प्रदेश नम्बर २ को स्थानीय निर्वाचन, पहिलो शक्ति बन्ने दौड



 

मधुसूदन रायमाझी, काठमाडौं
आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिएका छन्। निर्वाचनका लागि राजनीतिक दलले अभियान नै सञ्चालन गरेका छन्। स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले दुई नम्बर प्रदेशमा पहिलो शक्ति बन्ने दाबी गरेका छन्।

सत्तारूढ दल कांग्रेसले यसअघि ६ वटा प्रदेशमा भएको निर्वाचनमा अपेक्षाकृत रूपमा परिणाम ल्याउन नसके पनि असोज २ गते हुने स्थानीय तहको निर्वाचनमार्फत पहिलो शक्ति बन्ने दाबी गरेको छ। प्रमुख प्रतिपक्ष दलले अहिलेको अग्रता कायमै राख्दै असोज २ गतेको निर्वाचनपछि पहिलो स्थान कायमै राख्ने योजना बनाएको छ। सत्तारूढ दल माओवादी केन्द्रले पनि २ नम्बर प्रदेशमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबीसहित पार्टीको केन्द्रीय कार्यालयको बैठक नै दुई नम्बर प्रदेशमा स्थापना गरेको छ। यसअघिको स्थानीय तहको निर्वाचनमा भाग नलिएको राजपा पनि निर्वाचनमा पहिलो शक्ति हुने दौडमा रहेको छ।

असोज २ गते तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचमा ८ जिल्लाअन्तरगत १ सय २७ स्थानीय तहमा निर्वाचन हुँदै छ। यसअघि वैशाख ३१ र असार १४ गते गरी ६ वटा प्रदेशअन्तरगत पहिलो चरणमा २ सय ८३ र दोस्रो चरणमा ३ सय ३४ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ।

निर्वाचनका लागि राजनीतिक दलले आफ्नो पक्षमा भोट तान्ने अभियान शुरू गरिसकेका छन्। राजपा पनि स्थानीय तहको निर्वाचनबाट प्रदेश नम्बर २ मा पहिलो शक्तिका रूपमा स्थापित हुने रणनीतिमा लागेको छ। पार्टीका शीर्ष नेताहरू सबै निर्वाचनमा खटिएका छन्। निर्वाचनमा पहिलो शक्ति हुने दाबीसहित पार्टीभित्र टिकट लिने पनि हानाथाप शुरू भएको छ।

राजनीतिक दलले मुख्य गरी दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा संसद्बाट फेल भएको संविधान संशोधन विधेयकलाई नै एजेन्डा बनाउने देखिएको छ। सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र र राजपा संविधान संशोधन विधेयक फेल हुनुको मुख्य दोषी प्रमुख प्रतिपक्ष दल एमालेलाई देखाउँदै आफ्नो पक्षमा भोट तान्ने तयारीमा छन् भने एमालेले संविधान संशोधन विधेयक फेल गराएर राष्ट्रियतलाई बलियो बनाएको एजेन्डा बनाउने भएको छ।

राजनीतिक दलका शीर्ष नेताहरू चुनाव केन्द्रित अभियानमा जुटेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता २ नम्बर प्रदेशको निर्वाचनको अभियानमा सहभागी भएर काठमाडौं फर्किनुभएको छ। माओवादीले सिंगो पार्टी कमिटीलाई २ नम्बरमा केन्द्रित गरेको छ। प्रचण्डका प्रेस संयोजक मनहरि तिम्सिनाका अनुसार केही दिनमा नै पुनः दुई नम्बर प्रदेशको निर्वाचनको क्रममा हुने कार्यक्रममा प्रचण्ड सहभागी हुनुहुनेछ। माओवादीका शीर्ष नेताहरू सबै चुनावी अभियानमा जुटेका छन्।

सत्तारूढ दल कांग्रेसले पनि दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बन्ने दाबीसहित चुनावी अभियानलाई तीव्र पारेको छ। पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी अभियानमा जाने कार्यक्रम तयार भइरहेको सचिवालयले बताएको छ।
प्रमुख प्रतिपक्ष दल एमालेले पनि पार्टी संगठनलाई दुई नम्बर प्रदेशमा केन्द्रित हुन निर्देशन दिँदै चुनावी अभियानलाई तीव्रता दिएको छ। भदौ ३० गते बर्दिवासमा हुने चुनावीसभामा सहभागी हुने कार्यक्रम तय भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव अनिश दाहालले बताउनुभयो।

राजपाका शीर्ष नेताहरू पनि पहिलो शक्ति हुने दाबीसहित चुनावी दौडमा लागेका छन्। राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सिंगो पार्टी निर्वाचनमा होमिएको बताउनुभयो।

२ नम्बर प्रदेशका ८ जिल्लामा २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेका छन्। एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह रहेको छ।

प्रतिक्रिया दिनुहोस्