समानुपातिक प्रणालीको मतपत्र छपाइ शुरू


सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छाप्ने काम मंगलबारबाट शुरू गरेको छ।

मंसिर १० र २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने राजनीतिक दलको निर्वाचन चिह्न निर्धारण गरेर मतपत्र छपाइको काम अघि बढाइएको हो। निर्वाचन व्यवस्थापनका लागि समयको चापलाई ध्यानमा राखेर समानुपातिकतर्फको मतपत्र छपाइको काम शुरू गरिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा भाग लिन आयोगमा ९१ दल दर्ता भएका छन्। सोही आधारमा चुनाव चिह्न निर्धारण गरेर एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न राखिएको हो।

‘मतपत्रको छपाइ अति नै संवेदनशील विषय हो। मतपत्र छपाइ र व्यवस्थापन कार्यमा हुने सानो त्रुटिले ठूलो समस्या ल्याउन सक्छ। त्यसैले त्रुटि नगरीकन छाप्न सबैलाई निर्देशन दिएका छौं।’ –प्रमुख आयुक्त यादवले भन्नुभयो।

कडा सुरक्षाको घेराबीच सानो ठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने कार्य शुरू गरिएको छ। मतपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्र, मुद्रण विभाग, निर्वाचन आयोगका कर्मचारी खटिएको आयोगले जनाएको छ।

समानुपातिकतर्फको मतपत्र हल्का रातो हुनेछ। १ करोड ७० देखि ८० लाखसम्म मतपत्र छापिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो।

हाल व्यवस्थापिका संसद्मा रहेका दलले अघिल्लो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ ल्याएको मत संख्याअनुसार मतपत्रमा क्रमशः निर्वाचन चिह्न रहने कानुनी प्रावधान रहेको छ। सोहीअनुरुप नेपाली कांग्रेसको रूख चिह्न मतपत्रको सबैभन्दा माथि, दोस्रोमा एमालेको सूर्य चिह्न, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया–हथौडा चिह्न रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको गाई चिह्न मतपत्रको चौथो क्रममा र राष्ट्रिय जनता पार्टीको छाता चिह्न पाँचौं लहरमा रहने गरी आयोगले मतपत्रको डिजाइन गरेको छ।

संसद्भित्रका ६ मधेसवादी दल एकीकृत भएर गत वैशाखमा राष्ट्रिय जनता पार्टी गठन भएको हो। ६ वटा दलले पाएको समानुपातिकतर्फको मत जोडा सो दलले मतपत्रमा पाँचौं स्थान पाएको हो।

नेपाल लोकतान्त्रिक फोरमको दुई हात जोडेको नमस्कार छैटौं र संघीय समाजवादी फोरम नेपालको हातले समातेको मसाल चिह्न मतपत्रको सातौं लहरमा रहेका छन्। संसद्भित्रका १९ दलले प्राथमिकता क्रमअनुसार मतपत्रको १९ औं लहरसम्म चिह्न पाएका छन्। त्यसपछि आयोगमा निर्वाचन प्रयोजनका लागि निर्धारण गरिएको अवधिभित्र दल दर्ता गराएकाहरूको दर्ता क्रमअनुसार मतपत्रमा चिह्न राखिएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन प्रदेश नम्बर १ मा ८७, प्रदेश नम्बर २ र ३ मा ८६–८६, प्रदेश नम्बर ४ र ६ मा ८२–८२, प्रदेश नंम्बर ५ मा ८४ र प्रदेश नम्बर ७ मा ८३ राजनीतिक दलले आयोगमा दल दर्ता गराएका छन्।

सोहीअनुरुप प्रदेशसभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशमा राजनीतिक दलको सहभागिताअनुसार आयोगले ७ प्रकारका मतपत्रको व्यवस्थापन गर्न लागेको बुझिएको छ। स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आयोगले आगामी निर्वाचनमा मतदातालाई सहज हुने गरी करिब एथ्री साइजमा मतपत्र छापिने प्रवक्ता ढकालले जानकारी दिनुभयो।

मतपत्रका लागि आयोगले ६ सय मेट्रिक टन कागजको व्यवस्थासमेत गरिसकेको छ। आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेद्वारको बन्दसूची यही असोज २९ गते पेस गर्नुपर्ने छ। दलहरूले बन्दसूची बुझाउँदा क्लस्टर मिलाउनुपर्ने, समावेशिता र ५० प्रतिशत महिलाको प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने छ। आयोगले बन्दसूची बुझाउँदा ध्यान दिनुपर्ने विषयमा राजनीतिक दलसँग छलफल गर्नेसमेत तयारी गरिरहेको छ।

समानुपातिकतर्फको मतपत्रको छपाइ आगामी कात्तिक ८ गतेभित्र पूरा हुने पनि प्रवक्ता ढकालले जानकारी दिनुभयो। त्यसलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनको मतपत्रको छपाइको काम शुरू गर्ने आयोगले जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमिल्सेनाले विगतमा जस्तै निर्वाचन आयोगले दिएको जिम्मेवारी पूरा गदै समयमै मतपत्र छाप्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन, तालिम, प्रशिक्षण र खटनपटनलगायत कार्यलाई आयोगले तीव्रता दिएको छ। आयोगले निर्वाचनसँग सम्बन्धित नियमावली र निर्देशिका तर्जुमाको अन्तिम तयारीमा जुटेको छ। निर्वाचनमा सुरक्षा फौज बाहेक दुई लाखको हाराहारीमा जनशक्ति परिचालन हुने बताइएको छ।

मंसिरमा हुने निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १ सय ६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० सदस्य तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक प्रणालीबाट २ सय २९ जना चयन हुने छन।