पोखरेलहरुको बडादशैँ पूजा


 

बडादशैँको माहोल शुरु भैसकेको छ। विभिन्न स्थानबाट काठमाडौं आई बसोबास गरेका व्यक्तिहरु दशैँका लागि आ–आफ्ना घर–गाउँतर्फ जान थालेकाले लामो रुटका सार्वजनिक यातायातका साधनहरुमा भीड बढिसकेको छ। हुन त पछिल्लो समयमा काठमाडौंमै दशैँ मनाउनेहरु पनि उल्लेख्य नै छन्। स्वदेश, विदेश जहाँ भए पनि अधिकांश नेपालीहरुले दशैँ मनाएकै हुन्छन्।

आ–आफ्नो सम्प्रदायअनुसार आज देवीको घटस्थापना गरी जमरा राखिन्छ। कसैले सामूहिकरुपमा छुट्टै देवीघरको व्यवस्था गरेका हुन्छन् भने कसैले अफ्नै घरको पूजाकोठा वा एउटा कुनामा घटस्थापना गरी जमरा रख्छन्। यसै क्रममा काठमाडौं उपत्यकामा बसोबास गर्ने आत्रेय गोत्रका पोखरेलहरुले विगत २० वर्षदेखि छुट्टाछुट्टै स्थानमा सामूहिकरुपमा दुर्गा पूजाघर स्थापना गरी आफ्नो सस्कृति जोगाउने कार्य गर्दै आएका छन्।

सोही कार्यको निरन्तरतास्वरुप यस वर्ष काठमाडौंका आत्रेय गोत्रका पोखरेलहरुले सिनामंगल ओमनगरस्थित हरिकुमार पोखरेलको घरमा सामूहिकरुपमा दुर्गा पूजाघर स्थापना गरी घटस्थापनासहित बडादशैँको पूजा कार्यक्रमको शुभारम्भ गरिएको छ। यस अवसरमा काठमाडौंवासी आत्रेय गोत्रीय पोखरेलहरुसहित देश–विदेशमा रहेका समस्त नेपालीहरुमा बडादशैँको मंगलमय शुभकामना

– नवीन पोखरेल, काठमाडौं

वन विनाश बढ्यो

चुरे सक्ने गिरोह अहिले सक्रिय भएको छ। हरियो वन नेपालको धन उखानै छ। तर हरियो वन ठेकेदारको धन हुँदा न वन संरक्षण भएको छ, न त सरकारलाई आम्दानी नै। तेस्रो पक्षले फाइदा लिने गरी भएको वन विनाश रोक्न बेलैमा सोच्न जरुरी छ। उपभोक्ताले आफ्नो वनबाट काठ नपाउने, बाहिर टेन्डर गरेर काठ भकाभक बेच्ने प्रवृत्तिले पनि यो समस्या सिर्जना भएको जस्तो लागेको छ। काठ नपाउँदा उपभोक्ता वनमा चोर्न जाने र वन विनाश बढेको यो तीतो यथार्थ हो।

चुरे क्षेत्रको वनमा व्यापकरुपमा कटानी हुँदा पनि सम्बन्धित निकायको ध्यान गएको छैन। यो विषयमा वन निकायका मान्छेले देखेको नदेख्यै गर्दा पनि समस्या सिर्जना भएको छ। सामुदायिक वनले समुदायको हितमा काम गर्ने गरी नीति नबन्दा पनि अलि समस्या आएको मलाई लागेको छ। यति मात्रै हैन, वन कर्मचारी र बिचौलियाको मिलेमतोमा समेत तस्करी हुने हुनाले वन विनाब रोक्ने काममा थप चुनौती थपिएको छ।

– शिशिर शर्मा, बाँके