भीमनिधिको “घरको माया” विश्लेषण

282
Shares

 

केशव अधिकारी

नेपाली साहित्यका अग्रज र वरिष्ठ साहित्यकार भीमनिधि तिवारीको जन्म वि.सं. १९६८ मा काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनले नेपाली साहित्यका विविध विधाहरूमध्ये पनि कविता, नाटक, कथा, गजल, प्रबन्ध, उपन्यास आदि विधामा कलम चलाएर बहुमुखी साहित्यकारमा दरिन पुगेका थिए। उनले आईएसम्मको शिक्षा मात्र हासिल गरेका भए पनि धेरै स्वाध्यायन गर्ने उनको बानीले गर्दा उनको ज्ञानको क्षितिज भने निकै टाढासम्मको थियो भन्ने देखिन्छ। उनले धेरै लामो अवधिसम्म सरकारी जागिरेको रूपमा रहेर देशको सेवा पनि गरेका थिए। वि.सं. २०१७ मा आफ्नो कवितासङ्ग्रह विस्फोट प्रकाशित गरी त्यसकै माध्यमबाट मदन पुरस्कारसमेत प्राप्त गर्न सफल उनले विभिन्न विधाका धेरै साहित्यिक कृतिहरू रचना गरी आफ्नो कीर्तिमान कायम गर्न सफल भएका थिए।

भीमनिधिलाई नेपाली साहित्यका अन्य विधाबाहेक केवल नाटककारका नजरले र त्यसमा पनि ‘घरको माया’ एकाङ्की नाटकमा उभ्याइएका पात्रका आधारमा यहाँ विश्लेषण गर्न खोजिएको छ। उनले रचना गरेका सबैजसो नाटकमा देशभक्तिको भावना प्रकट भएको हुन्छ भने नाटकका पात्रका माध्यमबाट मानिसले सामाजिक नैतिकतामा रहनुपर्ने सन्देश पाइन्छ। नाटकमा आदर्शलाई मन पराउने भए पनि यथार्थ बोध गराएर आफ्ना पाठकलाई सचेत हुन आह्वान गर्दछन्। उनले आफ्ना नाटकमा मीठो व्यङ्ग्य पस्कँदै हास्यबाट दूरताको क्षितिजमा रहेको वास्तविकताको रहस्य खोल्न पनि भुल्दैनन्। उनका नाटकमा सकेसम्म थोरै पात्र समावेश हुने भएका र खासै महङ्गा सामग्री प्रयोग गर्नु नपर्ने भएकाले मञ्चनका दृष्टिले सजिला हुन्छन्। उनका नाटकको भाषा जटिल नभई सरल हुने भएकोले सामान्य मानिसका लागि पनि सजिलै बुझिने खालको हुन्छ।

भीमनिधि तिवारीको ‘घरको माया’ एकाङ्कीमा मूल पात्रहरू जम्मा चारजना रहेका छन्। तिनीहरू चारमध्ये जमानसिंह र लालबहादुर दुबै नेपालको कुनै दुर्गम गाउँका बेरोजगार युवा र असल साथी वा मित हुन्। उनीहरू २५ वर्षको उमेर नकटेका र आफ्नो गाउँघर वा देशमा कुनै प्रकारको रोजगारी नपाएर भारतको दरभङ्गा शहरमा कामको खोजीमा गएका हुन्छन्। पहिले जानेबित्तिकै उनीहरूले होटलमा जूठा भाँडा सफा गर्ने काम पाउँछन्। पछि अलि परिचित हुँदै जाँदा रेल स्टेसनमा आतेजाते गर्ने यात्रुहरूको सामान ओसारपसार गर्ने कुल्लीको काम गर्न थाल्छन्। यसै परिवेशमा एक दिन उनीहरू दुबै रेल स्टेसनमा बिँडी, पान आदि चाख्दै र गफ गर्दै बसेका हुन्छन्। त्यस गफको समयमा जमानसिंहले लालबहादुरलाई आफू गाउँकी बतासे नाम गरेकी केटीको प्रेममा फसेको र सधैँ सम्झने कुरो खुसुक्क सुनाउँछ। त्यसअगाडि नै लालबहादुर कहिल्यै पनि नेपाल फर्कन चाहेको हुँदैन तर जमानसिंह भने नेपालकै र आफ्नो घरको बारेमा धेरै कुरा गर्ने हुनाले ऊ बतासेको प्रेमजालमा राम्रैसँग फसेको रहेछ भन्ने अज्ञात रहस्यको कुरा लालबहादुरले पत्ता लगाउँछ।

