सामुदायिक बन जोगाउन गाउँपालिकाले निगरानी बढाउने

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
सामुदायिक बन संरक्षण गरी जडीबुटी, अल्लो, बनजन्य कच्चापदार्थ उत्पादन बढाउन जलजला गाउँपालिकाले ध्यान दिने भएको छ । गाउँपालिकास्तरीय बन समन्वय समिति गठन गरी गाउँपालिकाले बनजङ्गलको संरक्षण तथा बिस्तार, जडीबुटी संरक्षण तथा निकासी गर्ने र विभिन्न सामान उत्पादन हुने बनजन्य कच्चापदार्थको उत्पादन बढाएर रोजगारी सिर्जना गराउने भएको हो ।

जलजला गाउँपालिकाका सामुदायिक बनमा कपडा बनाउने अल्लो, सुगन्धित तेल उत्पादन गर्ने चर्चरे, सत्तुवालगायतका विभिन्न जडीबुटीको पकेट क्षेत्र पनि हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले जलजला गाउँपालिकाका सामुदायिक बन जडीबुटी लगायतको हिसाबले महत्वपूर्ण भएकोले संरक्षण, बिस्तारमा ध्यान दिन लागिएको जानकारी दिए ।

लेखफाँट गाउँ बन समन्वय समितिको साधारणसभामा मल्लले बहुमुल्य जडीबुटी, विभिन्न सामान उत्पादन गर्ने कच्चापदार्थलाई बढी भन्दा बढी उत्पादन हुने गरी काम गर्नुपर्ने बताए । ‘बनजन्य बस्तुको उत्पादनले रोजगारीका धेरै अवसर सिर्जना गराउनेछन्’ उनले भने–‘गाउँपालिकाले यस्ता बिषयमा ध्यान दिन्छ ।’

जलजला गाउँपालिकाको शालिजा, लेखफाँट, बनौ लगायतका ठाउँमा बनजन्यबस्तु संकलन गरेर त्यहाका महिलाले विभिन्न कपडा बुन्दै आएका छन् । त्यहाँका दुई दर्जनबढी महिलाले प्रत्यक्षरुपमा स्वरोजगार बनेका छन् । यी बनमा विशेषगरी अल्लो (चाल्ने सिस्नो) ल्याएर त्यसलाई प्रशोधन गरेर कपडा उत्पादन गर्दै आएका छन् । सामुदायिक बनको बनजन्यबस्तुले स्थानिय महिलालाई आत्मनिर्भर गराएकोले यी बनको संरक्षण र विस्तार गर्नु अनिवार्य भएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।

‘बन संरक्षण, बिस्तार र बनजन्यबस्तुको प्रयोगले स्वरोजगार सिर्जना गराउन गाउँपालिकाले आवश्यक बजेट बिनियोजन गर्नेछ’ उनले भने । मल्लले लेखफाँट गाउँ बा समन्वय समितिलाई गाउँपालिकास्तरीय बनाएर काम गर्न तत्कालका लागि दुई लाख रुपैया प्रदान गर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष सीमा पुन, वडा अध्यक्ष भिष्म मल्ल, देबेन्द्रबहादुर भण्डारी, गोबिन्द खत्री, गौबहादुर पुन, टुंगनाथ आचार्य, तिलक जिसीले सामुदायिक बनको संरक्षण र त्यसबाट गाउँपालिकाले उत्पादन, रोजगारी र आम्दानी लिन सक्नुपर्ने बताए ।
१४ वटा सामुदायिक बन उपभोक्ता समुह रहेको समन्वय समितिको अध्यक्षमा लालबहादुर पौडेल चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा टिकानाथ सुवेदी, उपाध्यक्षमा फुलकुमारी सुवेदी, महासचिवमा यामप्रसाद शर्मा, सचिवमा भगवान आचार्य, गोबिन्द पौडेल, कोषाध्यक्षमा चक्रबहादुर केसी चयन भएका छन् ।