उपचारको पर्खाइमा राम परिवार

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बाढीबाट बचाउन सफल छोराछोरीको बाँकी भविष्यको चिन्ताले रेणु देवीलाई बेलाबेलामा निकै सताउने गर्दछ। गत साउन २७ गते आएको मुसलधारे पानीसहितको बाढीमा आफ्नो ज्यानै माया मारेर बचाएको एउटा छोरा पनि अहिले बिरामी परेर थलिएपछि रेणु चिन्तित बनेकी हुन्। रौतहटको ब्रह्मपुरी–३ की रेणुको ६ वर्षीय छोरा अमित रामलाई उक्त दिन आएको बाढीले बगाएर लग्यो। बच्चाको अझैसम्म कुनै पत्तो लाग्न सकेको छैन।

रेणु आफै पनि शारीरिक रुपमा अपांग छिन्। बाढीले छोरोसँगै घर पनि बगाएर लगेपछि अहिले बस्ने बास पनि छैन। घर नै लगेपछि खाने लाउने भन्ने त झनै हुने कुरै भएन। सामान्य मजदुरी गर्ने रेणुका श्रीमान्ले बाढीपछि मजदुरीको काम पनि गर्न नपाउँदा भोकभोकै बस्नु परेको छ।

जिल्लाको निकै विकट ठाउँ भएकाले राहतका सामान पनि आफूहरूले ढिला गरी पाएको र त्यो पनि पर्याप्त नभएको उनको गुनासो छ। बाढीका कारण बस्न र खानको समस्या भएपछि ४ वर्षीय छोरा सुनिल राम सिकिस्त बिरामी परे। निकै दिनसम्म सामान्य उपचार गरे पनि निको नभएपछि बच्चालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याएको उनले बताइन्।

अहिले उपचारका लागि खर्च नहुँदा समस्या भएको छ। छोरोलाई ज्वरो आउने, पखाला लाग्ने, खानै मन नगर्ने गरेकाले धेरै गलेपछि स्थानीयले अस्पताल लैजान सुझाव दिएकाले आफूले उपचार गर्न ल्याएको बताउँछिन् रेणु। ‘हामीजस्ता गरिब निमुखालाई उपचारमा पनि समस्या नै रहेछ।’ –उनले गुनासो पोखिन्। ‘दबाइ, अस्पतालको खर्च, बस्न, खानको खर्च कसरी पुर्याउनू। बाढीले सबै डुबाएको छ, यस्तो बेला बुढाले पनि काम गर्न पाएका छैनन्। कहाँबाट ल्याउनू खर्च?’ –मलिन अनुहार बनाउँदै उनले भनिन्।

‘दैवले पनि छानीछानी गरिबलाई नै समस्यामा पार्दोरहेछ, हामीले कसको के नै बिगारेका थियौं र? आज यो दिन देख्नुपर्यो।’ –उनी फेरि भक्कानिन्। ४ वर्षीय बालक सुनिल नारायणी उपक्षेत्रीय अस्पतालको पेडियाट्रिक वार्ड, बेड नम्बर ३८ मा उपचारका लागि राखिएका छन्। निकै चुलबुले बालक सुनिल कहिले उठेर खेल्छन्, कहिले बेडमै पल्टन्छन्। उनलाई सुम्सुम्याउँदै एकोहोरो टोलाएर बस्छिन् रेणु।
बच्चा हेर्न आउनेहरूसँग उनले एउटै कुरा भन्छिन्– ‘यसलाई बचाउन सहयोग गरिदिनुस्।’