सुचना नहुँदा ताप्लेजुङमा मोहियानी दाबी गर्नेको संख्या न्यून

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।

मोहियानी जग्गा हकदाबीको सुचना ग्रामिण क्षेत्र सम्म नपुग्दा ताप्लेजुङमा थोरै मात्र निवेदन परेको छ । निर्धारित समयमा ३६ जनाले मात्र निवेदन दिएको मालपोत कार्यालयले जनाएको छ ।

मालपोतको स्रेस्तामा १ सय ५२ मोहियानी देखिएका छन् । भूमिसुधार मन्त्रालयले जेठ १९ देखि भदौ ५ गते सम्म मोहियानी दाबी गर्ने व्यक्ति र जग्गा साहु दुवैले निवेदन दिनेगरी सूचना प्रकाशित गरेको थियो ।

केन्द्रबाट पत्राचार भएपछि गाउँ र नगरपालिकामा सूचना टाँस गरिएको मालपोत प्रमुख कृष्ण प्रसाद गौतमले बताए । भदौ ४ गतेसम्म चारवटा मात्रै निवेदन परेकामा अन्तिम दिन ५ गते २८ वटा दर्ता भएको नायब सुब्बा युवराज पौडेलले बताए ।

पौडेलका अनुसार अन्तिम दिन दर्ता गर्नेको ढिलोसम्म लाइन भएकाले निवेदन लिन साँझ ६ बजेसम्म लागेको थियो । निवेदन मोहियानी दाबी गर्नेले मात्रै दिएको तर जग्गा धनीको नभएको पौडेलले बताए ।

ऐनमा ब्यवस्था भएअनुसार मालपोतले १५ दिनभित्रमा जग्गाधनीलाई कार्यालयमा उपस्थित गराउनुपर्छ र मोहियानी हो होइन यकिन गर्नुपर्छ । ऐन अनुसार नै गर्ने तर भौगोलिक विकटता भएकाले बाटोको म्याद राखेर गर्ने प्रमुख गौतमले बताए ।

जग्गा दिने व्यक्ति सहमतिमा आए दुई पक्षको समझदारीमा तुरुन्तै बाँडफाँड हुन्छ । सहमति नभए दुवै पक्षलाई राखेर एक वर्ष भित्र जग्गा लेनदेन हुनेगरी प्रक्रिया सुरु गरिन्छ । मन्त्रालयले यसै आर्थिक वर्षमा टुंग्याउने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । पाँचथर मालपोतमा भने ११ जनाले मात्रै निवेदन दिएका छन् ।