भूकम्प पछिको बारपाकमा घर हेरेर धनी गरिब छुट्टिन्छन्



सन्तोष अधिकारी, गोरखा । गोरखा भूकम्पको केन्द्र विन्दु बारपाकमा अहिले पुननिर्माणको काम चलिरहेको छ । सोहि क्रममा आइतबहादुर घले भुकम्पले घर ध्वस्त पारेपछि अहिले नयाँ घर बनाउने चाँजोपाँजो मिलाउँदै छन् । काममा उनलाई स्थानीय युवाहरुले पनि सघाइरहेका छन् । उनलाई २०७२ बैशाख १२ गतेको भुकम्पले जे गरे पनि अब नयाँ बारपाकमा पुरानै सुन्दर बारपाकको बस्ती बसाउने धोको छ । बारपाकको पुरानै सुन्दरता फर्काउने धोको पुरा गर्न भने समस्या उनी आफैँ देख्न थालेका छन् ।

भूकम्प पछिको बारपाक

‘जे हुनु भैहाल्यो’ उनले भने ‘अब हाम्रो पुरानो बारपाकलाई फर्काउने धोको छ । धेरै घरहरु बने । पुरानै काठले, ढुंगाले छाएको जसरी नबनाएपनि सबै एकैनाशको घर बनाउन पाए हुने हो । अहिलेका घरहरु फरक फरक बने । पहिले कुन बारपाकी धनी कुन बारपाकी गरिब भन्ने थाहा हुँदैन थियो । अहिले घर हेरेरै को धनी को गरिब छुट्टाउन सकिन्छ ।’ यो धोको आफ्नो मात्र नभएको उनले स्पष्ट पारे । ‘सबैसंग सोध्नुस् सबैजना यही ठाउँमा पुरानै शैलीको बस्ती बसाउन चाहन्छन् ।’ संगै काम गरिरहेका हरिबहादुर घले र मेतबहादुर घलेले पनि कच्चीको ठाउँमा पक्की तर घरको बनावट पुरानै बनाउने सबैको रहर भएको बताए ।
भत्केको घर ब्युँताउने प्रयास गरिरहेका मेतबहादुर घलेले पनि गाउँलाई नयाँ शैली र नयाँ रुपमा हेर्न चाहेका छैनन् । ‘हामी आफ्नो घरलाई कसरी पुरानै शैलीको बनाउन सक्छौं भन्ने सोचिरहेका छौं’ उनले भने । अहिले बारपाकमा रंगिविरंगी जस्तापाताले छाएका घरहरु मात्र देखिन्छ ।
करिब १५ सय घरधुरी रहेको बारपाकमा ४० प्रतिशत भन्दा धेरै घरहरु पुननिर्माण भइसकेका छन् । अहिले निर्माण भइसकेकाघरहरु हरेक घर फरक प्रकृतिका छन् । कोही घर पक्की ढलान गरेर निर्माण भएको छ त कोही ढुंगा माटोको । ब्यक्तिले चाहेर मात्र नहुने भन्दै उनले पर्यटकीय गाउँ भएका कारण यसलाई सरकारले नै विशेष नीति बनाएर बारपाकको पुननिर्माण गराउनु पर्ने बताए । अहिले सरकारले निति ढिलो ल्याइदिनाले बारपाकमा एकिकृत बस्ती बसाल्न र एकै प्रकृतीको घर बनाउन सकिने स्थिती छैन । ‘ब्यक्तिले चाहेर मात्र हुदैन । सरकारले नै चाहनु पर्छ’ उनले भने ‘पर्यटकीय गाउँको रुपमा बारपाक एउटा देशभरि नै परिचित गाउँ हो । त्यसैले यसलाई पुरानै अबस्थामा ल्याउन सरकारले पहल गर्नुपर्छ । इञ्जिनियर पठाएर कुन ठाउँमा फेरि घर बनाएर बस्न योग्य छ वा छैन भनेर चेकजाँच गराउनु पर्छ । अझै समय छ जस्तो मलाई लाग्छ ।’

भूकम्प पहिलेको बारपाक

‘सबैको घर गल्र्यामगुर्लुम ढल्यो’ अर्का बारपाकी धिरेन्द्र गुरुङ भन्छन् ‘पहिलेकै जस्तो राम्रो बारपाक बनाउन सरकारले प्राबिधिक पठाएर नाप्नु पर्छ ।’ गाउँलाई पुरानै स्वरुपमा फर्काउनु पर्ने तर नयाँ घर बनाउन स्थानीय स्तरमा काठको अभाव भएकाले यसको पनि बैकल्पिक ब्यबस्था गर्नुपर्ने अर्का स्थानीय धनिराम घले बताउँछन् । ‘हामीलाई हाम्रो ठाउँ, हाम्रो भाषा, संस्कृति, हाम्रो रहनसहन र बस्ती प्राण जत्तिकै प्यारो छ’ उनी भन्छन् ‘त्यसैले हामी बारपाकीलाई पहिलेको जस्तै बनाउन सरकाले पहल गरिदिनु पर्छ । चाहिने सहयोग सरकारले जुटाइदिनु पर्छ ।’
बैशाख १२ गतेको महाभुकम्पको केन्द्रविन्दू रहेको बारपाकमा भुकम्पको पहिलो धक्काले एकै ठाउँमा रहेको करिब १२०० र बिभिन्न वडाका अन्य बस्तीका गरी १४७२ घरधुरी गल्र्यामगुर्लुम बनायो । ढुंगा बिछ्याइएको आँगन तथा बाटाहरु, ढुंगाको सुख्खा गारो लगाइएको घरहरु यहाँको मौलिक पहिचान हो । बिनाशकारी भुकम्पका कारण सबै तहसनहस भएपनि स्थानीयहरु भने पक्की तर पुरानै शैलीको बारपाक ब्युँताउने धोको पालिरहेका छन् । सरकारले अहिले बारपाकमा भूकम्प स्मृती पार्क निर्माण गर्न भने जग्गा नापजाँच गरी नक्सा समेत तयार गरिसकेको छ । त्यस्तै सोही बारपाकका करिब ३० घर दलित परिवार अहिले आफ्नो जग्गामा बस्न सकेका छैनन् । भूकम्प पछि पुरानो ठाउँमा घर बनाउन मिल्ने अबस्था छैन । उनीहरु सरकारी जग्गा र जग्गा भाडा लिएर साँडे दुई वर्ष देखि टहरोमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्