सेनाले बनाएको सामुहिक आवास प्रयोग विहिन

0
Shares

सन्तोष अधिकारी, गोरखा । भूकम्प लगत्तै विस्थापित परिवारलाई राख्नको लागि नेपाली सेनाले निर्माण गरिदिएको आवास भवन प्रयोग विहिन बनेको छ । जिल्लाका विभिन्न पाँच ठाउँमा नेपाली सेनाले निर्माण गरिदिएको भवन अहिले सबै प्रयोग विहिन भएको हो । प्रति सामुहिक भवन करिब ५५ लाख रुपैँया खर्चेर निर्माण गरिएको भएपनि कस्ता परिवार बस्ने भन्ने अन्योलले प्रयोग विहिन बनेको हो । सेनाले साबिकको थुमी, स्वाँरा, केरौँजा, खरिबोट, र मुच्चोक गाविसमा सामुहिक आवास निर्माण गरेको थियो ।

‘नेपाली सेनाले सामुहिक आवास त बनायो अहिले प्रयोग विहिन छ’ केरौँजाका फिरेन्द्र घलेले भने ‘कस्ताखालका परिवार बस्ने भनेर सरकारले टुंगो लगाइदिएको भए सजिलो हुने थियो । केरौँजाको करिब पाँचसय घरधुरी सबै विस्थापित परिवार हुन कस्लाई यो भवनमा बस भन्ने कस्लाई नबस भन्ने । त्यहि भवन पनि माथी बाट पहिरो झरेकोले जोखिममा परेको छ ।’ केरौँजा भूकम्प पछि विस्थापित हुने गोरखाको ठुलो गाउँ हो । केरौँजा बासी पहिरोको पनि उत्तिकै जोखिममा छन् ।

त्यस्तै नेपाली सेनाले सुलिकोट गाउँपालिकाको स्वाँरामा निर्माण गरेको भवन पनि प्रयोग विहिन भएर भवनका कोठाहरु झारपात उम्रिएको छ । ‘सरकारको लगानी बालुवामा पानी हाले सरह भएको छ’ स्वाँराकी सलिना गुरुङ्गले भनिन् ‘सामुहिक आबास भबन भत्किदै गएको छ । सरकारले भुकम्प गए लगतै भुकम्प पछि घरवास गुमाएका ,विपत्तिमा परेका अतिविपन्न समूदायका मानिसहरूलाई बस्ने ब्यवस्था मिलाउने उद्देश्यले नेपाली सेना लगाएर १२ कोठे आबास बनाएको थियो ।’ सेनाले भवन बनाउन ट्रयाक्टर तथा हेलीकोप्टर मार्फत सामान ढुवानी गरेको थियो ।

सो भवन जिल्ला दैविक प्रकोप उद्दार समितिले सोही गाविसलाई जिम्मा दिएको थियो तर गाविसले संरक्षण तथा त्यहाँ कस्ता परिवार राख्ने टुङ्गो लगाउन नसक्दा सरकारले लाखौं खर्च गरेर वनाएको भवन जिर्ण बन्दै गएको हो । स्वाँराकोे भवनको मध्ये ४ कोठा माझथर मावि ३ कोठा स्वाँरा बाल संरक्षण उपसमितिले प्रयोग गरेकोछ । विस्थापित परिवार राख्न बनाईएको सो भवनमा विस्थापितहरु भएपनि बस्न पाएका छैनन् । अन्य कोठाहरु भने खाली नै छन् । प्राय सबै ठाउँको सो आवस भवनहरु अहिले झ्यालका सिसाहरु फुट्ने, कहिँ भत्किन थालेको छ ।