६० सम्पदा निर्माण सम्पन्न



ईश्वरराज ढकाल, काठमाडौं
शक्तिशाली भूकम्प गएको करिब साढे दुई वर्षपछि पुरातत्व विभागले ६० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ। भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका १६ जिल्लाका ५ सय ५७ सम्पदामध्ये ६० वटाको पुनर्निर्माण सम्पन्न गरेको हो।

दातृ निकाय, पुरातत्व विभाग, स्थानीय निकायको सहभागितामा हालसम्म ६० सम्पदाको पुनर्निर्माण सम्पन्न भएको हो। विभागले १ सय ५ वटा सम्पदाको पुनर्निर्माण कार्य जारी राखेको जनाएको छ। तीमध्ये करिब ६० वटा बहुवर्षीय आयोजना अन्तर्गत छन्। विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले भूकम्पले ध्वस्त भएका र क्षति पुगेका सम्पदाको पुनर्निर्माण दु्रत गतिमा अघि बढिरहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘यही अवस्थामा निर्माण भए अबको ५ वर्षमा सम्पूर्ण सम्पदाको पुनर्निर्माण सम्पन्न गर्नेछौं।’ भूकम्पले ध्वस्त भएका अधिकांश सम्पदाको पुनर्निर्माण शुरू गरिसकेको छ। ‘चालू आर्थिक वर्षमा करिब १ सय सम्पदाको टेन्डर प्रक्रिया शुरू गर्नेछांै’ –विभागका प्रवक्ता रामबहादुर कँुवरले भन्नुभयो।

उहाँले चालू आवका लागि सरकारले करिब २ अर्ब रुपियाँ बजेट उपलब्ध गराएको जानकारी गराउँदै भन्नुभयो– ‘रकमको अभाव छैन, अब पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढाइनेछ।’

विभागले सम्पदा पुनर्निर्माण गर्न करिब १ सय जनालाई तालिम दिइसकेको छ। ‘हामीले प्रस्तर, काष्ठ, गाह्रो लगाउने, झिंगटी लगाउनेलगातयका विषयमा तालिम दिएका छौं’ –प्रवक्ता कुँवरले भन्नुभयो। ‘अब पुरातत्वको काम गर्न तालिम प्राप्त कालिगढको खाँचो कम हँुदै गएको छ, त्यसले गर्दा पुनर्निर्माण कार्यलाई सहज बनाएको छ’ –कुँवरको भनाइ थियो।

भूकम्पले ध्वस्त भएका सम्पदामध्ये रानीपोखरीको निर्माण कार्य शुरू भइसकेको छ, काष्ठमण्डप काठमाडौं महानगरपालिकाले निर्माण गर्ने गरी अन्तिम तयारी भइसकेको छ भने धरहराको विषयमा अझै टुंगो लाग्न सकेको छैन।

भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको वसन्तपुर दरबार चीन सरकारले बनाउन शुरू गरिसकेको छ, गद्दी बैठक अमेरिकन दूतावास फन्डबाट शुरू भइरहेको छ। भूकम्पले ध्वस्त सम्पदामध्ये सबैभन्दा बढी भक्तपुरमा निर्माण सम्पन्न भएको छ, त्यसपछि ललितपुर र तेस्रोमा काठमाडांै रहेको छ।

तथ्यांकअनुसार काठमाडौंका ४३ वटा सम्पदा पूर्णरूपमा ध्वस्त, ५० मा आंशिक र १ सय ४७ गरी २ सय ४१ सम्पदा प्रभावित भएको थियो। ललितपुरमा १३ सम्पदा पूर्णरूपमा ध्वस्त २० वटा आंशिक र ८७ वटा क्षतिग्रस्त थिए।

भक्तपुरको १ सय ३० वटा सम्पदालाई भूकम्पले असर पुर्याएको थियो। विभागका अनुसार भूकम्पले १ सय ४० वटा सम्पदा पूर्णरूपमा ध्वस्त, ९५ वटामा आंशिक क्षति र अन्य सम्पदाको केही भाग क्षतिग्रस्त भएको तथ्यांक छ। विभागका प्रवक्ता कुँवरले रकम उपलब्ध भएको कारण काम गर्न सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘बजेट आएकाले काम गर्न केही सहज भएको छ।’

प्रतिक्रिया दिनुहोस्