शाक्यका सय दिन गफमै सीमित



 

ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको सय दिनमा १ सय १ काम गफमा मात्रै सीमित भएको छ। चुनावी नारा लिएर कामपामा १ सय १ काम घोषणा गर्नुभएको उहाँले केवल एकाध काम मात्रै गरेर देखाउनुभयो।

उहाँले ८८ वर्ष पुगेका ४ सय ८९ जेष्ठ नागरिकलाई घरमै वृद्ध भत्ता वितरण गरेर उहाँहरूको स्वाथ्य परीक्षण गर्ने काम गर्नुभएको छ। पूर्ण अपाङ्गता भएका व्यक्तिलाई ३ हजार उपलब्ब्ध गराउने काम गरे पनि उहाँको मुखैमा झुन्डिएको क्लिन द सिटी अभियान भने ज्यूँका त्यूँ नै छ। भूकम्पले ध्वस्त भएको काष्ठमण्डप, धरहरा र रानीपोखरी पुनर्निर्माण कार्यक्रम हालसम्म कुनै प्रगति हुन सकेको छैन।

ट्राफिक लाइट मर्मत गरी सुचारु गर्ने, ‘हेलो मेयर क्विक रेस्पोन्स’ कार्यक्रम सञ्चालन गर्ने, एक महिनाभित्र घर निर्माण प्रमाणपत्र प्रदान गर्ने, धुवाँ, धूलो र हिलोमुक्त महानगर, महानगर क्षेत्रभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्र स्वयम्भू, पशुपति, बौद्ध, वसन्तपुरलगायतका क्षेत्रमा द्रुत गतिको फ्रि वाइफाइ, बाटो विस्तार र खाल्डाखुल्डी पुर्ने, अनलाइन रोजगारी, जन्मदेखि मृत्युसम्मका लागि चाहिने सामग्रीसहितको मिनी असन बजार, टइक्स पेयर सुविधाका लागि बचत स्मार्ट कार्ड, ‘सही समय सही ठाउँ, नौ ट्राफिक जाम’, हाल पेन्डिङमा रहेको मुद्दालाई सय दिनभित्र टुङ्ग्याउने, ‘भोकरहित जनता शोकरहित महानगर’का लागि सुपथ मूल्यको मेयर्स फुड पार्लर खोल्ने, राष्ट्रिय सभागृहमा सार्वजनिक सुनुवाइ गर्ने, भेइकल फ्रि जोन घोषणा गर्ने, कार पार्किङ मल निर्माण गर्नेलगायतका दर्जनौं योजना सार्वजनिक गर्नुभएका मेयर शाक्यले करिब आधा दर्जन मात्र योजना पूरा गर्नुभएको छ।

चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न नसकेका मेयरले सय दिन पूरा भएको अवसरमा राजधानीमा एक कार्यक्रम आयोजना गरी सबै काम पूरा गर्न नसकिने जनाउनुभयो। हामीले प्रतिबद्धता जनाएका थियौं तर पूरा गर्न सकेनौं उहाँले भन्नुभयो।

उहाँले सय दिनभित्र ८६ वटा योजना कार्यान्वयनको क्रममा रहेको दाबी गर्नुभयो। उहाँले काठमाडौंलाई स्मार्ट सिटी बनाएरै छाड्ने दाबी भने छोड्नुभएन। स्मार्ट सर्भिस डेलिभरी, स्मार्ट पार्किङ, स्मार्ट इन्भायरोमेन्टलगायतका काम गरेमात्रै कामपा स्मार्ट सिटी बन्नेछ भन्दै हाल धर्मपथ र टेकुमा रहेको आफ्नो जमिनमा डिजिटल कार पार्किङ एन्ड भर्टिकल कार पार्किङ निर्माण प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो।
उपमेयर हरिप्रभा खड्गी र सबै वडाका जनप्रतिनिधिको समेत उपस्थितिमा आयोजना गर्नुभएको कार्यक्रममा उहाँले आफू र उपप्रमुखबीच कुनै मनमुटाव नरहेको स्पष्ट पार्नुभयो। ‘छलफलको क्रममा केही विमति भए होलान्, तर कुनै किसिमको झगडा भएको छैन, हुँदैन पनि।’ –उहाँले भन्नुभयो।

उहाँले हालसम्म महानगरका सम्पूर्ण वडा कार्यालयलाई भ्रष्टाचार मुक्त र पारदर्शी बनाउन वडा कार्यालयमा हेल्पडेक्स स्थापना गर्ने र सीसीटीभी जडान गर्ने काम अघि बढाइएको जानकारी दिनुभयो।

उहाँले सबै सरोकारवालाको सहयोग नभएसम्म कुनै पनि काम गर्न नसकिने जनाउँदै सबै निकायसँगको सहयोगमा विकास निर्माणका काम भइरहेको बताउनुभयो।

उहाँले भूकम्प प्रभावित लाभग्राहीको संख्या ७ हजार १ सय ७१ मध्ये ५ हजार ५ सयसँग सम्झौता गरी ५ हजार ३ सय ३१ ले पहिलो किस्ता र १ सय ७६ परिवारले दोस्रो किस्ताको रकम प्राप्त गरिसकेको, १४ वटा नयाँ उद्यान निर्माण गरिसकेको, ८४ स्थानमा ढल र १ हजार ५ सय ७ स्थानमा मंगाल निर्माण सम्पन्न गरिसकेको, १ हजार ८ सय ३ वटा वृक्षरोपण गरिएको, उज्यालो अभियानअन्तर्गत ३२ वटै वडा क्षेत्रमा सोलार जडान गर्ने अभियानअन्तर्गत १ हजार ७ सय ७६ स्थानमा जडान गरिसकेको जानकारी गराउनुभयो।

उहाले तत्काल मोनो रेल, मेट्रो रेल र सिटी केवलकार सञ्चालनमा आउनुपूर्व सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न ५ करोड रुपियाँ लगानी गरी थप २० वटा नयाँ बस ल्याउन लागिएको बताउनुभयो। पत्रकारले सोधेको जवाफ दिँदै मेयर शाक्यले आफूले सार्वजनिक गरेको सबै प्रतिबद्धता चाँडै पूरा हुने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्