कोटगाँउमा खानेपानी र सिंचाई पुगेपछि स्थानीयमा खुसीयाली

0
Shares

धनवीर दाहाल, रुकुम । बाँफिकोट गाँउपालिका ४ कोटगाँउकी सरिता बि.क एक हप्ता अघि मात्र पानी बोक्न आफ्नो घरबाट ज्यार्म भन्ने ठाँउमा ओरालो झर्थिन । जाँदा ओरालो र पानी बोक्दा उकालो चड्नुपर्ने उनी मात्र होइन कोट गाँउका बासिन्दाको पिडा थियो । जान बित्तिकै पानी पाइने त कुरै छोडौं कति घण्टा कुर्नु पर्ने कुनै ठेगान थिएन । सरिता त एउटा प्रतिनिधि पात्र हुन ।

पश्चिम रुकुमको बाँफिकोट गाँउपालिका ४ साविकको बाँफिकोट गाबिस वडा नं १ कोट, नेटापोखरा,तलिगाँउ लगाएतका करिव दुईसय पचास घरधुरीले सिंचाई त कहाँ हो कहाँ खानेपानीको चरम समस्या व्यहोर्दै आएका थिए । तर धेरै प्रयास पछि सिंचाई र खानेपानी संचालनमा आएपछि स्थानीयमा खुसीको सिमा छैन । खानेपानी संचालनमा आएसंगै पानीका लागि हरेक दिन बिहान–बेलुका घण्टौं सम्म पालो कुर्नुपर्ने समस्या अन्त्य भएको छ । एकाएक घर आँगनमै सिंचाई र खानेपानी पुगेपछि हाल बाँफिकोटबासी खुसाी भएका हुन् । बषौंपछिको लामो कसरतमा करिब २ सय ५० भन्दा बढी घरधुरीलाई धान्ने गरी बाँफिकोट डाँडामा सिंचाई र खानेपानी पुगेसंगै यहाँका स्थानीय दंग परेका छन् ।

घर आँगनमै सिंचाई र खानेपानी पुग्दा बाँफिकोटबासीले विगतमा भोग्दै आईरहेको समस्या अन्त्य भएको छ । यसअघि बिहान–बेलुकामात्र एक घण्टा आउने गरेको पानी भर्नकै लागि घण्टौं सम्म पालो कुनुपर्ने अवस्था थियो । तर आजभोली भने २४सै घण्टा प्रयाप्त मात्रामा सबैलाई पुग्ने गरी घर आँगनमै पानी आउँदा स्थानीयबासी र यहाँका कार्यालयलाई समेत सजिलो भएको वडा नं ४ का वडा सचिव ज्ञानबहादुर खड्काले बताए । उनले भने “बाँफिकोटको खानेपानीको समस्या अव समाधान भएको छ ।”

साढे ५ करोड लागतमा काला खोला दोमई सिंचाई जल उपभोक्ता संस्थाले गत कार्तिकबाट काम सुरु गरेर बाँफिकोट डाँडामा केहीदिन अघि मात्र पानी पु¥याएको हो । खानेपानीको हाहाकार मानिएको सोे गाँउमा साढे ६ किलोमिटर दुरी टाढाको मुहानबाट सिंचाईका लागि समेत पुग्ने गरी पानी पुर्याइएको समितीका अध्यक्ष बिनोद शाहले बताए । उनले करिव ६ बर्ष पहिलादेखीको प्रयास र गत कार्तिक देखीको कामले पानी पिउन र अव सिंचाई गर्न पाइएको बताए ।

वर्षौंदेखी नै खानेपानीको चरम अभाव झेलिरहेका बाँफिकोटबासीको घर आँगनमा प्रयाप्त मात्रामा सिंचाई गर्ने र खानेपानी पुगेपछि निकै खुशी छाएको छ । बाँफिकोटको कोटमा कहिले पानी पुग्ला भनेर कल्पना समेत नगरिएको अवस्थामा पानी पुर्याइएको छ । दुई बर्ष अघि स्यार्पुतालको पानी लिप्टबाट ल्याउन सकिन्छ कि भन्ने पनि बहस चलेको अध्यक्ष शाहले बताए । तर सिंचाई कार्यालय रुकुमको सक्रियताले सिंचाईको साथै खानेपानी समेत ल्याउन सफल भएको उनको भनाई छ । पानीको मुहान भएको ठाँउमा कुनै मानव बस्ती नभएकोले पानी अत्यन्तै शुद्ध भएको पनि शाहले बताए ।