नेपालको गिद्ध संरक्षण गर्ने विधि, विश्वमै अनुकरणीय



नरेन्द्र केसी,दाङ ।

धेरै क्षेत्रमा नेपालले अन्य देशको सिको गर्दै आएको छ तर एउटा क्षेत्रमा भने नेपालले अप्नाएको विधि विश्वब्यापीरुपमा फैलिन थालेको छ, त्यो हो, समुदायमा आधारित गिद्ध संरक्षण ।

समुदायले गिद्ध रेष्टुरेन्ट खोलेर गिद्ध संरक्षण गर्ने विधि नेपालबाट शुरु भएको हो ।

‘सबैभन्दा पहिले नेपालको नलवपरासीमा यो विधि शुरु गरिएको हो’– गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतले भन्नुभयो– ‘समुदायमा आधारित गिद्ध संरक्षण विधि अहिले भारत, पाकिस्तान, बंगलादेशलगायतका देशमा फैलिएको छ, अन्य देशले पनि सिको गरिरहेका छन् ।’

समुदायमा आधारित गिद्ध संरक्षण विधिले एकातिर समुदायलाई संगठित, सचेत र सशक्त बनाउने तथा अर्कोतिर गिद्ध संरक्षण पनि हुने भएकाले यो विधि विश्वभरि नै अनुशरणनीय हुने उहाँको विश्वास छ ।

विश्वका करीव ३० भन्दा बढी देशमा अहिले गिद्ध संरक्षण अभियान चलिरहेको छ । १९९० को दशकदेखि दक्षिण एशियामा गिद्धको संख्यामा नाटकिय रुपमा कमी आएपछि संरक्षण अभियान थालिएको थियो ।

गिद्धको संख्यामा ९९ प्रतिशतसम्म कमी आउन थालेपछि अध्ययन र संरक्षणको काम थालिएको रावतको भनाइ छ ।

नेपालमा सन् २००६ देखि स्थानीय समुदायको पहल र सक्रियतामा स्थानीय सरोकारवाला सरकारी निकाय, गैरसरकारी संस्था र संरक्षणकर्मीहरुको सहकार्यमा गिद्ध संरक्षण अभियान शुरु गरिएको थियो । अहिले नेपालका ५८ जिल्लामा यो अभियान द्रूतरुपमा अघि बढेको छ ।

दाङमा २ वटासहित नेपालमा ७ वटा गिद्ध रेष्टुरेण्ट रहेका छन । गिद्धले आहाराका लागी ३० हजार वर्ग किलो मिटरा टाढा सम्म जाने गर्दछन् । संयोजक रावतका अनुसार विश्वमा २३ प्रजातिका गिद्ध पाईन्छन भने दक्षिण एसियामा ९ प्रजातिका पाइने गरेका छन् ।

त्यसमा नेपालमा नौवटै प्रजातिका गिद्ध पाइने गरेका छन् । नेपालमा हिमाली, डंगर, सुन, राज, हाडफोर, सेतो (गोव्रे), खैरो, सानो खैरो र लामो ठुडे गिद्घ पाइने गरेका छन् ।

समुदायस्तरमा सञ्चालित अभियान प्रभावकारी भए पनि राज्यले गिद्ध संरक्षणमा ध्यान नदिन नसकेको अभियानकर्मीको गुनासो छ ।

‘सरकारले गिद्ध संरक्षणका लागि पञ्चवर्षिय कार्ययोजना वनाएको छ, चितवन कसरामा गिद्ध प्रजनन् केन्द्र वनाएको छ तर पशुसेवा कार्यलयहरुले बजेट गोष्ठी गरेर मात्र सिध्याउने गरेका छन्’– राष्ट्रिय गिद्ध संरक्षण सञ्जालका संयोकज रावतले भन्नुभयो– ‘वन कार्यालयमा बजेट हुन्छ तर वन कार्यालयहरुले कहिल्यै कार्यक्रम गरेको देखिन्न ।’

गिद्ध संरक्षण अभियानलाई प्रभावित गर्न केहीले गिद्धलाई अमरिकाको राष्ट्रिय पंक्षी भनेर बिषयान्तर गर्न खोजेको भन्दै संरक्षणकर्मीहरुले अमेरिकाको राष्ट्रिय चरा चील भएको र गिद्ध कुनै पनि देशको राष्ट्रिय पंक्षी नभएको बताएका छन् ।

‘बरु अफ्रीकनहरुले गिद्घलाइ प्रेमको प्रतिक का रुपमा मान्दछन, गिद्घ अष्ट्रेलियन महाद्घीप र आन्टार्टिकाबाहेक संसारभरि पाइन्छ’– संयोजक रावतले भन्नुभयो ।

क्याप्सनः दाङ देउखुरी लालमटियास्थित गिद्ध रेष्टुरेन्टमा आहारका लागि आएका गिद्ध ।

प्रतिक्रिया दिनुहोस्