पुर्वमा चिराइतो कारोबार ठप्पभएपछि घर घरमै थन्किए



रविन भट्टराई, ताप्लेजुङ । पुर्वि पहाडि जिल्लामा व्यावसायिक रूपमा उत्पादन भईरहेको जडीबुटी चिराइतोको कारोबार ठप्प भएको छ । उत्पादन सुरु भइसक्दा पनि कारोबार नहुँदा कृषक समस्यामा छन् ।

मुख्य बजार भारतले चिराइतोको विकल्प खोजेको र नेपालबाट जाने चिराइतोको गुणस्तर खस्केकाले समस्या भएको व्यवसायीहरू बताउँछन् । भारतमा निकासा रोकिएपछि चिन तर्फ केहि कारोबार भए पनि अहिले चिनमा पनि विक्रि ठप्प भएको ताप्लेजुङका व्यवसायिहरुले बताएका छन् ।

चिनमा विक्रिका लागि लगिएको चिराईतो किन्न चिनियाँ व्यापारी नआउँदा सबै चिराईतो ओलाङ्चुङगोलामा थन्किएको स्थानिय व्यापारी छेतेन शेर्पाले बताए । मुख्य बजार चिन र भारतमा व्यापार रोकिए पछि बंगलादेश निर्यात बढाउन पनि पहल भइरहे पनि निर्यात हुने सम्भावना कम रहेको व्यापारीहरुको भनाई छ ।

चिराईतो भारत र चिन लगायत बंगलादेश, जर्मनी र फ्रान्समा औषधीय प्रयोगका लागि जाने गरेको छ । महत्वपूर्ण जडीबुटी मानिए पनि मूल्यमा आएको गिरावटले चिराइतो कृषक मारमा छन् ।

चिराइतो बिक्री नहुँदा ताप्लेजुङ, पाँचथर, ईलाम लगायतका कृषक घरमै थन्काएर राख्न बाध्य भएका छन् । प्रतिमन ३० हजार रुपैयाँसम्ममा बिक्री भएको चिराइतो गत वर्ष आधा मूल्यमा बिक्री गर्न पनि मुस्किल भएको थियो ।

उत्पादन बढे पनि माग घट्न थालेपछि व्यावसायिक चिराइतो खेतीमा लागेका जिल्लाका करिब पाँच हजार कृषक अन्योलमा छन् । ताप्लेजुङका उत्तरी क्षेत्रका अधिकांश कृषकको घरमा २० देखि ६० मनसम्म चिराइतो थन्किएको छ । समुन्द्री सतहबाट करिव १२ सय देखि ३ हजार मिटर उचाईसम्म पाईने चिराईतो एक किसिमको जडिबुटी हो ।

आषाढ–श्रावणदेखि असोज सम्ममा यसको फूल फुल्छ । फूल परिपक्व भएपछि बोटै उखेलेर चैत्र महिनासम्ममा यसको संकलन गरिसक्नु पर्दछ । आयुर्वेदीय पद्धति अनुसार यो जडीबुटी कृमि नाशक, ज्वरान्तक, घाउ, खटिरा, स्वाद र रुचि बढाउने औषधि बनाउन प्रयोग गरीन्छ भने औलोको ज्वरोमा पनि यो निकै उपयोगी हुने आयुर्वेदीक चिकित्सकहरु बताउँछन् । यसबाट चिनमा सिटामोल लगायतका औषधि बनाईने गरेको स्थानिय व्यपारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्