समृद्ध वीरगन्जका लागि समग्र विकास गरिने प्रतिबद्धता

0
Shares

 

वीरगन्ज, ३० भदौ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरेर भए पनि मधेशी जनताको अधिकार दिलाउन काँग्रेसले कुनै कसर नछाड्ने बताउनुभएको छ ।

पर्साको वीरगन्जस्थित रातोबंगला चौरमा आयोजित काँग्रेसको चुनावीसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रदेश नं २ हुन लागेको स्थानीय चुनाव मधेशी जनताको अधिकारसँग जोडिएकाले अत्यधिक मतले काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले जनतालाई सर्वसत्ता सम्पन्न बनाउन काँग्रेस अग्रसर छ भन्दै नेकपा(एमाले)का कारण संविधान संशोधन प्रस्ताव पारित हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश नं २ को आर्थिक नगरी वीरगन्ज देशको मुख्यद्वार भएकाले भोलिका दिनमा समृद्ध वीरगन्जका लागि समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेसका महासचिव डा शशांक कोइरालाले संविधान संशोधन गरी मधेशी जनताको अधिकार सुनिश्चित गर्न र समृद्ध नेपाल बनाउन काँग्रेसलाई अत्यधिक मतले जिताउनुपर्नेमा जोड दिनुभयो । सो चुनावीसभा काँग्रेसका पर्सा सभापति तथा वीरगन्ज महानगरपालिका प्रमुख पदका उम्मेदवार अजयकुमार द्विवेदीको सभापतित्वमा भएको थियो । रासस