पुन्यमको गीत भिडियोमा

0
Shares

 

गायक पुन्यम प्रधानको पछिल्लो गीत जलें–जलें म जलें तिम्रो प्यारमाको शनिबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच लोकार्पण गरिएको छ। संगीतकार राजु सिंहको प्रमुख आतिथ्यता तथा संगीतकार अनिल शाहीको आतिथ्यतामा गीतको पोस्टर तथा भिडियोको लोकार्पण भएको हो।

नवीन श्रेष्ठको शब्द तथा संगीत एवं अनिल शाहीको म्युजिक एरेन्ज रहेको गीतको म्युजिक भिडियोको निर्देशन विश्व प्रधानले गरेका हुन्। भिडियोमा रिस्ता बस्नेत, निशान खत्री, सिर्जना थापा बस्नेतलगायतका कलाकारहरूको अभिनय रहेको छ। कार्यक्रममा संगीतकार सिंहले गायक प्रधान र आफू मिलेर पचासको दशकको त्यो कठिन समयमा प्रतिबिम्ब समूह स्थापना गरेर संघर्ष गरी करियर बनाएको पललाई सम्झे। अर्का संगीतकार अनिल सिंहले जलें–जलें गीतको म्युजिक एरेन्ज गर्दाको सहकार्यबारेमा चर्चा गरे। पचासको दशकमा गायक पुन्यम प्रधानको परिचय प्रतिबिम्ब समूह नै थियो र अझै पनि छ। प्रतिबिम्ब समूहबाट गायनको करियर शुरू गर्ने गायक प्रधानले हालका अत्यन्त चर्चित संगीतकार राजु सिंहसँग मिलेर २०४७ सालतिर प्रतिबिम्ब समूह स्थापना गरेका थिए।

त्यो सोच र निर्णय प्रतिबिम्बमार्फत प्रतिभाको प्रतिबिम्ब स्थापित गर्नु हो। जुन सोचबाट सुदीप रिजाल, जोन शाही, धनुषा सिंह, वसन्त बित्यासी थापा, इन्द्र ध्वँजु जस्ता अत्यन्त प्रभावशाली गायक–गायिका स्थापित बने। त्यसक्रममा गायक पुन्यम पनि प्रतिबिम्ब समूहबाट निकालिएको प्रतिबिम्ब भाग–१ देखि ४ सम्मको सांगीतिक एल्बमबाट शिखरमा पुग्दै गए। यसबीचमा पुन्यमका कहीं बर्बाद नहोस्, बिझाउने यादहरू, दोबाटोमा कुरिबसेंको, नआइदेऊ मेरो जीवनमा जस्ता थुप्रै गीत हिट भएका थिए। २०५६ सालतिर बाँच्नुको विवशताले प्रतिबिम्बका धेरै बिम्बहरू परदेसिए। त्यसक्रममा पुन्यम पनि अमेरिकाको न्युयोर्कतिर हानिए। दिनभरको क्रुजको अत्यन्त व्यस्त काम पछिको आरामको समयमा पनि गीत–संगीतमा रमेर देश सम्झने पुन्यमको बानी नै भयो। त्यसैको प्रतिफल एकल प्रयासमा पोट्रेट नामक एल्बम निकाल्ने सफलता प्राप्त गरेका थिए। प्रतिबिम्बपछिको पहिलो एकल एल्बम प्रोटेट नै पुन्यमको परिचय बन्यो।