नगरपालिकाले निजीलाई ‘फोहोर’ मा मिसाएन


कुमार श्रेष्ठ, बाँके । नेपालगञ्ज उपमहानगरपालिका र निजी क्षेत्रले छुट्टाछुट्टै ठाउँमा फोहोर फाल्न थालेका छन् । डम्पिङसाइटको अभावले गर्दा नगरपालिकाले आफ्नो ‘सूर’ गरेर अघि बढेपछि निजी क्षेत्र अप्ठेरोमा परेको छ ।  नगरपालिको यतिबेला फूलबारी मस्जिद नजिक फोहोर फाल्ने गरेको छ ।

करिव ६ कठ्ठाको खाल्टोमा नगरपालिकाले फोहोर फालेको छ । फोहोरले पुरिएपछि माथिबाट माटोले पटान गरिदिने स्थानीयसँग सहमति भएको छ । आफ्नो जग्गा नहुँदा नगरपालिकालाई बजारमा दैनिक उठ्ने फोहोर व्यवस्थापन गर्न अप्ठेरो पर्दै आएको छ । केही महिनादेखि नगरपालिकाका कर्मचारी फोहोर फाल्ने ठाउँ नहुँदा हैरानीमा थिए । ‘ठाउँ नहुँदा दुई दिन त पाँच वटा ट्याक्टर नगरपालिकामै राखियो, सरसफाई शाखाका प्रमुख अशोक केसीले भन्नुभयो, अहिले राहत मिलेको छ ।’ वर्षौदेखि सँगै फोहोर फाल्दै आएका निजी क्षेत्रलाई नगरपालिकाले छुट्याएपछि उनीहरु समस्यामा परेका छन् । नगरपालिकाले बजार क्षेत्रमा अर्थात सडक छेउमा फालेको फोहोर उठाउने गर्दछ । निजी क्षेत्रले होटल, अस्पताललगायत घरघरबाट निस्किने फोहोर उठाउने गर्दछ ।

निजी क्षेत्रले उठाउने फोहोर पोकोमा राखिने भएकाले बढी गन्ध आउने गर्दछ । गन्धकै कारणले स्थानीयले फोहोर फाल्न नदिएपछि नगरपालिकाले निजी क्षेत्रलाई छुट्याएको हो । फूलबारी मस्जिद छेउमा पनि निजी क्षेत्रको फोहोर नफाल्ने शर्तमा नगरपालिकाले फोहोर फालेको स्रोतले बताएको छ । नगरपालिकाका सरसफाई शाखा प्रमुख केसीले हामीले भेदभाव नगरेपनि जग्गा धनी र आसपासका व्यक्तिले निजी क्षेत्रले उठाउने फोहोरले गन्ध बढाउने कसरी जानकारी पाएर कसीकसाउ गर्छन् थाहा नभएको बताउनुभयो । नगरपालिकाले दैनिक पाँच वटा ट्याक्टरमा फोहोर उठाउँछ । तीन वटा निजी क्षेत्रका चार वटा ट्याक्टरले फोहोर उठाउने गर्दछ । साउन ३१ गतेदेखि सरकारी र निजी क्षेत्रले छुट्टाछुट्टै ठाउँमा फोहोर फालिरहेका छन् । निजी क्षेत्रले ढोडे गाउँमा फोहोर फालेको छ । ‘हाम्रो लिखित सम्झौतामा नगरपालिकाले फोहोर फाल्ने ठाउँ खोजिदिने उल्लेख छ, एक निजी क्षेत्रका सञ्चालकले भने, अहिले आएर नगरपालिकाले भेदभाव गरेको छ । हामीलाई फोहोर फाल्न साह्रै अप्ठेरो परेको छ ।’ नेपालगञ्जमा नगरपालिकाले दैनिक १७÷१८ टन फोहोर उठाउदा निजी क्षेत्रले त्यसको आधामा योगदान गरिरहेको छ । फोहोर गल्ने÷नलग्ने र हानिकारक हुन्छन् । निजी क्षेत्रले हानिकारिक फोहोर पनि उठाउने गर्दछन् । स्थानीय व्यक्तिलाई कोही न कोहीले यी सबै कुरा बताएर भड्काउने गरेको स्रोतको भनाई छ ।

नेपालगञ्ज नगरपालिकाले हिरमिनियामा बन्दै गरेको डम्पिङसाइट निर्माणमा कडाई गरेको छैन । बनिरहेको ठाउँमा कडाई नहुँदा द्रतगतिमा काम भएको छैन । आफ्नो डम्पिङसाइट नहुँदा निजी जग्गा खोज्दै हिड्नु परेको छ । जग्गा धनीले फोहोर फाल्न दिएपनि गन्हाउने कारणले स्थानीयले प्रतिकार गर्दै आएका छन् ।

नगरपालिकाले देखाएको ठाउँमा फोहोर फाल्ने सहमति गरेर अघि बढेका निजी क्षेत्र भने फोहोर कहाँ फाल्ने भन्ने चिन्तामा डुबेका छन् । ‘फोहोर व्यवस्थापनमा हामी निजी क्षेत्रसँग सँगसँगै छौं, सरसफाई शाखाका प्रमुख केसीले भन्नुभयो, अहिले स्थानीयले बढी गन्हाउने नाममा छुट्याएका छन् । हामी मिलेर अघि बढ्छौं ।’ निजी क्षेत्रले भने नगरपालिकाले जग्गाको व्यवस्था नगरे फोहोर व्यवस्थापनमा अप्ठेरो पर्ने जनाएका छन् । ‘अहिले ढोडेगाउँमा फालिरहेका छौं, त्यहाँ पनि अन्यत्र जानु प¥यो भने त हामीलाई अति नै अप्ठेरो हुन्छ, निजी क्षेत्रका एक सञ्चालकले भने ।