शून्य सहनशिलताका लागि सोसाइटीको अपिल



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल मिडिया सोसाइटीले भ्रष्टाचारप्रति शून्य सहनशिलताका लागि अपिल गरेको छ । बुधबार राजधानीमा सोसाइटीले पत्रकार सम्मेलन गर्दै सो अपिल गरेको हो ।
नेपालमा गणतन्त्र स्थापनाको एक दशक बितिसक्दापनि भ्रष्टाचारले नेपाली समाजलाई आक्रान्त पार्न नछोडेकोले सरोकारवाला निकाय, नागरिक समाज, मिडिया हाउस, नागरिक सबैलाई अपिल गरिएको सोसाइटीका महासचिव शुभशंकर कँडेलले बताउनुभयो ।
‘भ्रष्टाचारका कारण नेपाली समाजमा पुरै वितृष्णा फैलिसकेको छ । शासकले पनि मिडियाले कुरा उठाए नि टेर्न छाडिसके ।’ सोसाइटीका महासचिव कँडेलले भन्नुभयो–‘अब सबैलाई भ्रष्टाचार विरुद्ध लड्न अपिल गरेका छौं । हामी मिडिया पनि भ्रष्टाचारप्रति शून्य सहनशिलताका लागि एक ढिक्का भएका छौँ ।’
सोसाइटीले बुधबारै एक वक्तव्य जारी गर्दै जुनसुकै परिवर्तन पश्चात पनि मिडिया जनताको पक्षमा र बेथिति, विकृति र भ्रष्टाचार र अनियमिततालाई उदाङ्गो पारेर देशलाई अघि बढाउन मिडिया रहिरहने प्रष्ट पारेको छ ।
अर्बौँको एनसेल कर मिनाहा प्रकरण, कर फस्र्याेटका नाममा कर छलीका लागि भएको घिनलाग्दो खेलमा संलग्न राजनीतिक दलका नेताहरु, उच्च पदस्थ कर्मचारीहरु मन्त्रिपरिषदका सदस्यहरु संलग्न देखिनु दुखद भएको सोसाईटीले जनाएको छ ।
यी घटना र यस्ता नीतिगत र संस्थागत भ्रष्टाचारका अनेक विषय नेपाली मिडियाले प्रस्तुत गरेर सरकार र प्रमुख राजनीतिक दलहरुलाई कानुनी कारबाही र भ्रष्ट्राचार निरुत्साहन गर्न गरिएका आग्रहलाई पूर्वाग्रहको रुपमा लिएर मिडियामाथि नै अनेकौँ कोणबाट दबाव दिने, धाकधम्की देखाएर मिडियाको स्वतन्त्रतालाई कुण्ठित गर्ने दुस्प्रयास जारी रहेको पनि सोसाइटीले जारी गरेको बक्तब्यमा उल्लेख छ ।
यस्ता सबै खालका क्रियाकलाप तत्काल बन्द गर्न र नेपाली मिडियाले भ्रष्टाचार र अनियमितताका श्रृंखलाका बारेमा प्रमस्तुत गरेका तथ्यका आधारमा समेत भ्रष्टाचारी र बिचौलियाहरुलाई कारबाही प्रक्रिया अघि बढाउन सरकार र प्रमुख राजनीतिक दलहरुलाई सोसाइटीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्