लोपोन्मुख ‘खरायो’ चितवनमा भेटियो



 

दीपक रिजाल, चितवन
विश्वमा नै लोप हुने अवस्थामा पुगेको ‘हाइस्पिड हेयर’ (लघु कर्ण खरायो) चितवन राष्ट्रिय निकुञ्जमा देखा परेको छ। नेपाल, भारत र बंगलादेशमा मात्र पाइने यो खरायो सन् १९९० पछि विश्वबाटै लोप भएको आशंका गरिएको थियो। एक वर्षअघि देखा परेको यो खरायोको संख्या कति छ भनेर अहिले कुनै अनुमान लगाउन सकिने अवस्था नरहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का बताउनुहुन्छ। उहाँका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सखीभीर घाँसै मैदानमा देखा परेको खरायो प्रजातिको यो जीव अहिले पनि अस्तित्वमा रहेको प्रमाणित भएको छ।

गत साता नेपालमा सम्पन्न भएको साना स्तनधारी वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा यस विषयमा कुनै कुरा उठ्न नसक्नु दुःखद पक्ष भएको सहायक संरक्षण अधिकृत खड्का बताउनुहुन्छ। तीन दिनसम्म चलेको सो सम्मेलनमा यस बारेमा एक शब्द पनि उच्चारण हुन नसक्नुमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कमजोरी रहेको विज्ञहरूले बताएका छन्।

सन् १९८० मा नेपालमा देखा परेपछि हराएको यो जीव सन् १९९० मा भारतको आसाममा देखा परेपछि संसारमा कहीं पनि देखा परेको थिएन। संकटापन्न अवस्थामा रहेको यो जीव लोप भइसकेको आशंका संसारभर गरिएको थियो। नेपालमा यो जीव देखिएपछि वन्यजन्तुको बारेमा शोध र अनुसन्धान गर्दै आएका प्राणीशास्त्री र वैज्ञानिकहरूलाई थप आशा जगाएको संरक्षणकर्मी बताउँछन्।

यो जीवको बारेमा नेपालमा अहिलेसम्म कसैले पनि विस्तृत खोजी नगरे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भने खोजीको विषय भएको सहायक संरक्षण अधिकृत खड्का बताउनुहुन्छ। ‘तर, नेपालमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा किन यस विषयमा छलफल भएन, म आफैं पनि यस विषयमा आश्चर्यमा परेको छु –उहाँले भन्नुभयो।

चितवनको सखीभीर घाँसेमैदानमा फेला परेको हाइस्पिड हेयर (लघु कर्ण खरायो) देखिएपछि सो जीव यकिन गर्न संरक्षणकर्मीहरू बीच लामो बहस चलेको थियो। विज्ञहरूको बहसले हाइस्पिड हेयर पुनः भेटिएको पुष्टि भएको हो। नेपालकै बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यो जीव रहेको आशंका अन्तर्राष्ट्रिय विज्ञ डा. डाइना बेलले गरेका थिए। डाइनाले चितवनमा फेला परेको उक्त जीव हाइस्पिड हेयर भएको पुष्टी गर्नुभएको थियो।

अहिले उक्त जीवको अवस्था कस्तो छ भन्ने नेपाल समाचारपत्रको जवाफमा सहायक संरक्षण अधिकृत खड्का भन्नुहुन्छ– ‘हामीले १ वर्षअघि उक्त जीव फेला पारेका थियौं त्यसपछि त्यो जीव कस्तो अवस्थामा छ भन्ने कुनै जानकारी पाइएको छैन। अहिले पनि त्यही घाँसेमैदान वरिपरि त्यो जीव रहेकोमा भने हामी विश्वस्त छौं।’ अन्य खरायोभन्दा सानो क्षेत्रमा रहने, घाँसको कलिला टुसा, गुलियो घाँस प्रजातिका जरा खान मन पराउने यो खरायोको तौल २ किलो २ सय ग्राम हाराहारीको हुने बताइन्छ। शरीर ४० देखि ५० सेन्टिमिटरको हुने गर्छ। समथर भू–भागमा रहेको घाँसेमैदान यसको मुख्य बासस्थान भएको विज्ञहरू बताउँछन्।

जानकारहरूका अनुसार घाँसेमैदान विनाश भई मानवीय बस्तीमा परिणत भएकोले यो प्रजाति लोप हुने अवस्थामा पुगेको र निकुञ्ज क्षेत्रहरूमा मात्र यसको बासस्थान खुम्चिन पुगेको हो। लघु कर्ण खरायोले मंसिरदेखि फागुन महिनासम्म बच्चा जन्माउने गर्दछ। तर, अहिले त्यस समयमा अत्यधिक मात्रामा घाँसेमैदानहरूमा डढेलो र आगलागी हुने गरेकाले पनि यो प्रजाति लोप हुने अवस्थामा पुगेको संरक्षणकर्मीहरूको ठम्याइ छ।

 

प्रतिक्रिया दिनुहोस्