भूकम्पपछिको सिन्धुपाल्चोक कला प्रदर्शनीमा

0
Shares

 

गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट निकै क्षति ब्योहोरेको सिन्धुपाल्चोकको सिपापोखरेलाई २० जना कलाकार, कवि, मानवशास्त्री तथा कला अभियन्ताले र फरक–फरक ढंगबाट बुझेका र हेरेका छन्। उनीहरूको हेराइ र बुझाइलाई बखुन्डोलको लसना नेक्सस कल्चर सेन्टरमा प्रदर्शनी गरिएको छ।

गत भदौ ६ गतेबाट शुरू भई सोमबार सम्पन्न कला प्रदर्शनीमा फोटोग्राफर अभिषेक शाहले सो स्थानको दैनिक जीवनलाई कलात्मक रूपमा फोटोमा कैद गरेका थिए भने अस्मिना रञ्जित र श्रवण महर्जनको प्रतिस्थापन कलाले सो स्थानको कष्ट र मानिसको उत्तरदायित्वलाई प्रस्ट्इयो। यज्जु मानन्धरले प्रतिस्थापन कलाबाट सो स्थानको ध्वनिलाई प्रस्तुत गरे भने कुन्जन तामाङले पानी र ध्वनिको मिश्रित रूप कलामा प्रस्तुत गरे। केशवराज खनालको दृश्यचित्र र डिजिटल फोटो म्यानुपुलेसनले सो स्थानको बदलिएको स्वरूपलाई उजागर गरेको थियो।

यसै गरी सहभागीहरूले आफ्ना भोगाइ र बुझाइलाई पुस्तकका रूपमा पनि प्रकाशन गरेका छन्। ४ जनाको समूहले सोही स्थानको कथालाई सुन्दर बाल पुस्तकका रूपमा प्रस्तुत गरेका छन् भने सबै कलाकारको कलाकृति समेटेर कलाकृति संगालो पुस्तिका पनि प्रकाशन गरिएको छ। सो पुस्तिका स्लिक स्क्रिनमा बनाइएकाले अकलाका रूपमा रहेको र यसको बिक्रीबाट आउने रकम सिपापोखरेका बालबालिकाको शिक्षा र कला अभियानमै खर्च गरिने आयोजक अस्मिना रञ्जितले जानकारी गराइन्।

४ महिनाअघि शुरू भएको रिबिल्डिङ रिक्याप्चर कार्यशालाको अन्तिम रूप यो प्रदर्शनीमा देखियो। बंगलादेश, भारत, नेपाल र नेदरल्यान्डका २० जना कलाकारले तयार पारेका कलामा आर्थिक र भौतिक रूपले विक्षिप्त बनेको सिपापोखरेलाई कलात्मक रूपले पुनर्निर्माण गर्ने आकांक्षा राखेको छ।