स्थानीय निकाय निर्वाचन तयारी अन्तिम चरणमा


 

सुनील महर्जन, काठमाडौं
प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। तीनपटक सारिएपछि २ नम्बर प्रदेशमा निर्वाचन हुन लागेको हो। भदौ २१ गते उम्मेदवार मनोनयनसँगै निर्वाचन कार्यक्रम शुरू हुने भएको छ। अहिले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन कार्यक्रम व्यवस्थापन, सुरक्षा समन्वय र मतदान अधिकृतलाई तालिम र मतदान केन्द्रको व्यवस्थापन कार्यमा जुटिरहेको छ। जिल्लास्थित निर्वाचन कार्यालयबाट निर्वाचनको समग्र तयारीको अन्तिम चरणमा पुगेको जानकारी आयोगमा पठाएको छ। ‘उम्मेदवार मनोनयन, दाबी विरोधपछि केही कामहरू बाँकी हुन्छन्। तीबाहेक अरू कामको तयारी पूरा भएको छ’ –आयोगका प्रवक्ता नवराज ढकालले भन्नुभयो।

सो प्रदेशका ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तहमा निर्वाचन हुँदै छ। १ सय ३६ स्थानीय तहमा १ हजार २ सय ७१ वडा रहेका छन्। दुई नम्बर प्रदेशको ८ जिल्लामा २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेका छन् भने २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय मतदान केन्द्र रहेका छन्।

उम्मेदवारको मनोनयनदेखि अन्तिम नामावली प्रकाशन र स्वतन्त्र चुनाव चिह्न वितरणपछि मतदान स्थलको तयारी अघि बढाउने आयोगले जनाएको छ। मतपत्र र मतदान सामग्री आयोगले दोस्रो चरणको निर्वाचनपूर्व नै पठाइसकेको छ। सुरक्षाकर्मीको जिम्मामा रहेका ती सामग्री प्रमुख निर्वाचन अधिकृतहरूलाई हस्तान्तरण गरिसकेको छ। अहिले अधिकृतहरू मतपत्र, मतदाता परिचयपत्र बाँड्ने, कर्मचारी व्यवस्थापनमा लागेको आयोगले जनाएको छ।

भदौ २५ गतेदेखि २८ गतेसम्म कर्मचारीलाई नियुक्ति दिनुका साथै २९ गतेसम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने निर्देशन पनि ती कार्यालयहरूले दिएको खबर प्राप्त भएको आयोगले जनाएको छ। त्यसै गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान स्थलको निरीक्षण र केन्द्रको व्यवस्थापनका लागि तयारी अघि बढाइरहेको छ।

मुख्य निर्वाचन अधिकृतले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी निर्वाचनमा खटिने कर्मचारीहरूको व्यवस्थापन गरिरहेको आयोगले जनाएको छ। निर्वाचनको समग्र तयारीको अनुगमन गर्न २ नम्बर प्रदेशमा पुग्नुभएका चार जना आयुक्तले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयो।

चार जना आयुक्त अहिले तराई–मधेसका विभिन्न जिल्लामा स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोबस्त सम्पूर्ण पक्षहरूको अगुगमन गरिरहनुभएको छ। अनुगनमन गर्न इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह जानुभएको थियो।

भदौ १२ देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको थियो। १५ गतेदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकहरू परिचालन गरिएको थियो। आयोगले मतदाता शिक्षाका लागि ३ हजार ५ सयभन्दा बढी स्वयम्सेवक परिचालन गरेको जनाएको छ। निर्वाचन कार्यालयदेखि मतदान केन्द्रसम्ममा करिब ३ हजार १ सय कर्मचारी परिचालन हुनेछन्। त्यस्तै ६० हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन्।