मोदीको पुरानै सुझाव,नेपाल–भारतबीच ८ बुँदे समझदारी,संविधान संशोधन प्रक्रिया फेरि शुरू हुने


टीका बन्धन, काठमाडौं ।
नेपाल–भारतबीच विभिन्न विषयमा ८ बुँदे समझदारी भएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको करिब २५ अर्ब रुपियाँ अनुदान सहयोग परिचालनका लागि विभिन्न ४ विषयको समझदारीमा हस्ताक्षर भएको छ। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा विभिन्न विषयमा द्विपक्षीय हस्ताक्षर भएको हो।

पुनर्निर्माणमा भारतले शिक्षा, स्वास्थ्य, सम्पदा तथा आवास निर्माणमा सघाउने भएको छ। भूकम्पपीडितका ५० हजार घर निर्माणका लागि १० अर्ब रुपियाँ खर्च गर्ने र शिक्षा, स्वास्थ्य, सम्पदा तथा संस्कृतिका लागि ५÷५ अर्ब रुपियाँको बजेट खर्च गर्न भारत सहमत भएको हो। धनगढीमा टेक्निकल इन्स्टिच्युट तथा जीपी कोइराला नेसनल सेन्टर फर रेस्पिरेटरी डिजिजको स्थापनाका लागि सैद्धान्तिक सहमति भएको बताइएको छ।

त्यसैगरी वर्षौं अघिदेखि निर्माण अघि बढेर निर्माण सम्पन्न हुन नसकेको मेची पुलको स्तरोन्नति, लागूऔषध ओसारपसार नियन्त्रण, गुणस्तर तथा नापतौलसम्बन्धी समझदारी भएको छ। नेपालले गुणस्तर चिह्न प्रदान गरेका वस्तुलाई भारतले मान्यता दिने र भारतले गुणस्तर चिह्न वस्तुलाई नेपालले मान्यता दिन गुणस्तर तथा नापतौलको समझदारी भएको बताइएको छ।

यससँगै दुवै मुलुकका चार्टर एकाउन्टेन्टबीच द्विपक्षीय सहयोग आदान–प्रदान गर्नेबारेमा समेत समझदारी भएको छ।
यस्ता समझदारीका अतिरिक्त नेपालका लागि महत्वपूर्ण मानिएको कटैया–कुशाहा १ सय ३२ केभीए प्रसारण लाइनकोे दुवै प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ। दुवै मुलुकको पहलमा निर्माण सम्पन्न यो प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् नेपाल आयात हुनेछ।

यसअघि प्रधानमन्त्री देउवा र मोदीसहित दुवै मुलुकका उच्च अधिकारी संलग्न टोलीबीच करिब साढे १ घण्टा औपचारिक छलफल भएको थियो। छलफल यसअघि दुवैतर्फबाट भएका सहमति÷सम्झौता कार्यान्वयनमा केन्द्रित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका बारेमा द्विपक्षीय छलफल भएको र पञ्चेश्वरको डीपीआर यही वर्षभित्र टुङ्गो लगाउन दुवैतर्फबाट प्रतिबद्धता आएको बताइएको छ।

दुवै प्रधानमन्त्रीबीच छुट्टाछुट्टै ‘वान टु वान’ वार्तासमेत भएको थियो। बुधबार साँझसमेत उहाँहरूबीच केहीबेर आकस्मिकरूपमा सोही किसिमको वार्ता भएको थियो। यसैबीच बिहीबारको द्विपक्षीय भेटवार्तापछिको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सबै पक्षलाई स्वीकार्य हुनेगरी संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

देउवाको यस्तो धारणापछि ‘वान टु वान’ वार्ताका क्रममा दुवै समकक्षीबीच यो विषय प्रस्टरूपमा छलफल भएको अनुमान गर्न सकिने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। सो अवसरमा देउवाले संविधान संशोधन गर्ने प्रयास भएको तर बहुमत नपुगेको बताउँदै संविधान संशोधन नभए पनि राष्ट्रिय जनता पार्टी आसन्न निर्वाचनमा सहभागी हुने बताउनुभयो।

पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले यसअघिका प्रधानमन्त्रीसँगको भेटवार्तामा जस्तै असन्तुष्ट पक्ष सबैलाई मिलाएर संविधान संशोधन गर्न सुझाव दिनुभएको थियो।

स्थानीय निकायको निर्वाचन सम्पन्न गराएकामा बधाई दिँदै मोदीले संविधान संशोधनको प्रसंग जोड्नुभएको थियो। मोदीले प्रस्टरूपमा नेपालको संविधानको स्वागत नगरे पनि देउवाको कुशल र अनुभवी नेतृत्वमा संविधान संशोधन कार्य सम्भव हुन सक्ने विचार व्यक्त गर्नुभयो।

भारतमा प्रधानमन्त्री देउवालाई स्वागत गर्ने अवसर मिल्नु आफ्नो सौभाग्य रहेको बताउँदै नेपाली लवजमा मोदीले भन्नुभयो– ‘प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य नेपाली अतिथि गणलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ।’ ‘यो भ्रमण एक यस्तो ऐतिहासिक समयमा भइरहेको छ, हामी हाम्रो कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठ मनाइरहेका छौं।’ –उहाँले भन्नुभयो।

नेपाल सरकारका प्राथमिकतालाई ध्यानमा राख्दै नेपालको विकासमा आफ्नो साझेदारी बढाउनका लागि भारत पूर्णरूपमा प्रतिबद्ध रहेको मोदीले बताउनुभयो।

ऊर्जा, जलविद्युत् परियोजना, कनेक्टिभिटी परियोजनाहरूमा आगामी दिनहरूमा पनि सहकार्य हुने बताउँदै उहाँले भन्नुभयो– ‘द्विपक्षीय सम्बन्ध र अवसरलाई विशेष ढंगले ध्यान दियौं।’ पञ्चेश्वर परियोजनाको डीपीआरलाई अन्तिम रूप दिने प्रक्रियालाई तीव्रता दिने, सीमा बाँध नियन्त्रणका लागि समन्वय र परामर्शलाई अझ बलियो बनाउन जोड दिने उहाँको भनाइ थियो।

दुवै मुलुकको खुला सीमाको दुरुपयोग रोक्न, दुवै मुलुकका बासिन्दाको सुरक्षा सुनिश्चितताका लागि लागि दुवैतर्फका सुरक्षा एजेन्सीबीच दैनिक समन्वय अपरिहार्य रहेको बताउँदै मोदीले बौद्ध र रामायण पर्यटन सर्किट विकास गरेर जनजनको सम्बन्धलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीको छिमेक पहिलो नीतिको प्रशंसा गर्नुभयो। उहाँले विगतामा भएका सहमतिका कार्यान्वयन र परिणममुखी हुनुपर्नेमा जोड दिनुभयो। यसअघि प्रधानमन्त्री देउवालाई दिल्लीस्थित राष्ट्रपति भवनमा बिहान ‘गार्ड अफ अनर’बाट सम्मान गरिएको थियो।

बिहीबार बिहान देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराज, भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेङका नाइडु, अर्थमन्त्री अरुण जेट्ली, गृहमन्त्री राजनाथ सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो। उहाँहरूसँगको भेटवार्ता द्विपक्षीय सम्बन्ध र आपसी हित विस्तारमा केन्द्रित भएको बताइएको छ।

देउवाले कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग पनि भेटवार्ता गर्नुभएको छ। बिहीबार साँझ इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री देउवाले नेपालले छिमेकसँगको सम्बन्ध फराकिलो बनाउन चाहेको बताउनुभयो। सोही कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया तथा पशुपतिनाथ र विश्नाथले नेपालभारतका जनतालाई निकट बनाउने काम गरेको जिकिर गर्नुभयो।

उहाँले क्षेत्रीय सहकार्यका लागि सार्क र बिम्स्टेकजस्ता संगठनलाई नेपालले उच्च प्राथमिकता दिएको धारणा व्यक्त गर्नुभयो। राजनीतिक भेटवार्तापछि प्रधानमन्त्री देउवासहितको नेपाली टोली भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्नुभएको रात्रि भोजमा सहभागी हुनुभएको थियो।