कामदार अभावले विमानस्थल निर्माणमा ढिलाइ

0
Shares

 

दीपेन्द्र थापा, काठमाडौं
मुलुककै पुरानो विमानस्थलमध्येको एक सप्तरीको राजविराज विमानस्थल स्तरोन्नीको काम पटक–पटक प्रभावित हँुदै आएको छ। विमानस्थलको सुधार कार्य गत वर्षदेखि शुरु भए पनि तोकिएको मितिमा स्तरोन्नती कार्य सम्पन्न नहुने भएको छ।

३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपियाँमा २०७४ मंसिरको अन्त्यसम्म निर्माण सकिने गरी रमन, कान्छाराम, देव एन्ड सयर कम्पनीले साझेदारीमा नागरिक उड्डयन प्राधिकरणसँग २०७३ असोज १६ मा सम्झौता भएको थियो। तर, कम्पनीले भने दुई महिनापछि काम शुरु गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री जीतेन्द्रनारायण देवले कात्तिक १६ गतेभित्र उडान सञ्चालनमा ल्याउने घोषणा गरेर पनि नागरिक उड्डयन प्राधिकरणले भने तराई बन्द र बाढीका कारण निर्माण कार्यले गति लिन नसक्दा सो समयभित्र सञ्चालनमा ल्याउन नसकिने प्राधिकरणले जनाएको हो।

नागरिक उड्डयन प्राधिकरणका महार्निदेशक सञ्जीव गौतमले भन्नुभयो–‘समय सिमानै काम सकिने अवस्था थियो तर चाडपर्वमा कामदार अभाव हुँदा समयमा काम नसकिएको छैन।’ उहाँले भन्नुभयो–‘सबै काम पूरा भइसकेको छ, अब रन वे मात्र पिच गर्न बाँकी रहेको छ,रन वे पिच गर्न शुरु गरेको एक महिनामा काम सकिन्छ।’

केही दिन अगाडि स्थलगत अध्ययन गरेर आएको सबै काम पूरा भइसकेको तर रन वेको पिचको काम बाँकी रहेको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘द्रुत गतिमा काम भइरहेको छ, चाडबाडले गर्दा अब भने कामको रफ्तार कम हुने देखिन्छ जस्को कारण निर्धारित समयभन्दा केही पछि निर्माण पूरा हुने देखिएको छ।’

प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपानेका अनुसार विमानस्थल प्राविधिक हिसाबले एकदमै राम्रो रहेको छ तर विमानस्थलसम्म तय गरिने बाटो भने स्तरोन्नती गरिनुपर्ने बताउनु भयो। पार्किङ वे, टयाक्सी वे र टर्मिनल सानो रहेकाले यसको समेत स्तरोन्नती गरिनुपर्ने न्यौपानेले बताउनुभयो। विमानस्थलको लम्बाईको अवस्था राम्रो छ तर चौडाई भने कम रहेको बताउनुभयो। सेन्टर प्वाइटबाट ट १ सय ५० देखि दुवै तिर ३ सय मिटर चौडा हुनुपर्ने हो तर सय मिटर मात्र रहेको छ। निर्माण सामग्री ९०⁄९५ किलोमिटर टाढा मोरङको गछियाबाट ल्याउनु पर्ने भएकाले समेत निर्माण केही ढिला भएको न्यौपानेले बताउनु यो।

विमानस्थलको रन वे लम्बाई १५ सय मिटर रहेको छ भने ३० मिटर चौडाइ रहेको छ। विमानस्थलमा ४ वटासम्म विमानपार्क गर्न सकिने छ। कुनै समय राम्रो सञ्चालनमा रहेको विमानस्थल हाल भने बन्द अवस्था रहेको छ। समुन्द्री सतहबाट २ सय ४३ फिट उचाईमा रहेको विमानस्थल २ सय ८० मिटर लम्बाई र ३० मिटर चौडाई रहेको छ। ११⁄२९ डिग्रीमा अवस्थित रहेको छ। पहिलोपटक २० फेब्रुअरी सन् १९६० मा सञ्चालनमा आएको थियो। विमानस्थलको कुल ४ सय ३५ रोपनी जग्गा रहेको छ।