सम्पर्क विस्तारबारे छलफल

0
Shares

 

काठमाडौँ, २३ भदौ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज बिहान चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरर्राष्ट्रिय विभागका मन्त्री सङ ताओसँग भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा उहाँहरुबीच दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई विस्तार गर्नेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजै उपप्रधानमन्त्री महराले बेइजिङ विश्वविद्यालयको वैदेशिक मामिला प्रतिष्ठानले आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धका लागि हिमालयपार विकास’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल र चीनबीचको सम्बन्ध सभ्यता प्रारम्भ भएदेखि नै सुमधुर रहेको बताउनुभयो ।

चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’को अवधारणा नेपालको अर्थतन्त्रलाई उकास्न तथा पुनर्जीवन दिन सहयोगी हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

यसैगरी शनिबार अपराह्न उपप्रधानमन्त्री महराले ग्वाङ्जाओमा स्थापना भएको नेपालको महावाणिज्य दूतावासको एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस