के हुँदै छ बाहिरी चक्रपथ ?


 

सुरेश तामाङ, काठमाडौं
उपत्यकाभित्र झन्डै ४० वर्षअघि चक्रपथको निर्माण भएको थियो र हाल सञ्चालनमा पनि रहेको छ। चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनाबस्ती र पैदलयात्रुको चापले साँघुरिँदै गएपछि बाहिरी चक्रपथको अवधारणा आएको हो।

अहिलेको चक्रपथबाट बाहिर जाने उपत्यकाभित्रका सडकहरूलाई जोड्ने मुख्य बाटो नहुँदा र सडकको दायाँबायाँ अव्यवस्थित र अनियन्त्रित वस्ती विकासले थप समस्याबाट समाधानस्वरूप बाहिरी चक्रपथ निर्माण गर्ने योजना बनेको हो।
यसका लागि आर्थिक वर्ष ०५६⁄५७ (सन् २०००) मा नेपिकोन नामक संस्थाले पूर्वसम्भाव्यता अध्ययन गर्यो। आर्थिक वर्ष ०६१⁄६२ देखि हरेक बजेटमा यो आयोजना पर्दै आएको छ।

हालसम्म ७ करोड खर्च गरिएको आयोजनाका अधिकृत धु्रव सापकोटाले बताउनुभयो। उहाँका अनुसार सरकारले आवश्यक रकम जतिबेला पनि निकास गर्न सक्ने आश्वासन दिएको पनि उहाँको भनाइ छ।

बाहिरी चक्रपथ विकास आयोजनालाई आगामी वर्षका लागि १० करोड रुपियाँ विनियोजन गरिएको छ। आयोजना कार्यालयका अनुसार २५ करोड रुपियाँ माग गरिएको थियो। अधिग्रहण प्रक्रियामा पनि बजेट आवश्यक पर्ने भएकाले थप रकम आवश्यक पर्ने अधिकारीहरूको भनाइ छ।

चक्रपथ बनेपछि फाइदै फाइदा हुनेछ। उपत्यकाको दक्षिण र पूर्वी भू–भागमा आवागमनको सुविधा बढ्ने, उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाका लागि पहुँच हुने, सिन्धुली बनेपा राजमार्गलगायत उपत्यकासँग तराई जोड्ने फास्टट्रइकमा जोडेर यातयातमा सहज पार्नेतिर बाहिरी चक्रपथले मुख्य भूमिका खेल्ने आयोजनाको दाबी छ।

बाहिरी चक्रपथ विकास आयोजनाले बाहिरी चक्रपथ निर्माण क्षेत्रमा पर्ने जग्गाप्राप्ति (अधिग्रहण)को प्रक्रिया शुरू गरेको छ।

पहिलो चरणअन्तर्गत चोभार–सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटर लम्बाइ क्षेत्रमा अधिग्रहणमार्फत जग्गाप्राप्ति प्रक्रिया शुरू गर्न लागिएको आयोजनाका अधिकृत धु्रव सापकोटाले जानकारी दिनुभयो।

यसका लागि आयोजनाले मन्त्रिपरिषद्बाट निर्णय गराउन शहरी विकास मन्त्रालयमा फाइल पठाइसकेको छ। मन्त्रिपरिषद्बाट निर्णय भएर आएपछि राजपत्रमा सूचना प्रकाशित हुने र आयोजनालाई जग्गाप्राप्तिका लागि बाटो खुला हुनेछ।

तर फाइल २ महिनादेखि नै मन्त्रालयमा अड्किएर बसेको छ। मन्त्रीको केही असन्तुष्टिका कारण फाइल अगाडि बढाउन नसकेको मन्त्रालयकै स्रोत बताउँछ। अहिले कानुनी रायका लागि कानुन शाखामा फाइल पठाएको र हप्तादिनभित्र सकेर निर्णय गराउने मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले बताउनुभयो।
आयोजनाले सार्वजनिक गर्ने सूचनापछि उक्त क्षेत्रको ७ हजार ८ सय रोपनी जग्गा खरिद–बिक्री र पूर्वाधार निर्माणमा रोक लाग्नेछ। जग्गाको कित्ताकाट गर्न पाइनेछैन। आयोजना कार्यालयले संकलन गरेको तथ्यांकअनुसार उक्त क्षेत्रमा अहिले कुल १४ हजार ७ सय कित्ता जग्गा रहेको छ।

शहरी विकास मन्त्रालयले १३ वैशाखमा बाहिरी चक्रपथको सतुंगल–चोभार खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको थियो।

जग्गाप्राप्तिका लागि अधिग्रहण प्रक्रियालाई सहज बनाउन आयोजना व्यवस्थापन पक्षले चोभारदेखि सतुंगलसम्मको बाहिरी चक्रपथ खण्डलाई ६ वटा ब्लकमा विभाजन गरेको छ। तिनीहरूमा चोभार, भत्केको पाटी, मच्छेगाउँ, सतुंगल, गुर्जुधारा र धवलागिरि आवास रहेका छन्।

