नीरफूलमा म्यानमारका राजदूत दम्पती

0
Shares

 

पत्रकार तथा साहित्यकार फूलमान बलद्वारा निर्देशित फिल्म नीरफूलमा म्यानमारका राजदूत उ लिउन उलाई देखिने भएको छ।

भूकम्पले तितरवितर पारेको एउटा परिवारका सदस्यहरूले पुनर्मिलनका लागि गरेको संघर्षमा आधारित फिल्ममा राजदूत दम्पतीले विशेष भूमिकामा अभिनय गरेका हुन्। राजदूत दम्पतीको भूमिका रहेको फिल्मको दृश्य नगरकोटमा छायांकन गरिएको निर्माण पक्षले जानकारी गराएको छ। पूर्वपाइलट राजदूत उले यसअघि म्यानमारकै एउटा फिल्ममा पाइलटकै भूमिका गरेका थिए। नीरफूलको कथावस्तु मन परेकाले राजदूत उ अभिनयका लागि राजी भएको सेलो प्रोडक्सनको विज्ञप्तिमा उल्लेख छ। राजदूत उ दम्पतीले फिल्ममा गरेको चरित्र भने गोप्य राखिएको छ।

दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, जिग्मे छ्योइकी घिसिङ, पुष्कर गुरुङ, सरोज अर्याल, सरिता गिरी, बुद्धि तामाङ, राजन खतिवडालगायतको अभिनय रहेको फिल्मको अहिले धमाधम सुटिङ भइरहेको छ। धादिङको रुबी भ्याली र काठमाडौं लोकेसन रहेको फिल्मको ८० प्रतिशत छायांकन सकिएको निर्देशक बलले जानकारी गराए।
अमेरिकास्थित ग्रिनतारा इन्टरटेनमेन्ट र नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम रहेकी छन् भने कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, जापानबाट उदय लामा, इजरायलबाट चन्द्रमाया तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अशोक थापा निर्माता रहेका छन्। निर्देशक बल र सचिन घिमिरेको पटकथा रहेको फिल्मको छायांकन प्रमोद कार्कीले गरिरहेका छन् भने संगीत अर्जुन पोखरेलको रहेको छ।