विमाकुमारी लमजुङमा सम्मानित

0
Shares

 

लमजुङ, (नेस)। लोकप्रिय लोक गायिका विमाकुमारी दुरालाई सम्मान गरिएको छ। अकला युवा क्लब, रागिनास, लमजुङले आफ्नै कार्यक्षेत्रमा एक भव्य समारोहको आयोजना गरी उनलाई सम्मान गरेको हो। जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे, रागिनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा र आयोजक क्बलका अध्यक्ष माधव पौडेलले लोकगायिका दुरालाई टीका, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।

नेपालको गौरव, लमजुङकी शान लोकगायिका विमाकुमारी दुरालाई रागिनासको नागरिक सम्मान भन्ने नाराका साथ उनलाई सम्मान गरिएको थियो। क्लबको तेस्रो वार्षिकोत्सवका अवसरमा सो कार्यक्रम गरिएको हो। आयोजक क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा पारेर हरेक वर्ष राष्ट्रियस्तरका १ जना कलाकारलाई सम्मान गर्दै आएको छ।

क्लबले पहिलो वर्ष लोकगायक राजु परियार, दोस्रो वर्ष लोकगायक पशुपती शर्मा र यो वर्ष विमाकुमारी दुरालाई सम्मान गरेको हो। सम्मान ग्रहण गरेपछि विमाले आफ्नो जन्मथलोको सम्झनामा संकलन गरी गाएको बहुचर्चित लोकगीत लमजुङ तुर्लङकोट, सरर हावा चल्यो लाकुरीको बोट सुनाउँदा दर्शक मन्त्रमुग्ध भएका थिए। त्यसै गरी, नरोउ आमा सम्झी साँझैमा बोलको गीत गाउँदा धेरै आमाले आँसु पुछेको देखिन्थ्यो। विमाले झन्डै आधा दर्जन गीत सुनाएकी थिइन्।

कार्यक्रममा लोकगायक नवीन पौडेलले दर्शकलाई नचाएका थिए भने लोक दोहोरी गीत प्रतिष्ठान पाल्पा जिल्लाकी सचिव ज्योती लोहनीको प्रस्तुति पनि दर्शकले मन पराएका थिए। त्यसै गरी नवीन पौडेल र ज्योती लोहनी विचको दोहोरीको घम्साघम्सीले दर्शकदीर्घबाट वाहवाही पाएको थियो। सो अवसरमा स्थानीय कलाकार प्रशान्त तामाङ, दीपक परियार, रश्मिता अधिकारीसहित लोकदोहोरी गीत प्रतिष्ठान लमजुङकी उपाध्यक्ष, २ महिनाकी आमा सरिता परियारलगायतले पनि आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।