स्थानीय सरकार नै बैद्यानिक जनसत्ता होः प्रचण्ड !



धनवीर दाहाल, रुकुम । नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको स्थानीय सरकार आफ्नो पार्टीले युद्धकालमा चलाएको जनसत्ताको बैद्यानिक रुप भएको बताउनुभएको छ ।

उहिलेको जनसत्ता अहिलेको स्थानीय सरकार भएको र यसले नाम मात्र परिवर्तन भएको बताउनुभयो । स्थानीय सरकार राष्ट्रिय, अन्तराष्ट्रिय मान्यता प्राप्त जनसत्ता भएको प्रचण्डको भनाई छ । उहाँले भन्नुभयो ‘रुकुममा माओवादीले पहिला नै जनसरकार चलाएको हो । अब चिज हात परेको छ, रुकुम फेरि माओवादीको किल्लाको रुपमा स्थापित भएको छ । ‘त्यसैले अब माओवादीले रुकुममा वैधानिक रुपमै जनसरकार चलाउँछ ।’ नेकपा माओबादी केन्द्र पुर्वी रुकुमले गरेको आम सभालाई शनिबार रुकुमकोटमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

रुकुमको पूर्वी क्षेत्र छुट्टै जिल्ला भएकोमा स्थानीयवासीलाई बधाई दिँदै प्रचण्डले रुकुमका सबै तहमा माओवादीले विजय भएको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘रुकुम जिल्लाका सबै तहमा माओवादीले विजयी हासिल गर्योे । यसमा तपाईहरुलाई बधाई छ’, उहाँले भन्नुभयो ‘यसको उन्माद चढ्यो भने चिप्लिन सकिन्छ, नचिप्लिइकन काम गर्न सबैलाई अनुरोध गर्दछौँ ।” प्रचण्डले पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टी भएको तर उन्मादका कारण दोस्रो संविधानसभाको चुनावमा तेस्रो पार्टी हुनुपरेको स्वीकार गर्नुभयो । ‘हामी ०६४ सालको संविधान सभाको पहिलो चुनावमा पहिलो पाटी भयौँ अनि हामीमा उन्माद चढ्यो र दोस्रो चुनावमा चिप्लिएर तेस्रो पार्टी हुन पुग्यौँ’, प्रचण्डले भन्नुभयो ।

आफ्नो पार्टीले उठाएको एजेण्डामा बिस्तारै बिस्तारै अरु पार्टी पनि सहमत भएकोले अहिले परिवर्तन सम्भव भएको प्रचण्डको भनाई छ । रुकुम जिल्लालाई बिभाजन गरी पुर्वी रुकुम बनाइनु र रुकुमकोटलाई सदरमुकाम तोक्नमा आफ्नो भुमिका रहेको उहाँले दावी गर्नुभयो ।

रुकुम जिल्लाको पुरानो सदरमुकाम रुकुमकोटलाई नयाँ जिल्लाको सदरमुकाम बनाइएपछि अव नमुना जिल्ला बनाउन सहयोग पुग्ने प्रचण्डले बताउनुभयो । पुर्वप्रधानमन्त्री प्रचण्डले पुर्वी रुकुमको विकासका लागी आफु र आफ्नो पार्टीले भरपुर सहयोग गर्ने आश्वासन दिनुभयो ।

यसै गरी पुर्व अर्थमन्त्री एवं माओबादी केन्द्रका प्रदेश नं ५ का इन्चार्ज बर्षामान पुनले आफ्नो पार्टीको पहलले मात्र एक रुकुम दूई भएको दावी गर्नुभयो । पुर्वी रुकुम भएपछि माओबादी केन्द्रले पहिलो जिल्ला कमिटी गठन गरेको छ । पुर्वी रुकुमको पार्टी कार्यालय उद्घाटन र आमसभालाई सम्बोधन गर्न प्रचण्ड पुर्वी रुकुम पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्