उनीहरू काम गर्न बसेको त्यस ठाउँमा ज्यादै गर्मी हुने भएकोले त्यो गर्मीलाई जमानसिंहले राम्रो मान्दैन। ऊ आफ्नै देशको खोलाको चिसो पानी सम्झन पुग्दछ। यता लालबहादुर भने आफ्नो गाउँलाई सम्झनु त परै जाओस् आफू मर्दा पनि आफ्नो हंस उडेर त्यहाँ नेपालको कुनै गाउँमा नपुगोस् भन्ने चाहना राख्दछ। यसरी गफ गर्दै गरेकै समयमा गाउँको भाइ पर्ने कान्छो नामको पात्र मञ्चमा देखा पर्दछ। ऊ बतासे नामकी केटीलाई आफ्नै दिदीजस्तै मानेर सँगै दरभङ्गा आएका हुन्छन्। गाउँभरिको फटाहामा गनिएको पोक्चेको साथ लागेर त्यस ठाउँमा आइपुगेपछि बतासे र कान्छालाई कुनै स्थानमा छोडेर पोक्चे भन्ने धुतार केटो बेपत्ता हुन्छ। बतासेसँग भएको थोरैतिन पैसा पनि लिएर भागेको हुन्छ। त्यसकारण कान्छो र बतासेसँग खानेकुरा र पैसा दुबै वस्तुको अभाव हुन पुग्दछ। उनीहरू त्यस बेला किंकर्तव्यविमूढको अवस्थाबाट गुज्रन्छन् र रेलको प्लेटफर्ममा केही रात बिताउन बाध्य हुन्छन्। महिलाको तुलनामा कान्छो बतासेको भाइ भए पनि अलि आँटिलो र स्वाभिमानी देखिन्छ। उनीहरूलाई पोक्चेले फसाएर भागेपछि कान्छो अरू कोही नेपालीलाई भेटिन्छ कि भनेर घुम्न निस्कँदा दैवसंयोगले लाल र जमानलाई भेट्न पुग्छ। लालहरूले बदाम र पानी खान दिएपछि कान्छाको अलि सास आउँछ र ऊ बतासे दिदीलाई लिन जान्छ। कान्छो गइसकेपछि उसको पे्रमी जमानसिंह आफूलाई राम्रो देखाउन निकै शृङ्गार गर्दछ। त्यही बीचमा दुबै मितका बीचमा पनि केही वार्तालाप भएको छ। कान्छाले बतासे दिदीलाई लिएर आएपछि लालले विशेष गरेर अनि पछि जमानले बतासे र कान्छालाई त्यसै शहरमा काम गर्दै बस्न अग्रह गर्दछन्। तर कान्छा र बतासे दुबै जना मरिगए मान्दैनन् र आफ्नै देश, आफ्नै घर तत्कालै फर्कन चाहन्छन्। पछि जमानसिंह पनि नेपाल फर्कन सहमत भएर लाललाई सँगै फर्कन सम्झाउँदा ऊ फर्कन चाहँदैन तर जब तीनै जना फर्कन थालेको देखेपछि एक्लै पर्ने डरले लाल पनि मितलाई बोलाउँदै सँगै नेपाल फर्कन्छ।

घरको माया एकाङ्कीका सबै पात्र ज्यादै सरल पात्रका रूपमा देखा पर्दछन्। उनीहरूले प्रयोग गर्ने भाषा पनि ज्यादै सरल छ। स्थानीय बोलीको थेगो प्रयोग गराइले एकाङ्कीलाई जीवन्त बनाएको छ। सहायक पात्रको अन्य भाषाको लवज स्वाभाविक छ, हिन्दी नबुझ्नेहरूले बोल्दा भाषा कसरी परिवर्तन भएर जाने रहेछ भनेर पनि देखाइएको छ। जमानसिंहको बतासेसँगको प्रेमले गर्दा उसले सधैँजसो घर सम्झेको रहेछ भनेर लालबहादुरले रहस्य पत्ता लगाएको छ। नाटकमा हामी देशभक्त बन्नुपर्ने आदर्शलाई लिएर आखिर हामी सबैलाई परदेशको भन्दा स्वदेशकै माया बढी लाग्ने भएकाले सपनामा पनि नेपाल फर्कन नचाहने लालबहादुर स्वदेश फर्केको यथार्थ प्रस्तुत भएको छ।

यति सबै भएर पनि बतासे नामकी नारी पात्रले जमानसिंह र लालबहादुरलाई नेपाल फर्काउन जति देशभक्तिका कुरा गरेकी छिन्, तिनमा केहीचाहिँ अलि बढी नै आस्वाभाविक खालका भनाइ देखिन्छन्। बतासे पात्रा आफैँमा ग्रामीण, अशिक्षित, जमानसिंहको प्रेममा अल्झेकी नारी पात्रको मुखबाट त्यति धेरै आदर्शवादी विचार प्रकट हुनु असामान्य हो। बरु बतासेको तुलनामा कान्छालाई अलि पढेलेखेको आधुनिक नवयुवकको रूपमा उभ्याउँदा र उसैको मुखबाट बतासेले बोले जतिका आदर्शवादी यथार्थतालाई पोखाउन पाएको भए एकाङ्की साँच्चै अझ बढी जीवन्त हुने थियो। वास्तवमा अरू सबै पात्रले ज्यादै उत्कृष्ट भूमिका निर्वाह गरेका छन् र नै एकाङ्की वास्तविकमा आधारित बनेको छ।

यस एकाङ्कीमार्फत हामी नेपालीहरू आफ्नो देशको उन्नति गर्न छोडेर विदेशीको कमारो बन्न जानुपर्ने तीतो यथार्थको उद्घाटन गर्दै हामी सबैले पनि आफ्नो देशलाई माया गर्नुपर्छ भन्ने यस एकाङ्कीको मूल भाव रहेको पाइन्छ। यसरी एकाङ्कीका सबै पात्रको भनाइ सही भए पनि बतासेको अभिव्यक्तिले तरकारीमा नून अलि चर्को भएको हो कि भनेजस्तो देखिन्छ। आखिर जे भए पनि ‘घरको माया’ एकाङ्की आफैँमा एउटा उत्कृष्ट एकाङ्की हो भन्ने कुरा प्रस्ट हुन जान्छ।