कपाल काट्ने घटनाले महोत्तरी पनि त्रसित

0
Shares

 

नेपाल समाचारपत्र
महोत्तरी
महोत्तरीको सिरसियामा एक महिलाको टाउकोको बीचको कपाल काटिएको छ। मटिहानी नगरपालिका वडा नं. २ सिरसिया टोल निवासी ५२ वर्षीया सुनितादेवी रायको टाउकोको बीचको कपाल काटिएको हो।

यस घटनालाई लिएर सिरसिया गाउँलगायत वरिपरिका गाउँहरूसमेत त्रसित भएका छन्। स्थानीयबासीहरू डरले त्रसित भएपछि आफ्नो घरको गेटमा निम्बु, लसुन, खुर्सानी, निमको पता, सुईसमेत बाँधेका छन्।

पीडित रायले शुक्रबार राति १ बजेर ४५ मिनेटको समयमा घरमै सुतिरहेको बेला टाउकोको बीचको कपाल काटिएको बताइन्। उनले आत्माको रूपमा, रूप परिवर्तन गरेर कपाल काट्ने दाबीसमेत गरिन्। सो घटनालाई लिएर अस्पतालमा चेकजाँचसमेत गराएको र चिकित्सकले औषधि दिएको भनिन्। यति बेला भने पीडितको टाउको दुख्ने, रिंगाटा लाग्ने, डराउने, निद्रा नलाग्ने जस्ता आफूमाथि भइरहेको जानकारी गराइन्।

यता उनका श्रीमान् भरत रायले घटनाका दिन आफू सुतेको बेलामा एक्कासि श्रीमतीको डराएको आवाज सुनी ब्युँझेपछि कपाल काटेको दृश्य हेर्दा चकितसमेत परे। सो घटनापश्चात विगत तीन चार दिनदेखि आफूहरू डरले सुत्न समेत नसकेको बताए।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने कपाल काटिनेमा संलग्नहरूको कुनै पतो नलागेको बताउँदै अनुसन्धान कार्य जारी रहेको बताए।

Skip This