उम्मेदवारलाई कुटपिट गरिएको भन्दै एमालेको विरोध !

0
Shares

 

काठमाडौँ, २९ भदौ । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति जनाएको छ ।
कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले पक्राउ गरेको भए पनि छाड्नका निम्ति दबाब दिइरहेको जिकिर गर्दै पार्टीले तिनलाई कारवाहीको माग गरेको छ । पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं ११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोशिशसमेत भएकामा पनि एमालेले निन्दा गरेको छ ।
एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण हुन नदिने उद्देश्यका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ । यसैबीच सप्तकोशी नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का तर्फबाट उपप्रमुख पदका आकांक्षी रहनुभएका वडा नं २ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी आज एमालेमा प्रवेश गर्नुभएको छ । रासस