दोलखाबाट बैदेशीक रोजगारीमा जाने महिलाको संख्यामा बृद्धि

0
Shares

चिरञ्जीवी मास्के, दोलखा । दोलखा जिल्लाबाट वैदेशीक रोजगारीको लागि जाने महिलाहरुको संख्यामा बृद्धि भएको जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ । रोजगारीको लागि महिलाहरुलाई काउन्सिलिङ गर्दै आएको पौरखी नेपालको तथ्याङ्कमा पनि अन्य जिल्लाको तुलनामा दोलखाबाट बैदेशीक रोजगारीको लागि जाने महिलाको संख्या बढी रहेको जनाएको छ ।
आर्थिक अभाव, बिचमै पढाई छोड्ने जस्ता कारणले महिलाहरु बैदेशीक रोजगारीमा जाने गरेको पाईएको पौरखी नेपालका दोलखा संयोजक प्रदीप कार्कीले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय दोलखाबाट प्राप्त तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउन महिनामा साधारण तर्फ ९३ जना र द्रुत तर्फ ७४ जना महिलाले राहदानि बनाएका छन् । त्यसरी राहदानि बनाउने महिलाहरुमा ८० प्रतिशत बैदेशीक राजगारीको लागि जाने गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्ट बताउनु हुन्छ । सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार दोलखा घर भएर काठमाडौँ बसोबास गर्ने अधिकांश महिलाहरु अध्यनको लागि विदेश जान राहदानि बनाउन आउछन् भने दोलखामै बसोबास गर्ने महिलाहरु बैदेशीक रोजगारीको लागि जान राहदानि बनाउने गर्छन् । पहिले पहिले निरक्षर महिलाहरु बढी बैदेशीक रोजगारीमा जाने गरेकोमा पछिल्ला केहि बर्षहरुमा साक्षर महिलाहरु बढी बैदेशीक रोजगारीको लागि जाने गरेको अध्यनले देखाएको छ ।
आर्थिक बर्ष ०७३/०७४ मा दोलखा जिल्ला प्रशासन कार्यालयबाट साधारण तर्फ २ हजार ५ सय ७७ र द्रुत तर्फ २ हजार १ सय ८९ जनाले राहदानि बनाएको र त्यसमा झण्डै ४० प्रतिशत महिला रहेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनु भयो । त्यसरी राहदानि बनाउने ८० प्रतिशत महिला बैदेशीक रोजगारीमा गएको पनि भट्टले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय दोलखामा राहदानि बनाउन आउने महिलाहरुलाई बैदेशीक रोजगारीमा जाँदा हुने फाईदा बेफाईदा, अपनाउनु पर्ने सर्तकता जस्ता विषयमा जिल्ला प्रशासन कार्यालय र पौरखी नेपालले परामर्श दिदै आएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टको भनाई छ । तर अधिकांश महिलाहरु पहिलेनै मेनपावर कम्पनिको कुरामा सहमत भै सक्ने हुनाले आफुहरुले गर्ने काउन्सीलिङ खासै प्रभावकारी नहुने भट्ट बताउनु हुन्छ ।
पौरखी नेपालको तथ्याङ्क अनुसार दोलखा जिल्लाबाट सन् २०१६ को मे देखि २०१७ को अगस्टसम्म (१६ महिनाको अवधिमा) १ हजार ७ सय ७९ जना महिला र १ हजार ३ सय पुरुषले राहदानि बनाएका छन् । बैदेशीक रोजगारीमा जाने महिलाहरुले जानकारीको अभावमा समस्या भोग्न नपरोस भनेर पौरखी नेपालले ग्रामणि तहमा समूह बनाएर चेतना मुलक कार्यक्रम गर्दै आएको र जिल्ला प्रशासन कार्यालयमा परामर्श कक्ष स्थापना गरेर काउन्सीलिङ समेत गर्दै आएको पौरखी नेपाल दोलखाको संयोजक प्रदीप कार्कीले बताउनु भयो । त्यसको साथै दुई महिनाको अवधिमा बैदेशी रोजगारीमा जान लागेका २ सय १२ जना महिलाहरुलाई पूर्व निर्णय तालिम समेत दिईएको जिल्ला संयोजक कार्कीले जानकारी दिनु भयो ।