प्रत्येक ब्लकलाई १ किलोमिटरको औसतमा विभाजन गरिएको छ। अधिग्रहणपछि जग्गा एकीकरण प्रक्रियाका माध्यमद्वारा बाहिरी चक्रपथको अधिकार क्षेत्र (राइट अफ वे)का लागि आवश्यक पर्ने जग्गाको व्यवस्था गरिनेछ। चक्रपथको दुवैतर्फको करिब २ सय ५० मिटर क्षेत्रमा योजनाबद्ध तथा व्यवस्थित शहरी विकास गरिने आयोजनाको विस्तृत आयोजना प्रतिवेदनमा उल्लेख छ।

नमुना आयोजनाका रूपमा कार्यान्वयन प्रक्रिया थालिएको यो खण्ड निर्माण गर्नका लागि ६ अर्ब ३० करोड रुपियाँ अनुमानित लागत अनुमान गरिएको छ। २०६५ सालमा यस खण्डको लागत २ अर्ब ९ करोड रुपियाँ अनुमान गरिएको थियो।

काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ बनाउन चिनियाँ कम्पनीले रुचि देखाएको छ। चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्ट्रक्सन ग्रुप कर्पोरेसनको संयुक्त लगानीको कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्ने इच्छा देखाएको हो।

एसोसिएसनले सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणमा बाहिरी चक्रपथ निर्माण योजनाको आशयपत्र पेस गरिसकेको आयोजना प्रमुख दीपक श्रेष्ठले बताउनुभयो।

आशपत्रमा कम्पनीले ७० प्रतिशत अनुदान र ३० प्रतिशत ऋणमा बाहिरी चक्रपथ निर्माण गर्ने उल्लेख गरिएको छ।
यो आयोजना चीनले बनायो भने समयमा नै बन्ने, गुणस्तरीय हुने र सरकारी रकम पनि खर्च नहुने भएकाले उपयुक्त प्रस्ताव आएको आयोजनाको भनाइ छ।
बाहिरी चक्रपथ आठ लेनको हुनेछ। सडकका दुवै भागमा साइकल ट्रइक रहनेछ भने ग्रिनरी बेल्टसहित सडक किनारामा फुटपाथ पनि विकास गरिनेछ। सडक, फुटपाथ र साइकल ट्रइकका लागि ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ।
चक्रपथको दायाँबायाँ २५०⁄२५० मिटर जग्गा एकीकरण गरिनेछ। यसलाई व्यवस्थित बस्तीका रुपमा विकास गर्न सडक आसपासका ५ सय मिटर क्षेत्रफलमा विभिन्न पूर्वाधारहरू आयोजनाले बनाइदिनेछ।

सडक आसपासमा आयोजनाले सडक, विद्युत्, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना बनाएको छ। निर्माण अवधिभर जग्गा आयोजनाले रोक्का गरेर निर्माणपछि सम्बन्धित धनीलाई जग्गामा बस्ती विकासको पूूर्वाधारसहित हस्तान्तरण गरिनेछ।
बाहिरी चक्रपथ चोभार, सतुंगल, नैकाप पुरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोर्कर्णेश्वर हुँदै थलीडाँछी क्षेत्रमा पुग्नेछ।
रिङरोड दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णडोल, हरिसिद्धि, धापाखेल बुङ्मती भएर चोभारमै पुग्नेछ।

यो चक्रपथ बनेपछि काठमाडौंको ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा छ। अहिले तीन जिल्लाका विभिन्न क्षेत्रसम्म जान मुख्य शहरमा नै सवारी लिएर प्रवेश गर्नुपर्ने बाध्यता छ। बाहिरी चक्रपथको निर्माणपछि शहरी क्षेत्रमा छिरेरै चक्रपथ रुट आसपासका क्षेत्रमा जानुपर्ने बाध्यता हट्ने विश्वास छ।
उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाका लागि पहुँच पुग्ने विश्वास गरिएको छ। यस्तै विभिन्न राजमार्गहरूमा यसको सिधा ‘कनेक्सन’ हुने भएकाले चक्रपथ क्षेत्रमा चहलपहल बढ्नेछ।

अरनिको र पृथ्वी राजमार्गसहित तराई जोड्ने फास्टट्रइकमा पनि यो सडक जोडिने भएकाले यसले काठमाडौंमा गाडी लिएर छिर्नुपर्ने बाध्यतालाई हटाउनेछ।
अव्यवस्थित शहरीकरणलाई रोक्न पनि यो फलदायी हुने सरकारको विश्वास छ। यस्तै काठमाडौं आसपासको कृषि फसललाई बजारसम्म सजिलै ल्याउन पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

कुल लम्बाइ ७१ दशमलव ९३ किलोमिटर अनुमान गरिएको छ। जसमा काठमाडौं जिल्लामा ३५ दशमलव शून्य ८, भक्तपुरमा २१ दशमलव शून्य ५ र ललितपुर जिल्लामा १५ दशमलव ८० किलोमिटर लम्बाइ पर्छ।

बाहिरी चक्रपथको पहिलो खण्ड निर्माणका लागि करिब २ सयवटा घर भत्कने भएका छन्। आयोजनाका अधिकृत सापकोटाले दिनुभएको जानकारीअनुसार १५⁄२० लाखदेखि डेढ करोडसम्मका घर भत्कने भएका हुन्। यी घरका लागि सरकारले उचित क्षतिपूर्ति दिएर मुख्य बाटोमा परेको घर भत्काउने भएको छ।