तीज गीत प्रतियोगितासँगै हाँसो

0
Shares

गुलरिया, (नेस)। हिन्दू नारीको महान् चाड तीजको अवसरमा सामुदायिक सञ्चार केन्द्रद्वारा सञ्चालित बबई एफएम १०६ मेघाहर्जको आयोजित तीज गीत प्रगियोगिता गुलरियामा सम्पन्न भएको छ। प्रतियोगिताको शुभारम्भ गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरीले गरेकी थिइन्।

प्रतियोगितमा बर्दिया जिल्लाका ८ समूहले भाग लिएका थिए। प्रतियोगितामा उपकार आमा समूह सिमरा प्रथम, संगम महिला सहकारी संस्था गुलरिया द्वितीय, शीतलाबजार दिदीबहिनी वचत समूह तृतीय र गुराँस मावि सानोश्री सान्त्वना भएको छ। पुरस्कृत समूहलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई, क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगिताको आर्कषण बढाउनका लागि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका गायक कलाकार नवीन पौडेल, कमल बीसी (मालदाइ) र रेश्मी विश्वकर्माले पनि आफ्नो सहभगिता जनाउँदै गीत प्रस्तुत गरेका थिए। दर्शक तथा स्रोतालाई नवीन पौडेलले फूलेको तोरी, हुर्नेको छोरी जोगाउनै गाह्रो बोलको गीत गाएर महिलालाई नचाएका थिए।

उनको प्रस्तुतिमा महिला निकै मनोरञ्जित भएर नाचेका थिए। त्यसै गरी गुराँस मावि सानोश्री (मधुवन) का दुई बालिका र एक बालकको समूहले मुग्लिङको धुलोले आफ्नै बुढी चिन्न गाह्रो भो बोलको गीतमा अभिनय नृत्य प्रस्तुत गरेर दर्शकलाई हसाएका थिए।

साथै दिदीबहिनी समूह शीतलाबजारको समूहले हाम्रो बर्दिया बोलको सन्देशमूलक गीतमा बर्दिया जिल्लाका विभिन्न व्यथा र पीडाहरुलाई समेट्दै सकारात्मक हुन आग्रह गर्दा सबैलाई भावुक बनाएको थियो।

नेपाली संस्कृतिको जर्गेना, स्थानीय सांस्कृतिक प्रतिभाको विकास र स्रोता तथा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएको संस्थाका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले बताए।