अहिलेसम्मकै ठूलो परिमाणको सुन बरामद, नेपाल सुन तस्करीको अन्तर्राष्ट्रिय ट्रान्जिट बन्दै



 

ईश्वरराज ढकाल, काठमाडौं
प्रहरीले राजधानीबाट ८८ किलो सुन बरामद गरेको छ। बरामद भएको अवैध सुन तस्करीमा चिनियाँ नागरिकको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ।

तीन दिनदेखि सुराकीमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार बिहान २ बजे क्षेत्रपाटीमा पार्किङ गरिरहेको एक सवारीसाधनबाट उक्त परिमाण सुन बरामद गरेको हो।

प्रहरीले गाडीमा सुन रहेको आशंकामा राति ९ बजेदेखि नै उक्त गाडीलाई निगरानी गरिरहेको थियो। बिहान गाडी स्टार्ट गर्नासाथ प्रहरीले चालकलाई सुनसहित पक्राउ गरेको थियो।

केरुङ नाकाबाट ठूलो परिणाममा सुन आउँदै गरेको सुराकीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्रप्र्रसाद उप्रेतीको नेतृत्वमा खटिएको टोलीले उक्त सुन बरामद गरेको हो। बा१७च ६४२७ नम्बरको टाटा स्ट्रोमको विभिन्न पार्टपूर्जामा लुकाइराखेको अवस्थामा सो सवारीसाधनका मकवानपुरका चालक मनोज अधिकारीलाई सुनसहित पक्राउ गरेको हो।

चालक अधिकारी सुन तस्करसँग संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ। गाडीमा सुनौलो रङको भीआईपीको लोगो राखेर उक्त सुन काठमाडौं ल्याइएको थियो। उक्त सुन गाडीको चक्का, सिट, साइडलाइट, डिक्कीलगायतका स्थानमा लुकाइएको थियो।

गाडी चालक अधिकारीले सुन कहाँबाट कसरी राजधानी भित्रिएको हो भन्ने विषयमा केही पनि जानकारी दिएका छैनन्। ‘उनी भरियामात्रै नभई संलग्न नै देखिएको छ।’ –महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भन्नुभयो।

पछिल्लो करिब एक महिनादेखि सो नाकाबाट अवैध सुन राजधानी भित्रिने गरेको प्रहरीको अनुमान छ। चीनको केरुङ नाकाबाट नेपालमा सुन भित्त्याएर भारत लैजाने गरेको प्रहरीको अनुमान छ। चिनियाँ व्यापारीले नेपालमा ल्याएको सुन नेपाली व्यापारीलाई नै बेच्ने गरेको प्रहरीको आशंका छ।

प्रहरीले सुन बरामद गरेलगत्तै अनुसन्धान शुरू गरेको छ। नेपाललाई ट्रान्जिट बनाई भारतलगायतका मुलुकमा सुन तस्करी बढ्न थालेको आशंका गर्दै प्रहरीले अनुसन्धान शुरू गरेको छ।

महाशाखाका प्रमुख लोहनीले सोमबार बरामद गरिएको सुन चाइनिज व्यापारीले ल्याएको हुनसक्ने जानकारी दिनुभयो। बरामद भएको सुनको बजारमूल्य करिब ४३ करोड रुपियाँ रहेको छ। नेपालमा यति धेरै परिमाणमा सुन बरामद गरिएको यो पहिलो घटना हो।

यसअघि गत पुसमा दुबईबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३४ किलो सुन बरामद गरिएको थियो। प्रहरीले ५ दिनअघि राजधानीबाटै १५ किलो र साउन २८ गते ८ किलो सुन बरामद गरिसकेको छ। प्रहरीले अवैध सुन कुनै व्यापारीको हुनसक्ने आशंका गरेको छ।

एसएसपी लोहनीले संगठित गिरोहले सुन भित्त्याएको जानकारी गराउँदै संगठित अपराधअन्तर्गत मुद्दा दायर हुने बताउनुभयो। घटनामा कसको संलग्नता रहेको छ भन्ने विषयमा छानबिन भइरहेको जानकारी दिनुभयो।

‘हामी प्रारम्भिक अनुसन्धानमा नै छौं, सबै विवरण आएको छैन।’ उहाँले संगठित अपराधीहरू संलग्न रहेको जानकारी दिनुभयो। महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले घटनामा संलग्न रहेको आशंकामा केही संलग्न रहेको व्यक्तिलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो।

बरामद गरिएको सुन एक किलोको साना बिस्कुट आकारमा प्लास्टिकले ¥याप गरिएको थियो। चीन–तिब्बत हुँदै नेपालको रसुवाको केरुङ नाका तथा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अवैध तरिकाले सुन भित्त्याई नेपालका विभिन्न स्थान तथा भारतमासमेत लगी बिक्री–वितरण गर्ने कार्यमा सक्रिय भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआइजी पुष्कर कार्कीले सानो आकारको सुन लुकाउन सजिलो हुने भएकाले तस्करी बढेको बताउँदै भन्नुभयो– ‘सुन तस्करी हुन थालेको छ, गम्भीररूपमा अध्ययन गरी जरैसम्म पत्ता लगाउने प्रयास गरिरहेका छौं।’

उहाँले कहाँसम्म ‘कनेक्सन’ रहेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो। प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले सुन तस्करको घटना बढेको नभई प्रहरी सक्रियता बढेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘तस्करलाई पक्राउ गर्न प्रहरीले सक्रियता देखाउन थालेको छ, हामी विभिन्न नाकाबाट सुन भित्त्याउनेलाई पक्राउ गर्नेछौं।’ उहाँले राजधानीबाट लगातार सुन बरामद भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो। प्रहरीका अनुसार २०६९⁄०७० मा ८३ किलो, २०७०⁄७१ मा ८९ किलो, २०७१⁄०७२ मा १ सय ११ किलो, २०७२⁄०७३ मा ६८ किलो, २०७३⁄०७४ मा ९१ गरी ४ सय ४२ किलो सुन बरामद गरिएको छ।

सुरक्षा निकायकै स्कर्टिङमा ८८ किलो सुन तस्करी ?

