नेसनल ट्रेडिङलाई काममा लगाउने कि ?

0
Shares

 

हेमन्त जोशी, काठमाडौं

रन्तर घाटामा गएपछि कर्मचारीलाई स्वेच्छिक अवकास मार्फत घर पठाएको नेसनल ट्रेडिङ आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा आपूर्ति मन्त्रालयले आन्तरिक छलफल थालेको छ।

कामबिहीन अवस्थामा रहेको ट्रेडिङलाई भविष्यमा कस्तो संस्थाका रूपमा लैजाने र क्षेत्राधिकार के कति हुने भन्ने विषयमा विज्ञहरू मार्फत राय सुझाव संकलन गर्न लागेको मन्त्रालयका सहसचिव एवं नेसनल ट्रेडिङ कर्पोरेसनका सन्चालक समिति अध्यक्ष मुकुन्द पौड्यालले बताउनुभयो। कर्मचारीलाई स्वेच्छिक अवकास मार्फत घर फर्काइसकेको नेसनल टेड्रिङ खारेज हुने वा नयाँ स्वरूप र संरचना अन्तर्गत अगाडि बढ्ने भन्ने बारेमा अझै टुंगो लागेको छैन।

दैनिक उपभोग्य सामानहरूको बिक्री वितरण मार्फत निजी क्षेत्रको एकतन्त्र बजार प्रणालीलाई नियन्त्रण गर्ने उद्देश्यले स्थापित ट्रेडिङले विगत ९ वर्षदेखि कुनै पनि सामान खरिद गरेको छैन। आर्थिक वर्ष २०७३⁄७४ को वार्षिक नीति तथा कार्यक्रममा ट्रेडिङलाई आपूर्ति कम्पनीका रूपमा अगाडि बढाउने भन्ने विषय समावेश गरिएको थियो।

ट्रेडिङलाई चीनबाट ईन्धन आयातका लागि अनुमति दिने र सडक निर्माणमा प्रयोग हुने अलकत्रा उत्पादन गर्न लगाउने गरी दुईवटा कार्यक्ष्ँेत्रको विकल्प अगाडि सारिएको छ। चीनबाट ईन्धन आयातको विषय समय समयमा उठ्ने गरेपनि हालसम्म पूर्णता पाउन सकेको छैन। सहसचिव पौड्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले नेपाल आयल निगमको समानान्तर संस्थाका रूपमा नभई परिपूरक संस्थाका रूपमा ट्रेडिङलाई पुर्नस्थापना गर्ने भन्ने विषय आन्तरिक रूपमा उठान गरेका छौँ। अर्को भनेको गुणस्तरीय अलकत्रा उत्पादनको जिम्मा दिने भन्ने विषय पनि छ। तर अहिले नै के कामको जिम्मा दिने भन्ने निर्णय भएको छैन।’

सहसचिव पौड्यालका अनुसार मन्त्रालयले त्रिभुवन विश्व विद्यालयका अर्थशास्त्र विभाग प्रमुख प्रँेफेसर डा. राम प्रसाद ज्ञवाली, व्यवस्थापन विभाग प्रमुख प्रोफेसर डा. पुष्कर बज्राचार्य, पूर्व उद्योग सचिव कृष्ण ज्ञवाली र संस्थान निर्देशन बोर्डका पूर्व अध्यक्ष विमल वाग्लेलाई बोलाएर छलफल गर्न मन्त्रालयले तयारी थालेको हो।
यसअघि मन्त्रालयले निगमसँग गाभ्ने र वैकल्पिक उर्जा वा वायोग्याँस उत्पादनका क्षेत्रमा काम गर्ने संस्थानका रूपमा काम गर्ने गरी पुनःस्थापना गर्ने विकल्प अघि सारेको थियो। ट्रेडिङको आयल निगममा साढे सात हजार कित्ता सेयर रहेका कारण विलयको सम्भावना रहेपनि वैकल्पिक उर्जा र वायोग्याँसको कार्य भार सुम्पने विषयमा मन्त्रालयले कुनै छलफल अगाडि नबढाएको जनाएको छ।

मेसिनरी सामान, औद्योगिक कच्चा पदार्थ, दैनीक उपभोग्य वस्तुहरूमा निजीक्षेत्रको एकाधिकार तोड्ने र बजारमा नियन्त्रणकारी भूमिका खेल्ने सरकारी निकायका रूपमा रहेको नेसनल ट्रेडिङको भुमिका रहँदै आएको थियो। नेपाल सरकारले आगामी दिनमा संस्थालाई आपुर्ती कम्पनीका रूपमा विकास गर्ने, अन्य कम्पनीहरूसंग गाभ्ने वा आवश्यकता हेरी नयाँ कर्मचारी भर्ना गरेर पुनः संचालनमा ल्याउने विषयमा भने अझै अन्योल छ।

अत्यन्त आवश्यक सामानहरू दाल, चिनी, तेल, चामल नुन ग्याँस लगायत वस्तु मौज्दात राखी आवश्यक परेका बेला वितरण गर्ने हुनाले बजारमा नियन्त्रणकारी भूमिका ट्रेडिङको रहदै आएको थियो। निजीक्षेत्रलाई गुणस्तर कायम गर्नका लागि दवाब सिर्जना हुने, वस्तुको कृतिम अभाव हुन नदिने र मुल्यवृद्धि नियन्त्रण गर्ने लगायतका काम ट्रेडिङको कार्यक्षेत्र पर्दछन्। त्यसैगरी उद्योगधन्दालाई चाहिने कच्चा पदार्थ र मेसिनरी सामाग्री को सार्वजनिक खरिद ऐन अन्तर्गत रहेर आयात पनि गर्दै आएको थियो। तर विगत ३ वर्षदेखी ट्रेडिङले व्यापारिक प्रयोजनका लागि कुनै सामान किनेको छैन। नेसनल ट्रेडिङले सरकारी निकायका रूपमा २०१८ साल देखि विभिन्न वस्तुहरूको व्यापार गर्दै आएको छ भने हाल ट्रेडिङसँग २५ अर्व रुपियाँ बराबरको चल अचल सम्पत्ति रहेको छ।