लेडी गागाको अन्तरंग वृत्तचित्रमा

0
Shares

अमेरिकन गायिका, गीतकार तथा अभिनेतृ लेडी गागा अहिलेको समयको निकै चर्चित र सफल गायिका हुन्। डेब्यु एल्बम द फेम, ब्याड रोमान्स, पोकर फेस र जस्ट डान्सजस्ता सफल र व्यवसायिकरूपमा हिट एल्बमले गागालाई छोटो समयमा नै चर्चित सेलिब्रेटी बनायो।

यिनै गायिकाको जीवनमा आधारित गागाः फाइभ फुट टु नामक वृत्तचित्र क्यालिफोर्नियास्थित इन्टनेट इन्टरटेन्मेन्ट कम्पनीले आगामी सेप्टेम्बर २२ मा जारी गर्ने घोषणा गरेको छ। यस वर्षको टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिवलमा उक्त वृत्तचित्रको प्रिमियर गरिने भेराइटी डट कमको रिपोर्टमा उल्लेख छ।

क्रिस मुकार्बेलले निर्देशन गर्ने वृत्तचित्रमा लेडी गागाले व्यक्तिगत उचाइ र सफलता कायम गर्न भोगेको उतारचढाव र भावोत्तेजक यात्रालाई देखाउन खोजिएको बताइएको छ। निर्देशक मुकार्बेलले भनेका छन्– ‘हामीले यो वृत्तचित्रमार्फत् लेडी गागाको अन्तरंग दुनियाँलाई देखाउने प्रयत्न गरेका छौं। यसमा एउटा कलाकारको यात्रा, संघर्ष, सपना र कठिनाइलाई देखाउने प्रयास गरिएको छ।’