सामूहिक आवास प्रयोगविहीन

0
Shares

 

नेपाल समाचारपत्र
गोरखा
भूकम्पलगत्तै विस्थापित परिवारलाई राख्नका लागि नेपाली सेनाले निर्माण गरिदिएको आवास भवन प्रयोगविहीन बनेको छ। जिल्लाका विभिन्न पाँच ठाउँमा नेपाली सेनाले निर्माण गरिदिएको भवन अहिले सबै प्रयोगविहीन भएको हो। प्रति सामूहिक भवन करिब ५५ लाख रुपियाँ खर्चेर निर्माण गरिएको भए पनि कस्ता परिवार बस्ने भन्ने अन्योलले प्रयोगविहीन बनेको हो। सेनाले साविकको थुमी, स्वाँरा, केरौंजा, खरिबोट, र मुच्चोक गाविसमा सामूहिक आवास निर्माण गरेको थियो।

‘नेपाली सेनाले सामूहिक आवास त बनायो अहिले प्रयोगविहीन छ’, केरौंजाका फिरेन्द्र घलेले भने– ‘कस्ता खालका परिवार बस्ने भनेर सरकारले टुंगो लगाइदिएको भए सजिलो हुने थियो। केरौंजाको करिब ५ सय घरधुरी सबै विस्थापित परिवार हुन् कसलाई यो भवनमा बस भन्ने कसलाई नबस भन्ने। त्यही भवन पनि माथिबाट पहिरो झरेकाले जोखिममा परेको छ।’ केरौंजा भूकम्पपछि विस्थापित हुने गोरखाको ठूलो गाउँ हो। केरौंजाबासी पहिरोको पनि उत्तिकै जोखिममा छन्।

त्यस्तै नेपाली सेनाले सुलिकोट गाउँपालिकाको स्वाँरामा निर्माण गरेको भवन पनि प्रयोगविहीन भएर भवनका कोठाहरू झारपात उम्रिएको छ। ‘सरकारको लगानी बालुवामा पानी हाले सरह भएको छ’, स्वाँराकी सलिना गुरुङले भनिन्– ‘सामूहिक आवास भवन भत्किँदै गएको छ। सरकारले भूकम्प गएलगत्तै भूकम्पपछि घरबास गुमाएका, विपत्तिमा परेका अतिविपन्न समुदायका मानिसहरूलाई बस्ने व्यवस्था मिलाउने उद्देश्यले नेपाली सेना लगाएर १२ कोठे आवास बनाएको थियो।’ सेनाले भवन बनाउन ट्रइक्टर तथा हेलिकोप्टरमार्फत् सामान ढुवानी गरेको थियो।

सो भवन जिल्ला दैवी प्रकोप उद्धार समितिले सोही गाविसलाई जिम्मा दिएको थियो तर गाविसले संरक्षण तथा त्यहाँ कस्ता परिवार राख्ने टुंगो लगाउन नसक्दा सरकारले लाखौं खर्च गरेर बनाएको भवन जीर्ण बन्दै गएको हो। स्वाँराको भवनको ४ कोठा माझथर मावि र ३ कोठा स्वाँरा बाल संरक्षण उपसमितिले प्रयोग गरेको छ। विस्थापित परिवार राख्न बनाइएको सो भवनमा विस्थापितहरू भए पनि बस्न पाएका छैनन्। अन्य कोठाहरू भने खाली नै छन। प्रायः सबै ठाउँको सो आवास भवनहरू अहिले झ्यालका सिसाहरू फुट्ने, कहीं भत्किन थालेको छ।

Skip This