रसुवागढी नाकामा चेक जाँच गर्दा सुन फेला नपरेको सोही गाडी राजधानीको क्षेत्रपाटीमा चेक गर्दा ८८ किलो सुन बरामद भएको थियो ।

दीपक रिजाल, काठमाडौं
नेपालको भूमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ।

तिब्बतको नाका रसुवागढीबाट नेपाल प्रवेश गरेको उक्त सुन कहीँ पनि चेकजाँच नभई काठमाडौं आइपुगेको तथ्य फेला परेको छ। राजधानीको पर्यटकीयस्थल ठमेलमा होटल सञ्चालन गर्दै आएका चिनियाँ नागरिक याङवेन विङ र पान विङ मिङले मगाएको उक्त सुन प्रहरीले सुराकीको आधारमा सोमबार क्षेत्रपाटीबाट पक्राउ गरेको थियो।

ठमेलमा रहेको होटल काठमाडौं वानका सञ्चालकद्वय चिनियाँ नागरिक वेन र पानले उक्त सुन काठमाडौं भित्त्याएको र उक्त सुन लिन भारतीय नागरिक शिवम् पटेल र रानी वर्मा ठमेलमा बसेको भए पनि उनीहरूले सुन रिसिभ गर्न नपाउँदै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो।

एक हप्ताअघि तिब्बतको केरुङमा आएको १ सय ३० किलो सुन नेपाल प्रवेश गर्न लागेको सुराकी पाएका रसुवाका एक युवकले उक्त सुन तस्करीको बारेमा अनुसन्धान शुरु गरेका थिए। तिब्बत र नेपालको सीमानाका केरुङबाट नेपाल भित्रिएको उक्त सुन बिनाचेकजाँच राजधानी आइपुगेको उनले नेपाल समाचारपत्रलाई जानकारी दिए।

रसुवागढी नाकाबाट काठमाडौं आएको बा१७च ६४२७ नम्बरको टाटा स्ट्रोम गाडी बिनाचेक राजधानी भित्रिएको थियो। रसुवागढीबाट काठमाडौं भित्रिएको उक्त गाडी १४ स्थानमा चेकजाँच गर्ने प्वाइन्ट भए पनि कहींकतै उक्त गाडी चेक भएको थिएन। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठाउँ–ठाउँमा चेकिङ प्वाइन्ट भए पनि कुनै ठाउँमा पनि उक्त गाडी चेकजाँच भएको पाइँदैन। नेपाली सेनाको लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेमा चेक प्वाइन्ट रहेको र त्यहाँ खटिएका सेनाको टोलीले कडारूपमा अन्य गाडीको चेक गर्ने गरेको भए पनि ८८ किलो सुन आएको उक्त गाडीलाई सामान्य चेकजाँच गरेर छाडेको उनले जानकारी दिए। सेनाको धुञ्चे चेकप्वाइन्टमा कडा निगरानी हुने गरेको भए पनि चेकप्वाइन्टमा खटिएका नेपाली सेनाका जाँचकीले सामान्य चेक गरेर उक्त गाडीलाई छाडेको पनि उनले जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूलाई प्रभावमा पारेर उक्त सुन काठमाडौं भित्रिएको पत्ता लागेको छ। १ सय ३० किलो सुन नेपाल भित्रँदै गरेको सुराकी पाएपछि पिछा गर्दै आएका ती युवकले भने– ‘बिनाचेकजाँच राजधानी भित्रने तयारीमा रहेको उक्त गाडीलाई सादा पोशाकमा रहेका प्रहरीले नुवाकोटको पीपलटारबाट पिछा गरेका थिए। उनीहरूले पिछा गरेको सो गाडी बिनाचेक राजधानी प्रवेश गरेको थियो। प्रहरी टोलीले आइतबार राति नै गाडी नियन्त्रणमा लिने प्रयास गरेको थियो तर उक्त गाडीमा सुन भए⁄नभएको एकिन नभएपछि आइतबार बिहानमात्रै प्रहरीले छापा मारेको थियो। गाडीमा ८८ किलो मात्रै सुन फेला परेपछि ४२ केजी सुन थियो कि थिएन भन्ने बारेमा थप शंका पैदा भएको छ।

महानगरीय अपराध महाशाखाले उक्त सुन बरामद गरेपछि महानगरीय आयुक्तको कार्यालयबीच खटपट शुरु भएको छ। आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द र महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीबीच सुनको विषयलाई लिएर कटुता शुरु भएको छ।

सोमबार महाशाखाका घुमुवा र आयुक्त कार्यालयका घुमुवाबीच सार्वजनिकस्थलमा नै सुनको सुराकीको बारेमा भनाभन भएको थियो। घुमुवाबीच भनाभन भएपछि महाशाखाका उच्च अधिकारीले घुमुवाको विवाद मिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्