अन्वेषक क्यास्सिनी शनि ग्रहमा धस्सिँदै


 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सीको क्यास्सिनी अन्तरिक्ष यानले आफ्नो १३ वर्ष लामो शनि ग्रहको अन्वेषण अभियान अन्त्य क्रममा चक्रधारी उक्त ग्रहको वातावरणमा धस्सिनुअगाडि अर्थात् मध्य सेप्टेम्बरको अन्तिम क्षणसम्म डाटाहरू पठाइरहने उक्त संस्थाका अधिकारीले बताए।
शनि ग्रहलाई परिक्रममा गर्ने पहिलो अन्तरिक्ष यान क्यास्सिनीले सेप्टेम्बर १५ मा अन्तिम २२ पटक ग्रहको चक्रमा प्रवेश गर्नेछ। उक्त अन्तरिक्ष यान उक्त विशाल ग्यास पिण्डको वायुमन्डलमा प्रवेश गर्ने क्रममा जलेर नस्ट हुनेछ। क्यास्सिनीको अन्तिम डाइभले एउटा अभियानको अन्त्य हुनेछ जसले शनि ग्रहको मौसम परिवर्तन, उसको चन्द्रमा टाइटनमा भेटिएको पृथ्वीको प्रारब्ध अवस्था, अर्को चन्द्रमा एन्सेलाडसमा पूरै ढाकिएको सागरलगायतका अत्यन्तै उपलब्धिमूलक खोजहरू अगाडि ल्याए।

‘यो अभियान अनौठो, व्यापक, सुन्दर ढंगले सफल र≈यो र करिब दुई हप्तामा यसको अन्त्य हुँदै छ’ –क्यास्सिनी कार्यक्रमका वैज्ञानिक कर्ट निबुरले क्यालिफोर्नियास्थित नासाको जेट प्रपल्सन लेबोरोटरीबाट टेलिफोन कन्फरेन्समार्फत् पत्रकारलाई बताए। शनि ग्रहको वायुमण्डलतर्फ प्रस्थान गर्ने क्रममा क्यास्सिनीको अन्तिम तस्वीरमा पंखा वा शनिचत्रकै एउटा टुक्राजस्तो देखिएको उक्त परियोजनाका वैज्ञानिक लिन्डा स्पिल्करले बताइन्।

सेप्टेम्बर १५ मा पृथ्वीसँगको सम्पर्क विच्छेड हुनुअगाडिसम्म उक्त यानले वायुमण्डलको नजिक रहेको अवस्थाका डाटाहरू उपलब्ध गराउने नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनले जनाएको छ।

शनि चक्रबाट क्यास्सिनीले पठाएको डाटाले त्यसको पिण्ड पूर्वानुमानभन्दा हलुका भएको देखाएको स्पिल्करले बताइन्। त्यसले उक्त चक्र अनुमान गरेकोभन्दा कम, करिब १२ करोड वर्ष पुरानो भएको र त्यसै कारण यसको निर्माण शौर्य प्रणालीको जन्मपछि मात्र भएको देखाएको उनले बताइन्। ग्रहको वायुमण्डल र चक्रको बीचमा रहेर गरेको अन्तिम परिक्रमामा क्यास्सिनीले शनि ग्रहको वायुमण्डल र ग्रहको चट्टानी केन्द्रको आकारको मापन निश्चित गर्न अध्ययन गरेको थियो। क्यास्सिनी वास्तवमा सूर्यबाट छैठो स्थानको ग्रहको अन्वेषक यान हो। सन् २००४ जुलाई देखिको अध्ययनमा यो ग्रहको ६२ वटा चन्द्रमा पहिचान भइसकेको छ।

यसले करिब ४ हजार वैज्ञानिक शोधपत्र उपलब्ध गराइसकेको छ। यानमा इन्धन अभाव हुँदै गएपछि नासाले यसलाई शनि ग्रहमै ठोक्काउन लागेको हो। यसले कुनै दिन क्यास्सिनी सूक्ष्म जीवको सम्भावना बोकेका टाइटन, एन्सेलेडस वा अन्य चन्द्रमासँग ठोक्किन सक्ने सम्भावनलाई टारेको छ।

उक्त यानलाई नष्ट गरेर नासाले क्यास्सिनीमा अझै जीवित रहेका कुनै पनि सूक्ष्माणु जीवका कारण भविष्यमा अध्ययन हुन सक्ने शनिका उपग्रहहरूलाई प्रदूषित हुनबाट जोगाएको छ।