दुई अन्तर्देशीय प्रसारणलाइनको उद्घाटन

0
Shares

 

५० मेगावाट तत्काल र ५० मेगावाट हिउँदमा आयात गरिने

नेपाल समाचारपत्र,काठमाडौं
नेपालले भारतबाट थप सय मेगावाट विद्युत् आयात गर्ने भएको छ। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १ सय ३२ केभी कुशाहा–कटैया र रक्सौल– परवानीपुर अन्तर्देशीय प्रसारणको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। उक्त दुईवटा प्रसारणलाइनको भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट उद्घाटन भएको हो।
भारत सरकारको २५ करोड भारतीय रुपियाँमा निर्माण भएको उक्त प्रसारणलाइनबाट ५० मेगावाट थप विद्युत् नेपाल भित्रिएको छ।

सुख्यायाममा नेपालमा देखिने विद्युत् समस्यालाई समाधान गर्न १ सय ३२ केभी क्षमताका कुशाहा–कटैया र रक्सौल–परवानीपुर प्रसारणमार्फत सय मेगावाट विद्युत् आयात गर्न लागिएको हो। यसअघि कुशाहा–कटैया प्रसारणलाइनबाट ६० मेगावाट विद्युत् आयात हुँदै आएको थियो भने पुरानो प्रसारणलाइनबाट ८० मेगावाट आयात हुँदै आएको थियो।

आयातित १ सय ४० मेगावाट विद्युत् दुबही सबस्टेशन र मिर्चैया सबस्टेशनबाट पूर्वका जिल्लामा वितरण गरिने छ। कुशाहा–कटैया लाइनसँगै निर्माण सम्पन्न भएको रक्सौल–परवानीपुर प्रसारणलाइनबाट भने हिउँदको समयमा मात्र विद्युत् आयात गर्ने योजना रहको छ।

गत वर्ष हिउँदको समयमा ३ सय ५० मेगावाट भारतबाट आयात भएकोमा यसवर्ष ४ सय ५० मेगावाट आयात हुनेछ। गत आर्थिक वर्ष नेपाल विद्युत प्रँधिकरणले १४ अर्ब २० करोड रुपियाँ बराबरको विद्युत् आयात गरेको थियो।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले अरूण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यासका लागि मोदीलाई नेपाल निमन्त्रणा गर्नुभएको छ।

भारतीय कम्पनी एसजेभीएनले निर्माण गर्न लागेको ९ सय मेगावाट क्षमताको उक्त आयोजना दशैंपछि शिलान्यास गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवाले आफूले भारतीय प्रधानमन्त्री मोदीलाई अरूण तेस्रोको शिलान्यासका क्रममा नेपाल आउन आग्रह गरेको दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकारसम्मेलनमा जानकारी दिनुभएको थियो।

त्यस्तै पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिइने विषयमा प्रधानमन्त्री देउवा र मोदीबीचक समझदारी भएको छ। भारतीय कम्पनीले तयारी गरिरहेको डीपीआरलाई अन्तिम रूप दिन लागिएको हो।

यसअघि नेपाल र भारतबीच विभिन्न आठ बुँदा समझदारीपत्र भएको छ। भारतसँग भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित चार र मेची पुल निर्माण, लागुऔषधको गैरकानुनी ओसारपसार, गुणस्तर मूल्यांकन र लेखा परीक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।