश्वरबाट सोमबार आफन्तसँग स्वयम्भू घुम्न पुगेका एक अधबैंसेले ढुंगामा हात राख्दै आश्चर्य व्यक्त गरे। यस्तै चासो लिँदै मन्दिर परिसर पुग्ने, ढुंगा छुने, फोटो र भिडियो लिनेहरूको संख्या बढ्न थालेको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ। दिउँसोको चर्को घाम लागेको बेलामा मात्र होइन, राति र बिहान सबेरै पनि ढुंगाको तापक्रम उस्तै हुन थालेपछि त्यसबारे आश्चर्य व्यक्त गर्नेहरू धेरै छन्।

त्यहाँका पुजारी घनश्याम बुद्धाचार्यले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘घाम अस्ताएपछि झनै तातो हुन्छ, बिहानै पनि उस्तै हुन्छ।’ भूकम्पले क्षति पुर्याएर अहिले पुनर्निर्माण भइरहेको अनन्तपुर मन्दिरको फेदैबाट पश्चिमतर्फको ढुंगा विगत १२ दिनयता हरेक दिन तात्न थालेको हो। गत १९ गते बिहीबार बिहान कोजाग्रत पूर्णिमाको दिन नियमित पूजाआजाका क्रममा स्थानीय पुजारीहरू खाली खुट्टा हिँडने क्रममा ढुंगाको तापक्रम केही फरक भएको महसुस गरेका थिए।

त्यहाँका पुजारी अशोक बुद्धाचार्यले पूजा गर्ने क्रममा ढुंगा तातो भएको महसुस गर्नुभएको थियो। बिहान सवा ५ बजे ढुंगा तातेको थाहा पाउँदा निकै आश्चर्य व्यक्त गर्दै उहाँले अन्य सहकर्मीलाई अगवत गराउनुभयो। अशोकका दाजु घनश्यामलगायतले समेत सो ढुंगा छुँदा केही फरक महसुस गर्नुभयो तर सो दिन अरू कसैलाई जानकारी गराउनुभएन। ‘त्यो दिन त लाखबत्ती बाल्दा तातो भयो कि भन्ने लाग्यो, तर होइन रहेछ। भोलिपल्ट छाम्दासमेत तातै भयो अनि मात्र अरूलाई पनि बतायौं।’ –घनश्यामले भन्नुभयो।

स्वयम्भू महासमितिका पदाधिकारी राज्यका जिम्मेवार निकायले छिट्टै यसबारेमा अध्ययन अनुसन्धान अघि बढाएर सत्यतथ्य पत्ता लगाउनुपर्ने बताउँछन्। विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रबारे राज्य बेलैमा गम्भीर हुनुपर्ने महासमितिका उपाध्यक्ष ज्ञानु लामाको तर्क छ।

यसबारेमा जिज्ञाशा राख्दा खानी तथा भूगर्भ विभागका अधिकारीहरू के कस्तो कारणले यस्तो घटना हुन्छ भन्नेमा अनविज्ञ छन्। ‘कतै अर्थिङ र विद्युत् सर्ट हुँदा यस्तो घटना हुन सक्छ, तर अध्ययन अनुसन्धान नगरी यसै भन्न सकिँदैन’, विभागका एक अधिकारीले भने– ‘विगतमा कहीं पनि यस्तो भएको सुनिएको थिएन।’