सानै उमेरमा ठूला ‘छलकपट’

0
Shares

नेपाल समाचारपत्र, बाँके । २०७१ माघ २२ गते बाँकेको अगैयामा १० इन्च उचाई, ८ इन्च चौडाई भएको ११ किलो ८ सय ९८ ग्राम तौलको बुद्धको मूर्तिसहित सात जना पक्राउ परे । होटलमा बसेर मूर्ति बेच्न पाएमा ‘जिन्दगी नै सप्रिने’ कुरा गरेका कारोबारीलाई प्रहरीले आठ दिनदेखि निगरानी राखेको थियो । तीन सय वर्ष पुरानो प्राचीन बुद्धको मूर्ति भएको दावीसहित पैसावाला ग्राहक खोजेका सात जनामध्ये जाजरकोटका २३ वर्षीय शिव सिंह भन्ने पूर्णबहादुर विक पनि थिए । कारोबारीले उक्त मूर्ति डोल्पाबाट आठ लाखमा किनेर ल्याएको दावी गरेका थिए । प्रहरीले पछि पुरातत्व विभागमा पठाएर जाँच गर्दा उक्त मूर्ति प्राचीन नभएको पुष्टि भयो ।

कारोबारीहरु अदालतबाट धरौटीमा छुटे । सानै उमेरमा ठूला छलकपटमा लागेका विक पनि ५० हजार धरौटीमा छुटे । अहिले २६ वर्षमा टेकेका विक यस्तै नक्कली बुद्धको मूर्तिसहित दाङमा पनि पक्राउ परे । त्यहाँ पनि उनी धरौटीमा छुटेका छन् । कम्तीमा दुई जिल्ला बाँके र दाङबाट नक्कली मूर्ति कारोबारीमा धरौटीमा छुटेका विक यो बीचमा त्यसै बसेका रहेनछन् । मूर्ति छोडेर उनी फेरि नक्कली सुनतिर लागेको पाइयो । भदौ ३ गते नेपालगञ्जको एक होटलमा बसेर नक्कली सुन कारोबार गर्दै गर्दा विकसहित तीन जना पक्राउ परे ।

उनीहरुसँग सुनको लेप लगाएको पहेलो धातु २ किलो तीन सय ५ ग्राम (पाँच पिस) थियो । पाँचमध्ये चार पिसमा प्लाष्टर पेरिस र एक पिसमा सिसा थियो ।  सुन भन्दै नक्कलीको कारोबार गर्ने उनीहरुको योजना पूरा हुन पाएन । यद्यपि, कतिलाई उनीहरुले नक्कली सुन बिक्री गरिसके खुलिसकेको छैन । बाँके प्रहरीले उनीहरुलाई सामाजिक अपराध तथा सजाय ऐन २०५२ अन्तर्गत मुद्दा अघि बढाएको छ ।  हसिलो देखिने विक सानै उमेरदेखि ठूल्ठूला छलकपटमा लागेका छन् । प्रहरीसँग बोल्दा मिठो बोल्ने र फटाफट सोधेको कुरा बताउने विक अति नै धुर्त रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँट इन्चार्ज बीरबहादुर विकले यसले यस्तो के ग¥यो होला जस्तो देखिन्छ । तर, ऊ धेरै फरवार्ड छ ।’

काठमाडौंबाट बुद्धको नक्कली मूर्ति बनाएर पश्चिमतिर ल्याउने र लाखौं रुपैयामा बिक्री गर्ने विकलगायतको खेलो रहेको छ । द्वन्द्वकालमा पहाडी जिल्लाका मन्दिर र गुम्बाहरुबाट प्राचीन बुद्धको मूर्ति हराएकाले कारोबारीले त्यही  भएको दावी गरेको पाइन्छ । बुद्धको मूर्तिसँग विक नक्कली सुनतिर लागेका हुन् । नक्कली सुन पनि काठमाडौंबाट सप्लाई हुने गरेको छ । यी कारोबारीले कतिपयलाई देखाउने बेला सक्कली देखाउने र दिने बेलामा नक्कली दिने गरेको स्वीकार गरेका छन् । नक्कली सुनको भने लेनदेन रातीमा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

पढ्ने–लेख्ने उमेरमै विक लाखौंको छलकपटमा लागेका थिए । प्रहरी खोर, अदालटबाट धरौटी उनका लागि सामान्य भइसकेको छ । एउटा मुद्दाको टुंगो नलाग्दै अरु काण्डमा मुछिएका छन् । बाँके र दाङमा बुद्धको मूर्तिको मुद्दा टुंगिन बाँकी हुँदै फेरि बाँकेमा नक्कली सुन काण्डमा मुछिएका विक नक्कली कारोबारमा माहिर देखिएका छन् ।